पहिलोपटक १० वटा बिरुवा रोपेको ५४ वर्ष पुग्यो : मुस्ताङमा स्याउको इतिहास

तारानाथ आचार्य
मुस्ताङमा स्याउ फल्न थालेको ५० वर्ष भयो । यहाँ पहिलोपटक १० वटा बिरुवा रोपेको ५४ वर्ष पुग्यो । परीक्षणका लागि रोपिएका बिरुवाले फल दिन थालेपछि शुरु भएको हो मुस्ताङमा स्याउको व्यावसायिक खेती । अन्न उब्जने जमिनमा पतझर बिरुवा नलगाउने भनेर उफ्रिएका मुस्ताङका नागरिकले लटरम्म फलेका १० बिरुवा देखेर आफ्नो बारी सजाउने सपना देखेका थिए ।

तिनै किसानको सपना पूरा हुँदा मुस्ताङले परिचय फेरेको छ । मुस्ताङमा प्रायः पानी पर्दैन । चर्को घाम लाग्ने, तर पानी नपर्ने भएकाले यहाँको स्याउमा स्वाद र रङ्ग भरिन्छ । यहाँको स्याउको विशेषता भनेकै स्वाद र रङ्ग हो । रसिलो, गुलियो र हेर्दा रातो देखिने स्याउले नेपाली मात्रै होइन, विदेशीलाई आकर्षित गर्छ । चिसो हावापानी, हिउँदमा हिउँ र वर्षात्को समयमा चर्को घामले स्याउको फल विकासमा सघाउने स्याउ जोन कार्यक्रमका संयोजक माधव लम्साल बताउँछन् ।

मुस्ताङको एक हजार २०० हेक्टर जमिनमा अहिले स्याउका बिरुवा छन् । पाँच सय हेक्टर जमिनमा रहेका बोटबाट किसानले फसल लिने गरेका छन् । बाँकी सात हेक्टर जमिनमा नयाँ बिरुवा लगाइएको छ । स्याउका बिरुवा उत्पादनसमेत मुस्ताङमा हुन्छ । यहाँ पाउने स्याउ धेरै प्रजातिका छन् । रङ्गको हिसाबले सेतो र रातो स्याउ मुस्ताङमा पाइन्छ ।

विसं २०२३ मा म्याग्दीमा जन्मेर मुस्ताङमा हुर्केका बुद्धिरत्न शेरचनले मुस्ताङमा स्याउ पुर्याएको इतिहास छ । भारतमा कृषि विज्ञान पढ्न गएका बेला उत्तरका भू–भागहरूमा फलेको स्याउ देखेर मुस्ताङमा स्याउखेतीको परिकल्पना गरेका शेरचनलाई दरिलो साथ दिने काम त्यहाँका तत्कालीन मुखिया इन्द्रमान शेरचनले गरे ।

सोही सालमा नै उनै इन्द्रमानको जमिनमा मुस्ताङमा पहिलोपटक १० वटा स्याउका बिरुवा रोपिएको थियो । कृषि विज्ञान पढेर आएका बुद्धिरत्नले २०२३ सालमा मुस्ताङकै मार्फामा बागवानी केन्द्र स्थापना गरे । सोही केन्द्रसँगको सम्पर्कमा आएका किसानले काश्मिरे स्याउको प्रतिस्थापन गर्न मुस्ताङमा स्याउ फलाउन थाले । मुस्ताङबाट शुरु भएको स्याउखेती अहिले देशभर फैलिएको छ ।

पहिले मुस्ताङको मुहार फेर्न स्याउखेती गरौँभन्दा अटेरी गर्नेहरू अहिले स्याउबाट आम्दानी मात्रै गरिरहेका छैनन् स्याउ फल्ने गाउँका भनेर आफूलाई चिनाउँछन् । मुस्ताङको स्याउले बुद्धिरत्नको नाम नै ‘स्याउबाजे’ बनायो । हिउँले छोपिने उजाड मुस्ताङ रसिला स्याउको बगानले भरियो ।

मुस्ताङको मार्फा गाउँ स्याउ खेतीका लागि प्रचलित गाउँ हो । हिमाली जिल्ला म्याग्दीको सीमाभन्दा केहीपर कोबाङदेखि उपल्लो मुस्ताङको लोमान्थाङसम्म स्याउ फल्छ । स्याउ जोन कार्यक्रमले परीक्षणका रूपमा लोमान्थाङमा पछिल्लोपटक स्याउका बिरुवा लगाएको छ । सबैभन्दा धेरै र राम्रो स्याउ फल्ने क्षेत्र मार्फा हो । मार्फाकै नाममा मुस्ताङको स्याउको बजारीकरणसमेत हुने गरेको छ । रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments