खाद्य डिपोमा सकियो चामल , विपन्न जनता महङ्गो मूल्यमा किन्न बाध्य

खाँदबारी सङ्खुवासभाको खाँदबारीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपोमा चामल अभाव भएको छ । जिल्लाभरको खाद्यान्न सङ्कट समाधानका लागि स्थापना भएको सो शाखाको डिपोमा गत वैशाख महिनादेखि चामल सकिएको हो । डिपोले लकडाउनको समयमा विपन्न जनतालाई चामल वितरण गर्न सकेको छैन । एक महिनाअघिदेखि चामल सकिएको शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी रामप्रवेश मण्डलले जानकारी दिनुभयो । विपद् र जिल्ला कारागारका लागि राखिएको २०० क्विन्टल चामल मात्र डिपोमा रहेको उहाँको भनाइ छ । दैनिक तीन हजार ५०० केजी चामल बिक्री गर्ने डिपोमा चामल नआएकाले डिपो बन्द गरेर बस्नुपर्ने बाध्यता भएको डिपो कार्यालयले जनाएको छ ।

लकडाउनको समयमा खाद्यले चामल नदिएपछि महङ्गो मूल्यको चामल किन्न बाध्य भएको खाँदबारी नगरपालिका–१ की स्थानीय विष्णु राई गुनासो गर्नुभयो । जिल्लामा आएको चामल एक महिनाअघि नै सकिएको र थप चामल नआउँदा विपन्न जनताको मागअनुसार चामल बिक्री गर्न नसकिएको सूचना अधिकारी मण्डलले बताउनुभयो । स्थानीयवासीको काम बढी भएकाले चामल मागअनुसार नआउँदा समस्या भएको हो । खाँदबारी नगरपालिकाले राहत वितरणका लागि ३२० क्विन्टल चामल माग गरे पनि खाद्यले चामल दिन नसकेको उहाँले जानकारी दिनुभयो ।

जिल्लाका व्यापारीहरुले लकडाउनको मौका छोपेर दैनिक उपभोग्य वस्तुमा मूल्य बढाएका छन् । व्यापारीले एक बोरा चामलमा २०० देखि ३०० सम्म मूल्य बढाएको स्थानीयवासीले बताएका छन् । अहिले चामलसहितको खाद्यवस्तुको मूल्यसमेत बढाएकाले मारमा परेको खाँदबारी–९ का रमेश मगरले बताउनुभयो । खाद्यले बिक्री गर्ने चामल व्यापारीसँग किन्दा किलोमा रु १० देखि १५ सम्म महङ्गो परेको उहाँको भनाइ छ । लकडाउन र बर्खा लागेको भन्दै व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य बढाए पनि अहिलेसम्म बजार अनुगमन भएको छैन ।

लकडाउले दैनिक रोजगारी जान पनि समस्या भएको र पारिश्रमिक पनि समयमा नपाएका बेला अझ महङ्गो चामल किनेर खानुपरेको राईको गुनासो छ । लकडाउनको सयमा खाद्यले आपूर्ति व्यवस्थालाई सहज बनाउन नसक्दा विपन्न परिवार महङ्गो मूल्यको चामल खान बाध्य छन् । यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोना मन्सुली प्रतिकेजी रु ३८.२५ र जापनिज प्रतिकेजी चामल रु ४३.२० दरले बिक्री गर्दै आएको थियो ।
(रासस)

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments