ढुङ्गा महँगो भएपछि घर निर्माणमा समस्या

कञ्चनपुर, ढुङगा महँगो भएपछि शुक्लाफाँटा नगरपालिका–७ का स्थानीय बासिन्दाले घरनिर्माण गर्न पाएका छैनन् । ढुङ्गाको राजश्व निकै चर्को भएपछि घर निर्माणको कार्य स्थानीय बासिन्दाले थाँति राखेका हुन । ढुङ्गा पाइने क्षेत्र वातावरण मध्यवर्ती सामुदायिक वनभित्र पर्दछ ।   
   
सामुदायिक वनले ढुङ्गाको राजश्व रकममा वृद्धि गरेपछि स्थानीय उपभोक्ता मर्कामा परेका छन् ।“पहिला ढुङ्गा सामुदायिक वनबाट ल्याउँदा प्रति ट्र्याक्टरको ट्रलीको रु एक सय ५० मात्रै बुझाउनु पर्दथ्यो” गौरीदेवी भट्टले भन्नुभयो, “अहिले रकम वृद्धि गरेर रु एक हजार चार सय पुगेको छ, खोलाबाट घरसम्म ढुङ्गा पुग्दाप्रति ट्रली रु पाँच हजार बढी तिर्नु परेको छ, पहिला रु दुई हजार पाँच सय मै ढुङ्गा घरसम्म्म पुग्ने गरेको थियो ।”   
   
उहाँले घर निर्माण गर्दा छिमेकीसँग ढुङ्गा र काठ पैँंचो लिएकोमा तिर्न नसकिएको उहाँले बताउनुभयो । “सामुदायिक वनमा पालो आएपछि तिर्ने योजना थियो, सामुदायिक वनले सबैमा मूल्य वृद्धि गरेपछि खरिद गर्न सकिएको छैन” उहाँले भन्नुभयो । उपभोक्ताले ढुङगाको रोयल्टी बापतको रकम तिर्न नसक्ने भएपछि वन क्षेत्रबाट ढुङ्गा ल्याउने कार्य बन्द रहेको सामुदायिक वनका स्थानीय उपभोक्ता कालु सिंह ठुन्नाले बताउनुभयो ।   
   
“ढुङगाबाटै घरको जग राख्ने कार्य गरिँदै आएको छ, महँगो भएपछि खरिद गर्ने क्षमता सबैसँग छैन” उहाँले भन्नुभयो, “ढुङगा महँगो भएपछि सबै उपभोक्ताले किन्न सकेका छैनन्, घर निर्माणका कार्य एक वर्षदेखि ठप्प रहेको छ ।”   
   
घर निर्माणको कार्यसंगै गोरबरग्यास निर्माणको कार्य प्रभावित भएको उहाँको भनाइ रहेको छ ।“सामुदायिक वन संरक्षण गरी हराभरा बनाएर यहाँसम्म पुर्‍याएका छौँ” जगदीश रोकायाले भन्नुभयो,“प्राकृतिक स्रोतसाधन उपभोग गर्नसकेका छैनौँ ।”सामुदायिक वनका पूर्वध्यक्ष पुष्करबहादुर सिंहले सामुदायिक वनले कार्ययोजना र विधान अनुसार ढुङगा लगायका प्राकृतिक वस्तु उपभोक्तलाई सहज रुपमा उपभोग गर्न दिनुपर्ने बताउनुभयो ।   
   
आर्थिक रुपमा विपन्न अवस्थाका उपभोक्ताले नदीजन्य पदार्थ खरिद गर्न नसक्दा घर निर्माण गर्नबाट वञ्चित रहदै आएको उहाँले उल्लेख गर्नुभयो ।“चर्को मूल्य तोकेर उपभोक्तालाई मर्कामा पार्न खोजिएको छ” उहाँले भन्नुभयो, “पहिला जस्तै सहज रुपमा नदीजन्य पदार्थमा उपभोक्ताको पहुँच पुर्‍याउनुपर्छ ।” विसं २०७२ देखिनै उपभोक्तालाई दाउरा, काठ सामुदायिक वनले घाट गद्दिबाटै उपलव्ध गराउँदै आएकोमा हाल दाउरा, काठसमेत सामुदायिक वनले उपलव्ध गराउन सकेको छैन, दाहसंस्कार गर्नसमेत सामुदायिक वनसँग दाउरा नहुनु विडम्बना भएको उहाँको भनाइ छ ।   
   
सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीले मन्त्रिपरिषद्को बैठकबाट मध्यवर्ती क्षेत्रका सामुदायिक वन क्षेत्रमा रहेका खोला नालाबाट उपलव्ध गराइदै आएको ढुङगाको मूल्यमा वृद्धि गरिएको बताउनुभयो ।“माथिबाटै मूल्य बढाइएको छ” उहाँले भन्नुभयो, “हामीले उपभोक्तालाई चाहेर पनि सस्तो गर्न सकेका छैनौँ ।” महँगो नलिने भनेपछि ढुङ्गा आपूर्तिको कार्य ठप्प रहेको उहाँले बताउनुभयो ।   
   
सामुदायिक वनले उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर सेवाप्रवाह गर्नुपर्ने सुदूरपश्चिम प्रदेशसभाका सदस्य बहादुरसिंह थापाले बताउनुभयो । उपभोक्तालाई कुन माध्यबाट सहज रुपमा ढुङ्गा, काठपात, दाउरा उपलव्ध गराउन सकिन्छ त्यसका लागि नीति नियमभित्र रहेर कार्य गर्नुपर्ने उहाँले बताउनुभयो ।   
   
शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख कल्पना जोशी पन्तले ढुङगा, गिट्टी र बालुवाको कर(रोयल्टी)को दायरा बढी भएको गुनासो आएकाले त्यो समस्या समाधान गर्न सामुदायिक वनका पदाधिकारीले नगरपालिका, प्रदेश र सङ्घ सरकारसँग समन्वय गर्नुपर्ने बताउनुभयो ।   
   
“समन्वय गर्नु पर्‍यो, करको दर घटाउनका लागि हामी पनि सहयोग गर्छौ” उहाँले भन्नुभयो । सामुदायिक वनको क्षेत्रफल एक हजार ११ दशमलव ५३ हेक्टर रहेको छ । वनमा एक हजार दुई सय उपभोक्ता आवद्ध छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments