भेडापालन छोडेर जनसेवामा

ढोरपाटन:आजभोलि दिनहुँजसो तमानखोला गाउँपालिकाको कार्यालय परिसरमा शिरमा निलो छातेटोपी, जीउमा हापदुला (भेडाको ऊनबाट बनेको कपडा) भिरेको युवा देखिनुहुन्छ । उहाँ गाउँपालिकामा आउने नागरिकलाई कार्यालयको ढोकैमा स्वागत गर्दै समस्या बुझ्ने र काममा सहयोग गर्नुहुन्छ । उहाँको कामले गाउँपालिका आउने सेवाग्राही पनि खुसी देखिन्छन् । उहाँ हुनुहुन्छ तमानखोला गाउँ कार्यपालिका सदस्य ढालेन्द्र छन्त्याल ।

छन्त्याल एक वर्ष अगाडिसम्म दर्जनाँै भेडाबाख्रासँग लेक बेँसीमा भेटिनुहुन्थ्यो तर अहिले उहाँ गाउँपालिकाको कार्यालयमा भेटिनुहुन्छ । ३९ वर्षीय छन्त्याल गत स्थानीय निर्वाचन हुँदासम्म भेडी गोठाले हुनुहुन्थ्यो । स्थानीय निर्वाचनमा कार्यपालिका सदस्यमा निर्वाचित भएपछि उहाँ भेडापालन छोडेर राजनीतिमा होमिनुभएको छ । सानैदेखि राजनीतिमा चासो राख्ने छन्त्याल स्थानीय तह निर्वाचन २०७४ मा वडा सदस्यमा पराजित हुनुभएको थियो । वडा सदस्यमा हारेपछि छन्त्यालले निरन्तर भेडापालनमै होमिनुभयो ।

गत स्थानीय तहको निर्वाचनपछि जनताको सेवा गर्ने हुटहुटीले गर्दा व्यवसाय छोडेर राजनीतिमा होमिएको छन्त्याल बताउनुहुन्छ । उहाँले बाउबाजेले गरेको पेसालाई आफूले पनि निरन्तता दिँदै आएकोमा अहिले छाडेर राजनीतिमा लागेको बताउनुभयो । छन्त्यालले नेता कार्यकर्ताले यस पटक कार्यपालिका सदस्यमा आउन जोड गरेको र आफ््नो पनि रुचि भएको हुँदा भेडापाल्न छोडेर राजनीतिमा आएको बताउनुहुन्छ ।

उहाँले कार्यपालिका सदस्य भएपछि भेडा पाल्ने समय नहुँने हुँदा सबै बेचेर जनसेवामा लागेको बताउनुहुन्छ । छन्त्याल भन्नुहुन्छ, “मैले अघिल्लो वर्षसम्म थुप्रै भेडा पालेको थिए, भेडा लिएर धेरै टाढा–टाढासम्म पुग्ने गर्थे, अहिले कार्यपालिका सदस्य भएपछि पालिका आउँदा भेडा भोकै हुन्छन्, भेडा चराउन जाँदा पालिकाको काम छुट्ने हुँदा भेडा पाल्नै छोडेर यता लागेको छु ।”

छन्त्याल स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट सदस्यमा निर्वाचित हुनु भएको हो । उहाँ हाल तमानखोला गाउँपालिकाको आर्थिक विकास समितिको संयोजकसमेत हुनुहुन्छ । तमानखोला गाउँपालिका–२ का छन्त्याल १६ वर्षकै उमेरमा विदेशिनुभएको थियो । कतार र दुबईमा आधा दशक बढी बिताएको छन्त्याल बताउनुहुन्छ । विदेशबाट आएर भेडापालनमा लाग्नुभएका छन्त्यालले अहिले जनताको सेवा गर्न पाउँदा खुसी लागेको बताउनुहुन्छ ।

“म सामान्य परिवारको मान्छे हुँ, गाउँमा गरिबी, अशिक्षा, बेरोजगारी छ, हाम्रो समाज विकासले पछाडि परेको अवस्था छ, यसलाई बदल्न म राजनीति गर्न थालेको हुँ, मलाई कुनै व्यक्तिगत स्वार्थ छैन, सुरुको चुनावमा के कमीकमजोरी भएछ, चुनाव जित्न सकिएन”, उहाँले भन्नुभयो, “अहिले मलाई जनताले पत्याउनुभयो, सेवा गर्ने अवसर मिल्यो, इमान्दारिताका साथ काम गर्छु ।”

उहाँले भेडापालनबाट वार्षिक रु पाँच लाखसम्म कमाउँदा नमिलेको खुसी अहिले आम्दानी नहुँदा पनि खुसी मिलेको बताउनुभयो । छन्त्यालका घरमा बुबाआमा, दुई छोराछोरी र श्रीमती हुनुहुन्छ । श्रीमतीले स्थानीय विद्यालयमा शिक्षण गर्ने हुँदा परिवार चलाउन त्यति समस्या नभएको छन्त्याल बताउनुहुन्छ ।

छन्त्याल भन्नुहुन्छ, “पहिले वार्षिक लाखौँ आम्दानी हुँदा पनि ठिकै थियो, अहिले आम्दानी छैन र पनि दैनिकी चलेको छ, मैले जनताको सेवा गरेको छु, समाज परिवर्तन गर्नुछ, आर्थिक अभाव त भइनै हाल्छ तर पनि व्यवस्थापन गर्ने हो ।”

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले छन्त्याल पालिकाको काममा सक्रिय भएर लाग्ने गरेको बताउनुभयो । छन्त्यालले पालिकाका योजना र कार्यक्रममा पहिलेदेखिनै चासो राख्ने र सहभागी हुँदै आएको भन्दै अहिले निर्णय गर्ने स्थानमा आइपुगेको अध्यक्ष बुढामगर बताउनुहुन्छ ।

“बेलाबेला पालिकामा आएर यहाँका योजना तथा कार्यक्रमका बारेमा चासो दिने र सोधखोज गर्ने गर्नुहुन्थ्यो”, अध्यक्ष बुढामगरले भन्नुभयो, “उहाँको राजनीतिप्रतिको लगाव र चिन्तन बढी छ, पालिकामा भएको आफ्नो जिम्मेवारी अहिलेसम्म कुशलतापूर्वक गर्दै आउनुभएको छ, हामीहरु सिक्ने सिकाउने क्रममै छौँ ।”

गाउँपालिकामा सेवा लिन आउनुभएका नरज रमाइलीले छन्त्याल जनताको सहयोगी बनेको बताउनुभयो । छन्त्यालले पालिकामा आउने सबै सेवाग्राहीलाई समान व्यवहार गर्ने गरेको रसाइलीको भनाइ छ । उहाँले भन्नुभयो, “सेवाग्राही सबै जाने बुझेका हुँदैनन्, उहाँले कुन शाखाको के काम हो, पालिकामा हुने हो की होइन, त्यो सबै बताइदिने र आफूले गर्ने काम भए छिटोछरितो गरी दिनुहुन्छ, उहाँको त्यो व्यवहार देख्दा अरु कर्मचारी र जनप्रतिनिधि यस्तै भए जनताले दुःख पाउँदैनथे होलाजस्तो लाग्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments