बिरुवा निर्यात गर्दै तनहुँ

दमौली। तनहुँ जिल्ला बिरुवा उत्पादनको केन्द्रको रुपमा विकास भइरहेको छ । गण्डकी प्रदेशका ११ जिल्लामा रहेका डिभिजन वन कार्यालयमध्ये तनहुँले सबैभन्दा बढी बिरुवा उत्पादन गर्ने गरेको छ ।

जिल्लाका विभिन्न स्थानमा रहेका नर्सरीमा बिरुवा उत्पादन गरेर जिल्लाभित्र र बाहिर वितरण गर्ने गरेको कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए। “ उत्पादित बिरुवा जिल्लाभित्रका सर्वसाधारणलाई त निःशुल्क वितरण गरि नै रहेको छ, तर यस वर्ष भने जिल्ला बाहिर पनि वितरण गर्न सफल भयौँ”, उनले भने, “यसैले जिल्ला बिरुवा उत्पादनको केन्द्रका रुपमा विकसित भइरहेको छ ।”

कार्यालयले यस वर्ष आठ लाख ८८ हजार बिरुवा उत्पादन गरेको छ । सङ्घीय , प्रदेश, तनहुँ जलविद्युत् आयोजनाको आर्थिक लगानीमा कार्यालयले ११ स्थानमा बिरुवा उत्पादन गरेको छ । आयोजनाले पनि वन कार्यालयलाई आर्थिक सहयोग गरेको छ ।

कार्यालय प्रमुख बरालका अनुसार जलविद्युत् आयोजनाले ४१६ हेक्टर वन क्षेत्र डुबानमा पार्ने भएकाले आयोजनाले उक्त रुख काटेवापत बिरुवा रोपण गर्नुपर्ने प्रावधान रहेको छ । “प्रतिरुख काटवापत २५ बिरुवा उत्पादन गरेर संरक्षण गर्नुपर्ने दायित्व आयोजनाको हो तर आयोजनाले उक्त काम आफैँले नगरेपछि वन कार्यालयलाई पैसा प्राप्त भएको थियो”, उनले भने, “उक्त रकमबाट पाँच लाख ३० हजार बिरुवा उत्पादन भएको छ ।”

डिभिजन वन नर्सरीमा सङ्घीय सशर्त अनुदानमार्फत ५० हजार, प्रदेश सरकारमार्फत एक लाख, वन विभागबाट ९० हजार, व्यास सव डिभिजन नर्सरीमा सङ्घीय सशर्त अनुदानमार्फत ६८ हजार, जलविद्युत् आयोजनामार्फत ५० हजार, म्याग्दे सव डिभिजन नर्सरीमा सङ्घीय सशर्त अनुदानमार्फत ५० हजार लगायत बिरुवा उत्पादन गरिएको छ ।

उत्पादित बिरुवामध्ये जिल्लाभित्र तीन लाख ८४ हजार ९०० र जिल्ला बाहिर ३४ हजार १०० वितरण गरिएको छ । कार्यालयमा अझै चार लाख १९ हजार बिरुवा वितरण गर्न बाँकी छ । कार्यालयले जिल्ला बाहिर पोखरा महानगरपालिकालाई दुई हजार ७५०, डिभिजन वन कार्यालय कास्कीलाई दुई हजार ६००, डिभिजन वन कार्यालय स्याङ्जालाई सात हजार, डिभिजन वन कार्यालय नवलपुरलाई तीन हजार ७००, डिभिजन वन कार्यालय गोरखालाई १० हजार ५०० बिरुवा वितरण गरेको छ ।

त्यस्तै धादिङलाई तीन हजार, पर्वतलाई एक हजार, लमजुङलाई दुई हजार र वन विभागलाई एक हजार ५५० बिरुवा वितरण गरेको छ । कार्यालयबाट चाँप, रुदाक्ष, नारेश्वर, तेजपात, बेल, कुरिलो, कल्कीफूल, पीपल, सुगन्धकोकिला, रुख कटहर, ज्याकराण्डा, श्रीखण्ड, गुलाब, जामुना, गुलमोहर लप्सी, अम्बा, टाँकी, अमला, ड्रागन फ्रुट, बडहर, सिसौ, अशोक, बकाइनो, खयर, मेगो स्टीन चिउरी, टिक, ल्यागरस्ट्रोमियालगायतका बिरुवा वितरण गरिएको छ ।

कार्यालयले जिल्लाका विभिन्न सामुदायिक तथा निजी वनमा वृक्षरोपणका लागिसमेत बिरुवा वितरण गर्ने गरेको छ । जिल्लालाई हरियाली बनाउन र वन हराभरा बनाउन बिरुवा वितरणलाई अभियानकैरुपमा अगाडि बढाइएको कार्यालयले जनाएको छ । जिल्लाका कूल क्षेत्रफलमध्ये ८२ हजार ५४९ हेक्टर वनले ओगेटेको छ । जिल्लाभर ६१७ वटा सामुदायिक वन र ४८५ वटा कबुलियती वन रहेको छ ।रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments