दिनभरि जनताको काम, साँझ बिहान बारीमा

तुलसीपुर:दिनभरि वडाको काममा व्यस्त । जनतासँग भेटघाट र साक्षात्कार । दिनभरको खटाइले थकान महसुस हुँदा थकाइ बिसाउने ठाउँ बनेको छ तरकारी खेती । तुलसीपुर उपमहानगरपालिका–१२ का वडाध्यक्ष खुसीराम चौधरीको बारीमा लटरम्म टमाटर फलेका छन्, प्याजका बेर्ना उम्रिदै छन् ।

पुर्खौदेखि तरकारी खेती गर्दै आएकाले पनि होला कचिला निवासी खुसीरामले जनप्रतिनिधि हुँदा पनि तरकारी खेतीलाई समय दिनुहुन्छ ।

उहाँले भन्नुभयो, “म जनप्रतिनिधि हुँदा पनि यो काम जारी छ, यो काम दिनभरको थकान भुलाउने माध्यम पनि बनेको छ ।” वडाध्यक्ष चौधरी बिहान ४ बजे उठेर बारीमा फलेका तरकारी लिएर बजारसम्म पनि पुग्नुहुन्छ । “जनप्रतिनिधि होस्, या अरु कुनै पेसा व्यवसायमा हात हालेको व्यक्तिले प्रायः खेतबारीमा काम गरेको देखिँदैन”, वडाध्यक्ष चौधरीले भन्नुभयो, “तर, म भने उत्पादनमा जोडिनु पर्छ, ता की यो कुराले अरुलाई पनि शिक्षा होस् भन्ने चाहन्छु ।”

करिब तीन कट्ठामा उहाँले गोलभेँडा खेती गर्नुभएको छ । अन्यमा खुर्सानी, प्याज, लसुन लगाउनुभएको छ । चौधरीको २२ कट्ठा जग्गामा बर्सेनि तीन बाली खेती हुन्छ । तरकारी खेतीका हिसाबले उत्तम मानिएको कचिलामा बेमौसमी तरकारी बढी हुन्छ ।

उहाँले मङ्सिरदेखि वैशाखसम्म दैनिक ६० किलो गोलभेँडा निकालेर बजारमा बिक्री गर्नुहुन्छ । हाल किलोको रु ३० मात्रै पर्न जान्छ । भारतीय तरकारी भित्रिदा नेपाली उत्पादनले बजार नपाउने गरेको उहाँको गुनासो छ । “हामीले उत्पादन गरेको तरकारीले बजार पाउँदैन्, भण्डारणका लागि ‘कोल्डस्टोर’ पनि छैन”, उहाँले भन्नुभयो, “त्यसैले सस्तो मूल्यमा कृषिजन्य सामग्री बेच्नुपर्छ ।”

तरकारी बेचेर उहाँले वार्षिक छ÷सात लाख आम्दानी गर्दै आउनुभएको छ । त्यहाँ सिँचाइको पनि राम्रो प्रबन्ध छ । बबई नदीको पानी लिफ्टिङबाट निकालिएको छ भने ग्वारखोलाको पानी कुलोमार्फत लगिएको छ । जबसम्म आफू पनि उद्यमशील बन्न सकिँदैन समृद्धिका भाषणले सार्थकता नपाउने उहाँको भनाइ छ । “हामी धेरै समृद्ध नेपाल बनाउने भनेर भाषण गर्छौं”, उहाँले भन्नुभयो, “तर भाषणले मात्रै समृद्ध हुन सकिदैन, आफैँ पनि उद्यममा जोडिनुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments