मल नपाउँदा उत्पादन घट्ने चिन्ता

वीरेन्द्रनगर,वीरेन्द्रनगर–२ का जीवराम चौधरीले जेठ अन्तिममा धान रोपाइँ सके । डीएपी प्रयोग गरी रोपाइँ गरेका उनलाई युरिया नपाउँदा उत्पादन घट्ने चिन्ताले सताएको छ ।

‘सहकारीमा पनि मल खोसाखोस भयो,’ उनले भने, ‘रोपाइँ गर्दा डीएपी मल पनि पर्याप्त थिएन, अब युरिया पनि भएन भने त मिहिनेत सबै खेर जान्छ ।’ सल्यानको बनगाड कुपिण्डे नगरपालिका–३ का सूर्यजित खड्काले ५० किलो रासायनिक मल चाहिएका बेला मुस्किलले २० किलो मात्र पाएको बताए । यस वर्ष वर्षा छिटो सुरु भए पनि मल नपाउँदा रोपाइँ गर्न समस्या भएको उनको गुनासो छ ।

कर्णालीमा आइतबारसम्म ६३ प्रतिशत रोपाइँ सकिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । ‘आकाशे पानीको भरमा रोपाइँ त गरौंला,’ उनले भने, ‘तर मल नपाइए धान कसरी फस्टाउँछ ?’ मन्त्रालयका अनुसार गत वर्ष यतिबेलासम्म करिब ४० प्रतिशत रोपाइँ सकिएको थियो । अझै ३७ प्रतिशत रोपाइँ गर्न बाँकी रहेको मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले बताए । कर्णालीका ३० प्रतिशत किसानले खेती गर्ने समयमा मल पाउन नसकेको उनको भनाइ छ । सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिममा ४ हजार १ सय ३७ मेट्रिक टन रासायनिक मल आपूर्ति भएको उनले जानकारी दिए ।

सुर्खेतस्थित कृषि सामग्री कम्पनी लिमिटेडले दैलेख र कालीकोट, दाङ शाखाले सल्यान र रुकुम पश्चिम तथा नेपालगन्ज कार्यालयले जाजरकोटमा रासायनिक मल आपूर्ति गरिरहेको छ । जेठ मसान्तसम्म सुर्खेतमा १ हजार ६ सय टन युरिया र ८ सय ८३ टन डीएपी आपूर्ति भएको छ भने दैलेखमा १ सय ७३ टन युरिया र १ सय ३९ टन डीएपी गएको मन्त्रालयको भनाइ छ । जाजरकोटमा ४० टन युरिया, सल्यानमा ७ सय १६ टन युरिया र ३ सय १२ टन डीएपी तथा रुकुम पश्चिममा १ सय ४३ टन युरिया र २२ टन डीएपी भित्रिएको मन्त्रालयले जनाएको छ । गत आवको यही अवधिमा २ हजार ९ सय ६४ टन मल आपूर्ति भएको पण्डितले जानकारी दिए । ‘गत वर्षको तुलनामा यो वर्ष बढी मल बिक्री भए पनि किसानले नपाएको गुनासो गरिरहेका छन्,’ उनले भने । कान्तिपुर

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments