भैँसीपालनमा किसानको आकर्षण घट्दै ,दार्चुलामा लोप हुनथाले भैँसी

खलङ्गा: सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा पछिल्लो समय भैँसी लोप हुँदै गएका छन् । कुनैबेला दार्चुलाका गाउँघरमा व्यावसायिकरुपमा भैँसीपालन गर्ने किसानले पनि अहिले पाल्न छाडेका छन् ।

केही वर्षअघिसम्म प्रत्येक किसानका घरमा कम्तीमा पनि दुईदेखि तीन भैँसी हुन्थे तर अहिले आएर तिनै गाउँमा भैँसी पाइन छाडेको छ । भैँसी दूध, दही, मही र मल उत्पादनका लागि राम्रो मानिए पनि पछिल्लो समयमा किसानले भैँसी पाल्न छाड्दा खेतबारीमा प्रयोग गरिने मलको अभावमा अन्नबालीमा समेत कमी आउन थालेको छ । भैँसीपालनका लागि धेरै परिश्रम चाहिने भएकाले यसप्रति किसानको आकर्षण घट्दै गएको शैल्यशिखर नगरपालिका–५ का मदनसिंह रावलको भनाइ छ । दार्चुलाका अधिकांश किसानले भैँसी नै पाल्न छाड्नुको विशेष कारण खरी रोग पनि रहेको छ । विसं २०५३ देखि दार्चुलामा देखापरेको खरी रोगका कारण स्थानीय जातको भैँसी लोप हुने स्थितिमा पुगेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत रामबहादुर खड्का बताउनुहुन्छ ।

विशेषगरी दार्चुलामा कहीँकतै भैँसीपालन गरेको देखिए पनि भैँसी एकचोटी ब्याएपछि दोस्रो वर्ष किसानले प्रति भैँसीको रु २५ देखि ३० हजार मूल्य पाउनेहुँदा मासुका लागि धनगढी पठाउने गरेका छन् ।

बर्सेनि यहाँबाट एक हजार पाँच सयसम्म मासु प्रयोजनका लागि व्यापारीले धनगढी लग्ने गरेकाले पनि भैँसी लोप हुन लागेको शैल्यशिखरका पशुसेवा शाखा प्रमुख मुन्नी धामीले बताउनुभयो ।

खरी रोगको उपचार लामो समयसम्म गर्नुपर्ने भएकाले किसान दिक्क भएर भैँसी धनगढी पठाउने बाध्यता रहेको मालिकार्जुन–३ का अकबरसिंह धामीले बताउनुभयो । भैँसीपालनमा बढी मेहनत गर्नुपर्ने भएका कारण धेरैजसो किसान जर्सी गाईपालनमा आकर्षित भएका छन् । जर्सी गाईले दिनमा तीनपटक गरी कम्तीमा पनि दैनिक आठदेखि १० लिटर दूध दिने गर्दछ ।

भारतको बालुवा कोट, कालिका, छारछुम, डिडीहाटबाट किसानले जर्सी गाई ल्याएर व्यावसायिकरुपमा जर्सीपालन गर्ने गरेका छन् । महाकाली नगरपालिका–९ बेतका ललित भट्टले व्यावसायिकरुपमा भैँसीपालन गर्दा सफल नभएको र अहिले आएर व्यावसायिकरुपमा घरमा आठ वटा जर्सी गाईपालन गरी मासिक रु ८० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो ।

भैँसीपालनका लागि प्रशस्त चरन तथा आहारा अभाव र खरी रोगले पनि भैँसीपालन व्यवसाय सङ्कटमा परेको किसान गोपाल खत्री बताउनुहुन्छ । उहाँका अनुसार गाउँगाउँबाट व्यापारीले भैँसी तराईतिर बिक्री लैजान थालेपछि गाउँमा भैँसी पाइन छाडेको बताउनुभयो । गाउँमा पुगेर सानो पाडादेखि, थार भैँसी मासु प्रयोजनका लागि तराईतिर लैजान थालेपछि भैँसी व्यवसाय सङ्कटमा परेको महाकाली–९ का वडाध्यक्ष गजेन्द्र कार्कीले बताउनुभयो ।

भैँसीपालन व्यवसायबाटै गुजरा गरिरहेका पनि पछिल्लो समयमा अरु नै पेसा अपनाउन थालेका छन् । यहाँका किसानले कुनैबेला परिवारका लागि लुगाफाटो किन्नुपर्दा अथवा चाडपर्व मनाउने सवालमा पनि भैँसीको घिउ बेचेर घर खर्च चलाउने गर्दथे । पछिल्लो समय भैँसीपालन छाडेर किसान अन्य पेसातर्फ आबद्ध भएका देखिन्छन् ।

कुनैबेला भैँसीको घिउ रु तीन सयमा पाइन्थ्यो तर, पछिल्लो समयमा भैँसीपालनमा किसानको आकर्षण घटेपछि प्रतिकिलो रु नौ सयमा खरिद गर्नुपरेको देवथलीका स्थानीय मनिराज जोशीले बताउनुभयो ।

भैँसीपालन व्यवसायलाई प्रवद्र्धन गर्न स्थानीय सरकारबाट कुनै पहल नहुँदा व्यवसाय सङ्कटमा परेको स्थानीयको गुनासो छ । भैँसी नै लोप हुने अवस्थामा पुगेपछि दार्चुलाका स्थानीय तहले किसानका लागि आर्थिक सहयोग कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने किसानको माग छ । पशुसेवाका कार्यक्रम स्थानीय तहमा भए पनि प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको स्थानीयको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments