महाभारतमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन

काभ्रेपलाञ्चोक, महाभारत गाउँपालिका–५ किल्लामा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पोषण अभियान कार्यक्रमको शुभारम्भसहित प्रजनन, एकीकृत जनस्वास्थ्य सेवाका लागि आयोजित शिविर मङ्गलबारसम्म सञ्चालन हुने जनाइएको छ ।   
   
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालय तथा गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित शिविरमा स्त्रीरोग तथा प्रजनन स्वास्थ्य, दन्त रोग, मानसिक स्वास्थ्य, जनरल मेडिसिन, अपाङ्गता परीक्षण सेवा उपलब्ध गराइएको हो । यस्तै शिविरमा पोषण प्रवद्र्धन, सम्भावित क्षयरोगको स्क्रिनिङ, गर्भवतीको भिडियो एक्स–रे तथा प्रयोगशाला सेवा उपलब्ध रहेको स्वास्थ्य कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाईंले जानकारी दिनुभयो ।   
   
सेढाईंका अनुसार शिविरमा परीक्षण गरिएका स्थानीयको स्वास्थ्यमा समस्या देखिए निःशुल्क औषधि वितरण गरिनेछ भने जटिल रोग देखिएमा बिरामीलाई थप उपचारका लागि सदरमुकामस्थित अस्पतालमा रेफर गरिनेछ । सोही अवसरमा अपाङ्गता भएका व्यक्तिको पहिचान गरी श्रेणीअनुसारको अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।   
   
पछिल्लो समय मानसिक स्वास्थ्य सम्बन्धी रोगका बिरामीको सङ्ख्यामा वृद्धि भएकाले मानसिक स्वास्थ्य र सर्ने÷नसर्ने रोगसम्बन्धी सचेतना तथा उपचारात्मक सेवाका लागि शिविर महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । शिविरमा बच्चा जन्मनेबित्तिकै लगाउनुपर्ने खोपको मात्रा पूरा गर्न, पोषिलो खाना खुवाउनसमेत आग्रह गरिएको छ । “कुनै स्वास्थ्य समस्या नदेखिए पनि समयसमयमा स्वास्थ्य परीक्षण गर्न स्थानीयलाई अनुरोध गरिएको छ”, सेढाईंले भन्नुभयो ।   
   
किल्लामा स्वास्थ्यका साथै पशुपक्षी शिविर पनि आयोजना गरिएको छ । शिविरमार्फत गोबर परीक्षणसहित पशुपक्षीलाई औषधि वितरण गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले बताउनुभयो । उहाँका अनुसार पशुपक्षीमा कुनै रोगको सङ्क्रमण भए÷नभएको यकीन गर्न शिविरको आयोजना गरिएको हो । स्वास्थ्य र पशुपक्षी शिविरमा स्थानीयको उत्साहजनक उपस्थिति रहेको जनाइएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments