गर्मी सुरु भएसँगै सुनकोसीमा बढ्न थाले पर्यटक

कमलामाई (सिन्धुली), सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती । छेउमा सलल बगेको सुनकोसी नदी । यहाँको शान्त र सुन्दर वातावरणमा रमाउन केही समययता आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन् ।   
   
सिन्धुलीको सुनकोसी गाउँपालिका–५ मुलकोटमा अवस्थित ताज रिभरसाइड रिसोर्ट प्रबन्ध निर्देशक मनोज श्रेष्ठका अनुसार गर्मी मौसम सुरु भएसँगै सुनकोसी नदीमा जलयात्रा (र्‍याफ्टिङ) गर्ने पर्यटकको भीड लाग्ने गरेको छ । दिनकै एक–दुई सय पर्यटकले जलयात्रा गरेर आनन्द लिने गरेका छन् ।   
   
पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको जलयात्रा सेवाले पर्यटक तान्न थप सहयोग पुगेको छ । राजधानी काठमाडौँलाई तराईका जिल्लासँग जोड्ने छोटो दूरीको बिपी राजमार्गले पर्यटकलाई आवातजावतमा सहजता थपिदिएको छ ।   
   
सन् २०१८ अक्टोबर १० मा व्यवसायीले सञ्चालन गरेको जलयात्रा अहिले पर्यटकको आकर्षण बनेको छ । जाडोयाममा पनि जलयात्रा गर्ने पर्यटकको घुइँचो थियो । गर्मीयाम चैतदेखि असारसम्म भ्याइनभ्याइ हुने व्यवसायी तथा ताज रिभरसाइड रिसोर्टका प्रमुख श्रेष्ठ बताउनुहुन्छ ।   
   
“जलयात्राको मुख्य सिजन गर्मीयाम हो । यस याममा विशेषगरी काठमाडौँबाट प्याकेजमा मनोरञ्जन लिन आउने गर्दछन्, सार्वजनिक बिदामा दैनिक एक हजार जना बढीले जलयात्रा गर्दै आएका छन्”, उहाँले भन्नुभयो । प्राविधिक दृष्टिकोणले सुनकोसी नदीमा जलयात्रा गर्न सुरक्षित देखिएपछि पर्यटकलाई जुनसुकै समयमा पनि जलयात्रा सेवा दिन सकिएको उहाँले बताउनुभयो ।   
   
जलयात्राका लागि २० वटा बोट (डुङ्गा) छन् । प्रतिबोट आठ जनासम्म यात्रा गर्न सकिन्छ । हाल १० वटा बोटमात्रै नियमितरूपमा सञ्चालित छन् । उहाँका अनुसार सुनकोसी गाउँपालिका–१ को कुशेश्वर महादेव मन्दिरबाट मूलकोटसम्म (१७ किलोमिटर) वा यात्रुको चाहनाअनुसार मुलकोट–खुर्कोटसम्म जलयात्राको नियमित रुट हो ।   
   
यहाँ जलयात्रा गरेवापत प्रतिव्यक्ति रु एक हजार पाँच सय शुल्क कायम गरिएको छ । पर्यटकले एक साताको प्याकेजमा मुलकोट–चतारासम्म जलयात्रा सेवा पनि लिन सक्छन् । यो सेवावापतको शुल्क अलि बढी भएकाले विदेशीले मात्र लिने गरेको उहाँले बताउनुभयो ।   
   
रामेछाप खाडाँदेवी गाउँपालिका–३ भिरपानीका चेतबहादुर जर्गामगर बिहीबार सिन्धुलीको मूलकोटमा आएर जलयात्रामा सहभागी हुनुभयो । रामेछापको नमूना माझी बस्ती, डाँडापाखा, पहाड र नदीको र्‍याफ्टिङले स्वर्गीयआनन्द प्राप्त भएको उहाँले बताउनुभयो । जलयात्राकै लागि उहाँ भिरपानीबाट मूलकोट आउनुभएको हो ।   
   
एक दिनको पूरै समय मूलकोटमा बिताउने गरी आउनुभएको उहाँले सुनकोसीमा जलयात्रा गरी बिताएको बताउनुभयो सुनकोसी नदीमा जलयात्रा सुरु गरिएपछि यहाँका होटल र रिसोर्ट सधैँजसो भरिन थालेका छन् ।   
   
व्यापार, व्यवसायमार्फत गाउँपालिकाको विकास गर्न होटल, होमस्टे निर्माण तथा र्‍याफ्टिङ गाइडरलाई तालिम दिनेजस्ता काम पनि बेला–बेलामा भइरहेका छन् । सुनकोसी गाउँपालिकामा पर्यटक भित्र्याउन सुनकोसी नदीमा सञ्चालन गरिएको जलयात्रा सेवाले सहयोग गरेको गाउँपालिका प्रमुख दीपा बोहोरा दाहालको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments