मह र तोरीको प्रवद्र्धन गर्न २५ गतेदेखि चितवन महोत्सव

काठमाडौँ:‘चितवन महोत्सव–२०७९’ यही पुस २५ गतेदेखि आगामी माघ ४ गतेसम्म चितवनको प्रदर्शनी मैदान नारायणी किनारमा आयोजना गरिने भएको छ ।

चितवन महोत्वस मूल आयोजक समिति उद्योग वाणिज्य सङ्घले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी चितवन महोत्सवको तयारीबारे जानकारी गराउँदै कार्यक्रममा सहभागी हुन उपत्यकावासीमा अनुरोध गरेको छ ।

विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सव यसपाली चौधौँ संस्करणका रुपमा आयोजना गर्न लागिएको हो । सङ्घका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक चुननारायण श्रेष्ठले यसपटक महोत्सवमा मह र तोरीलाई विशेष प्रवद्र्धन गर्न लागिएको जानकारी दिनुभयो ।

चितवन महोत्सवको हरेक कार्यक्रममा स्थानीय कुनै विशेष उत्पादनलाई केन्द्रित गरेर प्रवद्र्धन गर्दै आइएको छ । यसपाली महोत्सवस्थलमा मौरीको प्रतिमासहित तोरी परिसरसमेत रहने र त्यस विषयमा विविध जानकारी दिइने जनाइएको छ । यसअघिका महोत्सवमा दूध, केरा, माछा, कुखुरापालन लगायतलाई विशेष प्रवद्र्धन गरिएको थियो ।

विसं २०७८ मा आयोजना गरिएको चितवन महोत्सव भने कोभिड–१९ सङ्क्रमणका कारण प्रभावित भएको थियो । उक्त समयमा तीन दिन महोत्सव आयोजना गरेपछि स्थगित गर्नुपर्दा ठूलो नोक्सानी बेहोर्नुपरेको आयोजकले जनाएको छ ।

महोत्सवमा जिल्लाको सामाजिक, आर्थिक तथा सांस्कृतिक एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ । भौगोलिक दृष्टिकोणले केन्द्रविन्दुमा रहेको चितवन स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनको केन्द्रका रुपमा समेत परिचित छ । चितवनको कुखुरापालनले नेपालको मागको ६५ प्रतिशत आपूर्ति गर्ने गर्छ ।

यसपालीको महोत्वसमा जिल्लाको विविधतालाई समेटेर सुन्दर पार्कसमेत निर्माण गरिने आयोजकले जनाएको छ । महोत्सव संयोजक श्रेष्ठले महोत्सवले आर्थिक वृद्धि गर्नुभन्दा पनि कोभिड र त्यसपश्चात् विश्वपरिवेशमा व्याप्त आर्थिक मन्दीका कारण विक्षिप्त बनेको आर्थिक क्षेत्र, हतोत्साही भएका उद्यमी र आमनागरिकमा आर्थिक पुनरुत्थानका लागि नयाँ आशाको दियो बाल्ने विश्वास रहेको बताउनुभयो ।

विभिन्न उत्पादनको छुट्टाछुट्टै परिसरसहित महोत्सवमा चार सय ५० कक्ष रहने र पुस २८ देखि भने जिल्लाको क्याम्पाचौरमा खाना महोत्सवसमेत थपिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । महोत्सव अवधिभर जिल्लाको सामाजिक आर्थिक विकासका सन्दर्भमा विज्ञको सहभागितामा दैनिकरुपमा सेमिनार गोष्ठीसमेत आयोजना गरिने जनाइएको छ ।

दश दिनसम्म चल्ने महोत्सवमा विविध खेलकुद कार्यक्रम, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेषभूषा, कला, संस्कृति झल्कने मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिनेछ । महोत्सवको टिकट शुल्क विद्यार्थीलाई रु ३० र अन्यलाई रु ६० तोकिएको छ । कूल रु २५ करोड कारोबार हुने अनुमान गरिएको महोत्सवको आम्दानी नारायणी नदी संरक्षण तथा वातावरण संरक्षणमा लगानी गरिने जनाइएको छ ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले असहजपूर्ण आर्थिक अवस्थाका बाबजुद यस्ता मेला महोत्सव आयोजना हुनु महत्वपूर्ण रहेको र जिल्लाको उत्पादन प्रवद्र्धनमा यस्ता कार्यक्रमले ठूलो सहयोग गर्ने बताउनुभयो ।

महासङ्घका व्यापार मेला प्रवद्र्धन समितिका अध्यक्ष नरेन्द्रकुमार खड्काले नेपालको मेला महोत्सव नियमितरुपमा सञ्चालनमा आएको भए पनि कानुनीरुपमा स्पष्ट नहुँदा केही समस्या रहेको बताउनुभयो । उहाँले कानुन निर्माणका विषयमा महासङ्घले छलफल अघि बढाएको बताउनुभयो ।

चितवन महोत्सव आर्थिक समितिका संयोजक सहनलाल प्रधान र महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीले महोत्सव अवलोकन गरी चितवनको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको प्रवद्र्धनमा योगदान गर्न अनुरोध गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments