अनुदानको मल तेब्बर मूल्यमा

रौतहट — सरकारबाट अनुदानमा प्राप्त रासायनिक मल रौतहटका तीन सहकारी संस्थासँग मिलेर व्यापारीले किसानलाई चर्को मूल्यमा बिक्री गरिरहेको पाइएको छ । सरकारी मूल्यभन्दा झन्डै तेब्बरमा किसानलाई मल बिक्री गरेको सूचनापछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ ।

तराई–मधेसमा धान खेतीका बेला अनुदानमा आएको रासायनिक मल चर्को मूल्यमा बिक्री गरेको आरोपमा प्रहरीले सर्लाहीको वाग्मती नगरपालिका–१२ कर्मैया घर भई चन्द्रपुर–१ वाग्मती बजारमा राहुल खाद्य उद्योग सञ्चालन गरिरहेका सत्यलाल साहलाई पक्रिएको हो । साहमाथि कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाइएको डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।

‘मलको कालोबजारीमा संलग्नहरूबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘सात सयमा किनिएको मल १७ सयदेखि २२ सय रुपैयाँसम्ममा बिक्री गरेको उजुरी परेको छ ।’ वाग्मतीस्थित सिर्जनशील कृषि सहकारी, वाग्मती बचत तथा ऋण सहकारी र उन्नतिशील महिला कृषि सहकारीका नाममा खरिद गरिएको मल सेयर सदस्य किसानलाई सहज ढंगले बिक्री गर्नुपर्नेमा मिलेमतोमा व्यापारी साहको हात परेको हो । सहकारी संस्थाकै आडमा साहले कालोबजारी गरेका हुन् ।

साहले सिर्जनशीलका नामबाट युरिया १ हजार ६ सय ५२ बोरा, डीएपी ६ सय ५ बोरा, पोटास १ सय ३५ बोरा, वाग्मतीका नामबाट युरिया १ हजार २ सय १२ बोरा, डीएपी ५ सय ७५ बोरा, पोटास १ सय १५ बोरा र उन्नतिशीलका नामबाट युरिया २ हजार १ सय २४ बोरा र डीएपी ६ सय ८१ बोरा, पोटास १ सय ३० बोरा खरिद गरी मकवानपुर, सिन्धुली र सर्लाहीमा बढी मूल्यमा बेचेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सिर्जनशीलका अध्यक्ष चन्द्रपुर–१ का वडाध्यक्ष बिरु रखाल हुन् । उक्त सहकारीले गतवर्ष साधारणसभासमेत गरेको छैन । अध्यक्ष रखालले भने मल लिन आफूले सिफारिस गरे पनि कालोबजारीमा संलग्न नरहेको दाबी गरे । ‘किसानलाई बिक्री गर्न भनेर सिफारिस गरेको हुँ,’ उनले भने, ‘बढी मूल्यमा कसले बिक्री गर्‍यो, आश्चर्यमा परेको छु ।’

तीनवटै सहकारीलाई अनुदानको मल दिन वडाध्यक्ष रखालले कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरलाई सिफारिस गरेका थिए । अनुदानमा पाइने मल किसानले खरिद गरेपछि संस्थाले बिक्रीवितरण प्रतिवेदन बनाउनुपर्नेमा त्यो पनि बनाएका छैनन् । कालोबजारीमा संलग्न साह पक्राउ परे पनि अन्यको संलग्नता हुन सक्ने भन्दै छानबिन गर्न किसानले प्रहरीसँग माग गरेका छन् ।कान्तिपुर

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments