छ करोड बढीको लगानी,दैनिक १५ हजार अण्डा उत्पादन

म्याग्दे :गाँउपालिका–६ धैरेनीमा नौ वर्षअघि देखि अमृत थापा र गुरुप्रसाद पौडेलद्वारा सञ्चालित लेयर्स पोल्टी फार्मबाट दैनिक १५ हजार अण्डा उत्पादन हुने गरेको छ । थापा र पौडेलले रु छ करोड बढीको लगानी त्रिदेव पोल्टी फार्म सञ्चालनमा ल्याउनुभएको हो ।

यस फार्मका १९ हजार लेयर्स कुखुराबाट उक्त परिमाणको अण्डा उत्पादन हुँदै आएको थापाले जानकारी दिनुभयो । फार्मबाट १९ हजार लेयर्स कुखुराले दैनिक १५ हजार उत्पादन आएको उहाँले बताउनुभयो । उहाँका अनुसार फार्ममा नौ जनाको परिवारलाई रोजगारी दिएका छन् ।

व्यवसाय सञ्चालन गर्दा मासिक रु ३५ लाख खर्च हुने थापाले बताउनुभयो । “कुखुराका लागि दैनिक कम्तीमा रु एक लाख २० हजार खर्च हुन्छ । आम्दानी जति सबै लगानीमा खर्चेर व्यवसाय वृद्धि गरेको छु”, थापाले भन्नुभयो । थापाले ५३ रोपनी क्षेत्रफलको जग्गामा छवटा कुखुरा फार्म राखेर व्यवसाय गर्दै आउनुभएको छ । “फार्ममा सबैभन्दा ठूलो समस्या भनेको ढुवानी भएको छ । चितवन र पोखराबाट कुखुराका लागि दाना खरिद गरिए पनि फार्मसम्म आउने बाटो राम्रो नहुँदा ढुवानीमा अधिक खर्च हुन्छ”, उहाँले भन्नुभयो ।

पोखरा, काठमाडौँ र चितवनसम्म यहाँको अण्डा निर्यात हुने गरेको छ । “स्थानीय बजारमा यहाँ उत्पादित अण्डा थेग्न सक्दैन । उत्पादन गर्न सके अण्डा निर्यात र बिक्रीमा कुनै समस्या छैन”, थापाले भन्नुभयो । लामो समयदेखि लेयर्स कुखुरा उत्पादनमा लागेको हुँदा अब चल्ला उत्पादन र अण्डा उत्पादनमा सम्पूर्ण ज्ञान पाइसकेकाले कुखुरालाई हुने समस्या समाधान आफैँले गर्दै आएको उहाँले बताउनुभयो ।

अविनाश हाइलाइन नेपाल चितवनबाट चल्ला ल्याउने तयारीमा रहेको उहाँले बताउनुभयो । “चल्ला हुर्काउन अत्यन्त जोखिम हुन्छ । निश्चित तापक्रम दिनुपर्दछ । यसका लागि धेरै खट्नुपर्दछ । अथक मिहेनत र परिश्रम भए तापनि यो व्यवसायमा सन्तुष्ट छु”, थापाले भन्नुभयो ।

फार्ममा भएको कूल कुखुरामध्ये ८० प्रतिशतले अण्डा दिँदै आएको छ । दिनमा १५ हजार अण्डा उत्पादन हुने हुँदा अण्डा खरिदका लागि जिल्ला बाहिरबाट व्यापारी आँउछन् । बिक्रीका लागि बजार छैन भनेर भौँतारिनुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो । व्यवसाय गरेपछि आम्दानी त स्वतः हुन्छ नै । त्योभन्दा बढी आफूलाई आत्मसन्तुष्टि मिलेको थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments