धान रोपाइँ गरेको एक महिना बितिसक्दा पनि मल पाएनन् किसानले

चितवन। धान रोपाइँ गरेको एक महिना बितिसक्दा पनि चितवनका कृषकले रोपाइँको समयमा प्रयोग गर्नुपर्ने मल अझै पाएका छैनन् ।
रोपाइँका बेला मल माग गरेको, धान गोड्ने बेला हुँदासम्म मल नपाएको गुनासो किसानको छ । विशेष गरी युरियाको अभावका कारण धानको राम्रो उत्पादन लिन नसकिने हो कि भन्नेमा किसान चिन्तित छन्् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन सञ्चालक समितिका संयोजक तेजप्रसाद बर्तौलाले एक महिनाभन्दा बढी अवधि हुँदासमेत कृषकले मल नपाएको दुःखेसो पोख्नुभयो । कृषि प्राविधिकले केही दिनमा आउँछ भन्दाभन्दै अझै पनि मल नआएको उहाँको भनाइ थियो । पछिल्लो समय आएर युरियाको ठाउँमा डीएपी र पोटासको प्रयोग गर्न सुझाएको तर त्यो युरियाभन्दा महँगो पर्ने भएकाले कृषक मर्कामा परेको उहाँको गुनासो छ ।

समयमा मल पाएको भए यतिबेला धान हलक्कै हुने र अन्य झार पनि कम हुने कृषक बताउँछन् । सरकार कृषिलाई प्रोत्साहन र अनुदान दिने नीति लिन्छ तर व्यवहारमा त्यस्तो नभएको गुनासो कृषकको छ । भरतपुर–६ का कृषक मार्कण्ड खनालले अनुदानको युरिया समयमा भिœयाउन नसक्ने अवस्थाले कृषक चिन्तित भएको बताउँदै भदौको दोस्रो साताभन्दा अगाडि मल आउने सम्भावना कम भएको भन्ने आफूले सुनेको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीले भारतको गुजरातमा अड्किएको मल अझै नेपाल भित्रिन नसकेको आफूलाई जानकारी आएको बताउनुभयो । उहाँले कृषकलाई चिनी मलको प्रयोग गर्न सुझाव दिएको बताउनुभयो । युरियामा प्राप्त हुने अधिकांश मिनरल प्राप्त हुने उक्त मलमा सरकारी अनुदान नभएकाले कृषकले उक्त मल प्रयोग गर्न आनाकानी गरेको उहाँको बुझाइ छ । सरकारले डीएपी, पोटास र युरियामा बजार मूल्यको दाँजोमा ५० देखि ६० प्रतिशतसम्म अनुदान दिँदै आएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाले युरियाको बदलामा एमुनियम सल्फेड (चिनीमल)को प्रयोग गरेर धान बाला निस्कने बेलामा युरिया प्रयोग गर्दा उत्पादनमा असर नपर्ने दाबी गर्नुभयो ।

त्यसरी मलको प्रयोग गर्दा कृषकलाई केही बढी आर्थिक भार पर्ने भएकाले कृषकमा केही अन्योल सिर्जना हुनु स्वाभाविक रहेको उहाँको तर्क छ । पछिल्लो समयमा धान खेतमा यतिबेला गबारो पुतली देखिन थालेको बताउँदै उहाँले कृषकलाई त्यसको निराकरण गर्न सुझाव दिएको बताउनुभयो ।

धान जोन रहेको चितवन जिल्लामा हिउँदे र वर्षे गरी लगभग २८ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । चितवन जिल्लामा सालाखाला वार्षिक एक लाख २० हजारदेखि एक लाख २५ हजार हजार टन धान उत्पादन हुँदै आएको छ गोरखापत्र अनलाइनमा खबर छ ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments