जो आफ्नो मेहनतले उद्यमी बने

चितवन। परम्परागत कृषि, रोजगारी गर्ने पूर्खाहरुको पेशालाई छोडेर उद्योगतर्फ होमिएका युवाहरु आफ्नो मेहनतका कारण सफल भएका छन् ।

परम्परागत पेशा व्यवसाय छोडेर रोजगारीतर्फ नलागी आफैँ रोजगार सिर्जना गर्न लागेका उनीहरु अहिले सफल व्यवसायीका रुपमा पहिचान बनाउन पनि सफल भएका छन् ।

नेपालका प्रायः नागरिकमा पूर्खाहरुले गर्दै आएको पेशा व्यवसायलाई निरन्तरता दिने प्रचलन रहेको देखिन्छ । नेपाली समाजमा रोजगारीको अवस्था हेर्दा शिक्षक तथा कर्मचारीका छोराछोरी आफ्नै आमाबुबाकै पेशामा लाग्नेहरु धेरै भेटिन्छन् । तर पुख्र्याैली परम्परालाई पर छाडेर उद्योगतर्फ लाग्ने युवाहरु भने थोरै मात्र भेटिन्छन् । ती थोरै मध्येका चितवनका केही केही युवा छन् जो अहिले सफल व्यवसायीका रुपमा आफूलाई स्थापित गरेर समाजमा प्रेरणका स्रोतसमेत बन्न सफल छन् ।

भरतपुर महानगरपालिका वडा नं १० निवासी दिनुप बराल जिल्ला शिक्षा अधिकारीका छोरा छन् । उनको बुबा लामो समय विद्यालयको प्रधानाध्यापक भए। तर दिनुप भने आफ्नो शुरुवाती जीवन नै उद्योगतर्फ लगाए । निर्माण व्यवसायबाट उद्यमी बनेका बरालको भरतपुर महानगरपालिका वडा नं ४ मा इको पोलिमर उद्योग छ । जुन उद्योगले पानी ट्याङ्की, पिपिआर पाइप, पाइप फिटिङ, प्लाष्टिकका भाडा उत्पादन गर्दछ । यस उद्योगमा रु ५० करोडभन्दा बढी लगानी भएको बराल बताए।

उनको उद्योगमा ९० जनाभन्दा बढीले रोजगारी पाएका छन् । नौ वर्षअघिबाट युवा उद्यमी बरालको यो उद्योग सफलरुपमा चलिरहेको छ । उनले भने, “मेरो त सानैदेखि उद्योग गर्नुपर्छ भन्ने ध्यान थियो ।” बुबाले पनि उद्यमी बन्न आफूलाई प्रेरणा दिएको बराल बताउँछन् । रोजगारीबाट आफूलाई मात्रै हुने तर उद्योगले अरुलाई पनि रोजगारी दिनसक्ने भएकाले आफ्नो ध्यान उद्योगतर्फ गएको उनको भनाइ छ ।

भरतपुर महानगरपालिका वडा नं ३ बेलचोकका युवा उद्यमी लक्ष्मण अर्याल पनि नेपालका एक सुपरिचित उद्यमी छन् । उनी जस्मिन पेन्टस्, जगदम्बा प्लाष्टिक, सन केमिकल, एभोकार्डाे इन्टरनेशनल, टाटा मेटल एण्ड क्राफ्ट, निसिका फाउण्डेशन लगायतका संस्थासँग आबद्ध छन् । पुख्र्यौली व्यापारतर्फ नलागी अर्याल उद्योग क्षेत्रमा लागे ।

एभोकार्डाे व्यापार र फाउण्डेशन सामाजिक संस्था हुन् भने अन्य उद्योग हुन् । उनको दरबार फुड्स ‘नामक’ उद्योग पनि सञ्चालनको तयारीमा छ । जस्मिन एकल कम्पनी हो भने अन्य साझेदारी कम्पनी हुन् । अर्यालका अनुसार यी सबै कम्पनीमा रु पाँच अर्बभन्दा बढी लगानी भइसकेको छ । आफ्नो २५ वर्षको उद्यमी जीवनलाई सफल मान्ने उनले सानैबाट उद्योगमा आकर्षण भएको बताउँछन् । उनले भने, “आफू मात्रै नभएर देशका लागि केही दिन उद्योग नै गर्नुपर्छ भनेर यसतर्फ लागेको हुँ ।” देशलाई आत्मनिर्भर बनाउन उद्योगको विकास गर्नुपर्ने अर्यालको जोड छ । आफूले आम्दानी गरेको केही हिस्सा फाउण्डेशनमार्फत् सामाजिक क्षेत्रमा खर्च गर्ने गरेको उनले बताए ।

तेह्र वर्षको रोजगारीपछि उद्योगमा आएका शंकरप्रसाद कँडेल चितवनको कुखुरापालन (पोल्ट्री) क्षेत्रको एउटा चिनिएको नाम हो । आफ्ना पाका पुर्खा परम्परागत कृषि खेती भए पनि युवा उमेरदेखि नै कँडेल उद्योगतर्फ आकर्षित भए । उनको जीवनको १३ वर्षको जागिरे अनुभव अहिलेको आफ्नो उद्योगका लागि सहयोगी भएको महसुस उनको छ । अनमोल फिड्स प्रालि (कुखुराको दाना उद्योग) सँगै ह्याचरी पनि सञ्चालनमा छन् । सामूहिक व्यापारमा लागेका कँडेलको समूहले रु एक अर्बभन्दा बढी उद्योगमा लगानी गरेको छ ।

कँडेलले भने, “जागिर खाँदा मेरो लागि मात्रै हुन्थ्यो, अहिले धेरैका लागि रोजगारी भएको छ ।” देशैभर दाना पुर्याउँदै आएको अनमोलले धेरै किसानलाई स्वरोजगार बनाएको कँडेल बताउँछन् । तपाई कसरी उद्योगमा आउनु भयो ? भन्ने प्रश्नमा उनको जवाफ छ, “काम सिक्दै गएपछि साथीभाई मिलेर उद्योग गर्ने सोचको विकास भयो ।”

उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेल तीन वटा उद्योगका मालिक छन् । भरतपुर महानगरपालिका वडा नं १५ निवासी पौडेलका लाइभ केयर फर्मास्युटिकल्स, हाइड्रो केयर इन्टरनेशनल, रोज प्रिन्टिङ एण्ड प्याकेजिङ उद्योग रहेका छन् । यसैगरी प्रिकेयर ‘इन्टरनेशनल’ नामक व्यापार कम्पनी पनि छ उनको । यी कम्पनीहरुमा रु ४० करोडभन्दा बढी लगानी भएको उनले जानकारी दिए ।

यी उद्योगहरुमा उनले नै नेतृत्व गर्नुहुन्छ र केही साझेदारहरु पनि रहेका छन् । पन्ध्र वर्षअघिदेखि उनका यी उद्योग सफलरुपमा चलिरहेका छन् । बुबा शिक्षक भएकाले पढाइमा उनको ध्यान गयो । तर पढाई् पूरा गरेसँगै उनले रोजगारी त गरे त्यसबाट अनुभव सँगालेर उद्योगतर्फ लाग्नुभयो । पौडेलले भने, “मैले शुरुमा तीन वर्ष छ महिना रोजगारी गरेँ, त्यहीँबाट सिकेको सीपले उद्योग खोल्न सहज भयो ।”

उद्योग खोल्नुअघि ‘लाइभ केयर’ नामक कम्पनीसँगै मल्टिनेशनल कम्पनीमा पनि छोटो समय उनले रोजगारी गरे । तत्कालीन त्रिभुवन विश्वविद्यालयको रामपुर क्याम्पसबाट कृषिमा स्नातक गरेका पौडेलले पछि अर्थशास्त्रमा स्नातकोत्तर गरे । यो पढाइले उनलाई रोजगारतर्फ नलगी उद्योगी बनायो । उनले भने, “पढाइ सकेर घरमै कृषि कर्ममा लागेको थिएँ, साथीभाइले रोजगारीमा ल्याए, रोजगारीले उद्योगी बनायो ।”

पछिल्लो समय आधुनिक पोल्ट्री व्यवसायमा लागेका रत्ननगरका बिनोद पोखरेलको पुख्र्यौली पेशा ठेक्कापट्टा हो । तर अहिले उनले आफ्नो परिचय नेपालको चिनिएको पोल्ट्री व्यवसायी बनाइसक्नुभएको छ । रत्ननगरमा किसान दाना उद्योग र दाउन्ने भेट फर्मा उनकै नेतृत्वमा चलेको छ । नवलपरासी (सुस्ता त्रिवेणीपूर्व) को बिनय त्रिवेणी गाउँपालिकामा उनको ठूलो कुखुरा फर्म छ । जहाँ दाउन्ने एग्रोफर्म, किसान एग्रो फर्म र एड्भान्स पोल्ट्री फर्म पनि सञ्चालनमा छन् । यस क्षेत्रमा मात्रै रु एक अर्ब ५० करोडभन्दा बढी लगानी भएको पोखरेल बताउँछन्।

पोल्ट्री क्षेत्रका व्यवसायीहरुको साझेदारी रहेको यस कम्पनीको नेतृत्व पोखरेलले गर्दै आएका छन्। विगत २७ वर्षदेखि आफू पोल्ट्री क्षेत्रको उद्योगी हुँदै आएको उनी बताउँछन् । उनले भने, “मैले आफू स्वतन्त्र भएर काम गर्नका लागि जागिर नरोजी उद्योगतर्फ लागेँ ।” यसबाट धेरैलाई रोजगारी दिन पाएकामा खुशी लागेको भन्दै उनले निरन्तर मेहनत गर्यो भने सफल भइन्छ भन्ने आफूले अनुभव गरेको सुनाए। नेपालमा अहिले अण्डाको सबैभन्दा ठूलो व्यापारीका रुपमा पोखरेल चिनिनु हुन्छ ।

कलिलो उमेरमा विदेश गएकाहरु पनि स्वदेश फर्किएर उद्योगमा लाग्नेहरुको सङ्ख्या ठूलो छ । युवा उद्यमी एवं उद्योग वाणिज्य महासंघ वाग्मतीका उपाध्यक्ष राजन गौतम पुरानो पेशालाई निरन्तरता दिनेभन्दा नयाँ उद्यमी बन्नेक्रम बढेको बताउँछन् । पछिल्लो १० वर्षको अवधिमा युवामा अब नेपालमा सहज वातावरण बन्छ भन्ने लागेर उद्योगतर्फ आकर्षित हुनेको संख्या बढेको उनको भनाइ छ ।

गौतमले भने, “उद्योग गर्ने वातावरण सन्तोषजनक नभए पनि केही त गर्नैपर्छ भन्ने भावनाका साथ लाग्नेहरुको सङ्ख्या पनि ठूलो छ ।” विदेशमा गएर आर्जन गरेको लगानीले नेपालमा उद्योग खोल्ने क्रम पनि बढेको उनले बताए। उनले भन्ने, “पछिल्लो समय रेमिट्यान्सलाई उद्योगमा लगाउनुपर्छ भन्ने भावनाको विकास भएको छ ।” बैंकहरुले उद्योगलाई प्राथमिकतामा राखेर ऋण लगानी गर्न थालेपछि थप आकर्षण बढेको गौतमको अनुभव छ ।

सफल यी युवा उद्यमीहरु युवालाई जागिरमाभन्दा सानै भए पनि उद्योगतर्फ लाग्न आग्रह गर्छन् । नेपालमा उद्योगको सम्भावना धेरै रहेको बताउँदै उनीहरुले विदेश जाने खर्चले त नेपालमै सानोतिनो उद्योग शुरु गर्न सकिने बताउँछन् । उनीहरुको भनाइ छ “एकै पटक ठूलो प्रतिफल नखोजी सानोबाट शुरु गर्ने हो भने नेपालमा उद्योग क्षेत्रको भविष्य उज्जवल छ ।” नेपालको परनिर्भरता घटाउन पनि राज्यले युवाहरुलाई उद्योगतर्फ आकर्षित गर्नुपर्ने सुझाव उनीहरुको छ ।

चितवन उद्योग सङ्घको तथ्याङ्कअनुसार जिल्लामा दुई हजारभन्दा बढी उद्योग रहेका छन् । ती उद्योगमध्ये ७० प्रतिशत पुख्र्यौली नभएर नयाँ युवाले सञ्चालन गरेका हुन् । चितवन जिल्लाको यो तथ्यले पनि उद्योग गर्ने युवा वर्गको जमात बढ्दै गएको देखिन्छ । स्वदेशमै केही गरौँ भन्ने भावनाले यसरी युवाहरुले स्वरोजगार तथा उद्यमशीलतालाई प्राथमिकतामा राखिदिए भने मात्र देशमा समृद्धि सम्भव छ ।

यसले हातमा सीप र जाँगर भएका युवाहरुलाई पनि स्वदेशमै रोक्न सक्नेछ र देशमा साना तथा घरेलु हुँदै ठूला उद्योगहरुको सम्भावना पनि बढ्दै जानेछ । यसरी समृद्धि उद्यमबाट मात्र सम्भव छ भन्ने तथ्य देशव्यापी बनाउनु आवश्यक छ । अन्तर्राष्ट्रिय युवा दिवसको आजको अवसरले नेपालका युवाहरुलाई यही सन्देश दिन सकोस् । रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments