सुन्तला बिक्रीबाट मनग्य आम्दानी

 गलेश्वर:म्याग्दीको बेनी नगरपालिका–३ मा पर्ने राखु र वडा नं ४ को बास्कुना गाउँका कृषकहरुले यस वर्ष सुन्तला बिक्री गरेर यस वर्ष गाउँमा रु साढे दुई करोड भित्र्याएका छन् । यहाँका गाउँलेहरुले पाखोबारी र धान फल्ने खेतमा सुन्तला खेती गरेपछि अहिले सोही गाउँका किसानहरुले आफ्नै गाउँमा बसेर वार्षिक करोडौँ रुपैयाँ कमाउन सफल भएका हुन् ।

राखुकी सन्तकुमारी पुनले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु २२ लाख आम्दानी गरेको बताउनुभयो । “मैले पनि यो वर्ष सुन्तला बिक्री गरेर रु २१ लाख आम्दानी गरेँ”, उहाँले भन्नुभयो । विगत एक दशकदेखि नर्सरी स्थापना गरी सुन्तलाको बिरुवा उत्पादन गर्दै आउनुभएकी पुनले सुन्तलाको दाना र बिरुवा बेचेर रहरलाग्दो आम्दानी गर्न सफल भएको बताउनुभयो ।

किसान पुनले मात्रै होइन तल्लो र माथिल्लो भेकमा विभाजित राखुमा रहेका ६५ घरधुरीले न्यूनतम रु २० हजारदेखि अधिकतम रु २१ लाखसम्मको सुन्तला बिक्री गरी गाउँमा डेढ करोड रुपैयाँभन्दा बढी रकम भित्र्याउन सफल भएका हुन् । पुनसँगै राखुमा कुलबहादुर गर्बुजा, जशिकला रोका, भिमकुमारी घर्ती, खिरमती राना, कृष्णबहादुर पुन धेरै सुन्तला बिक्री गर्ने कृषकमा पर्नुहुन्छ ।

परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका यहाँका किसानहरु पछिल्लो समय सुन्तला खेतीतर्फ आकर्षित भएका बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुन बताउनुहुन्छ । राखुपछि सबैभन्दा धेरै मरेक गाउँका २१ जना कृषकले बगैँचाबाटै सुन्तला बेचेर ३२ लाखको सुन्तला बजारमा गएको स्थानीय अगुवा कृषक इन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

त्यसैगरी हल्लेगौडा, पानीस्वाँरा, ज्यामिरे र चिनखेत क्षेत्रबाट यस वर्ष करिब २८ लाखको सुन्तला बजारमा गएको स्थानीय युवा कृषक होम रोका मगरले बताउनुभयो । सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गाउँभरि नै सुन्तलाका बिरुवा रोपिएको कृषकको भनाइ छ । दस वर्षदेखि पुरानो खाद्यबाली नलगाई व्यावसायिक रुपमा सुन्तला जात फलफूल खेतीमा आकर्षित भकिम्लीवासीले हरेक वर्ष उत्पादनमा वृद्धि गरेका छन् । “अबको केही वर्षमा परम्परागतरूपमा कोदो र मकै लगाउने सबै बारीमा सुन्तला फल्ने छ, सुन्तला खरिद गर्न व्यापारी घरघरमै आउने भएकाले सुन्तला खेतीमै सबैको आकर्षण बढेको छ”, उहाँले भन्नुभयो ।

यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएको बताउँदै अबको आधा दशकमा अनुकूल मौसम भएमा तेब्बर उत्पादन हुने कृषकहरुको अनुमान रहेको छ । केही कृषकले परीक्षणका लागि सुन्तलाको बिरुवा रोपेको र राम्रो उत्पादन हुन थालेपछि भकिम्लीका अन्य बस्तीहरूमा समेत सुन्तला खेतीको लहर चलेको छ । रोग पत्ता नलागेका कारण समस्यामा परेका कृषकले निरन्तर तालिम तथा विभिन्न औषधी प्रयोग गरेपछि यस वर्ष उत्पादनमा सुधार आएको छ । “सिङ्गो वडा नै सुन्तला खेतीमा आर्कर्षित भएको छ, अनुदानमा समेत प्रोत्साहन गरिरहेका छौँ”, वडाध्यक्ष पुनले भन्नुभयो ।

हरेक वर्ष नयाँ बिरुवा वितरण, कृषि ज्ञान केन्द्रसहित विभिन्न निकायबाट समेत प्रोत्साहनका साथै कृषक आफ्नै अगुवाइमा समेत सुन्तलाको खेती विस्तारमा सक्रिय रहेको वडाध्यक्ष पुनले बताउनुभयो । सुन्तलाका दाना राम्रा, रसिला र मीठा भएकाले पनि ठूला ट्रक लिएर व्यापारीहरू टाढाटाढाबाट गाउँमा आउन थालेपछि सडक मर्मतसम्भारमा समेत बर्सेनि लाखौँ खर्च हुने गरेको छ । भकिम्लीका सबै सुन्तला खेती हुने गाउँमा सडक सञ्जाल पुगेको छ ।

त्यसैगरी वडा नं ४ मा पर्ने बास्कुना गाउँबाट पनि यस वर्ष रु एक करोडको सुन्तला गाउँबाट नै निर्यात भएको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताउनुभयो । बास्कुनाकी गौमती खत्रीले यस वर्ष रु साढे चार लाखको सुन्तला बिक्री गरेको सुनाउनुभयो । अघिल्लो वर्ष दुई लाख ५५ हजारको सुन्तला बिक्री गर्नुभएकी खत्रीले यस वर्ष उत्पादन बढेपछि दोब्बर आम्दानी भएको उहाँको भनाइ छ । खत्रीको बगानका पाँच सयभन्दा बढी बोटमा फल लागेकाले यस वर्ष उत्साहित हुनुहुन्छ । गाउँमा आएका व्यापारीहरुले सुन्तला टिप्न, बोक्न, ग्रेडिङ गर्न, क्यारेटमा मिलाउन र बजार पठाउने आवश्यक सवारी साधनसमेत ल्याउन थालेपछि अहिले चहलपहल भएको छ ।

सुन्तला बिक्रीबाट यस वर्ष रु १० लाखदेखि १२ लाख आम्दानी हुने कृषक दीर्घबहादुर खत्रीले बताउनुभयो । उहाँको बगैँचामा करिब पाँच सय सुन्तलाका बोट रहेका छन् । खत्रीले विगत १० वर्षदेखि सुन्तला खेती गर्दै आउनुभएको छ । “सुन्तला खेतीबाट किसानहरुले राम्रो आम्दानी लिनुभएको छ, सुन्तला खेतीलाई थप प्रवद्र्धन गर्ने र युवालाई आकर्षित गर्न अर्को वर्ष सुन्तला महोत्सव लगाउने योजना बनाएका छौँ”, वडाध्यक्ष खड्काले भन्नुभयो ।

म्याग्दीको भकिम्ली, बरञ्जा, हिस्तान, घार, राँखु, दाना, विम लगायतका गाउँहरु सुन्तला उत्पादन पकेट क्षेत्र हुन् । म्याग्दी जिल्लाको समुन्द्री सतहबाट एक हजार दुई सय मिटरदेखि एक हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जिल्लाका ६ वटै स्थानीय तहको तीन सय ५५ हेक्टर जमिनमा सुन्तला खेती भइरहेको छ । जिल्लामा वार्षिक १७ करोड हाराहारीमा सुन्तला बिक्री हुने अनुमान गरिएको कृषि केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments