स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गरौँ : रवि लामिछाने

दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू स्वच्छ राजनीति गर्न सदैव सक्रिय रहेको उल्लेख गर्नुभयो ।

“हामी स्वच्छ राजनीति गर्न चाहन्छौँ, अरु दललाई पनि हामी यही आह्वान गर्छौँ”, उहाँले भन्नुभयो, “कुनै पनि उम्मेदवारविरुद्ध दुर्भाव छैन । सबैलाई यही आह्वान गर्छाैँ ।” लोकतन्त्रको सुन्दर पक्ष भनेको प्रतिस्पर्धा भएकाले यो सुुन्दर पक्षलाई सबैले अवलम्बन गर्नुपर्नेमा लामिछानेले बताउनुभयो । “यो नै लोकतन्त्रको विशेषता हो, देशका मालिक जनता हुन्”, उहाँले भन्नुभयो ।

तनहुँ–१ का जनता जुनसुकै पार्टीमा भए पनि यसपटक देशका लागि सोचेर मतदान गर्न लामिछानेले आग्रह गर्नुभयो । “सबै दलप्रति हाम्रो सद्भाव छ, अन्य दलमा आबद्ध भए पनि दल फेर्नु पर्दैन, एकपटक मतमात्र फेर्नुस्, देश विकासको जिम्मा हामी लिन्छौँ”, उहाँले भन्नुभयो ।

तनहुँ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा स्वर्णिम वाग्लेले राजनीतिक सङ्ल्याउने र अर्थतन्त्र उकास्ने लक्ष्यसहित चुनावी मैदानमा होमिएको बताउनुभयो । उहाँले राजनीति दूषित हुँदा देश विकासमा पछाडि परेको बताउँदै वाग्लेले राजनीतिलाई सफा बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

डा वाग्लेले आफू सुसंस्कृत राजनीतिज्ञ बन्न चाहेको बताउँदै अरुलाई गाली नगर्ने बताउनुभयो । “अरुलाई गाली गर्ने फुर्सद छैन, कामबाटै विरोधीलाई जवाफ दिन्छु”, उहाँले भन्नुभयो । वाग्लेले देश विकासको मोडल तनहुँबाट सुरु गरिने बताउँदै अन्य ठाउँले पनि यहाँबाट सिक्ने अवसर पाउने जिकिर गर्नुभयो । “खानेपानी र बाटो बनाउनेमात्र नेता यहाँका जनताले खोजेका होइनन्, समग्र देशकै आर्थिक उन्नति उकास्ने नीति बनाउने नेता जनताले चाहेका छन्”, वाग्लेले भन्नुभयो ।

प्रतिनिधिसभा सदस्य एवं पूर्व शिक्षामन्त्री शिशिर खनालले तनहुँ–१ ले गर्व गर्न लायक उम्मेदवार पाएको बताउनुभयो । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सुशासन र आर्थिक समृद्धि आफ्नो पार्टीको प्रमुख कार्यभार रहेको बताउनुभयो ।

लेखक

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments