जापानकाे गाई फार्मको अनुभवले नेपालमा भैंसी पालन

ठाकुरप्रसाद आचार्य

बेनी, आम नेपाली युवाको पहिलो रोजाइ विदेश त्यसमा पनि कोरीया वा जापान जान पाए त संसार जितेको सम्झने नेपालीका लागि बागलुङका सुनिल श्रेष्ठ भने फरक उदाहरण हुनुहुन्छ । उहाँले जापानमा आर्जन गरेको पूँजी र सीपलाई गाउँ फर्किएर भैंसी पालनमा लगाउनुभएको छ । दुई वर्ष जापानको गाई फार्ममा काम गर्नुभएका बागलुङका सुनिल श्रेष्ठले गाउँ फर्किएर व्यवसायिक रुपमा भैसीपालन थाल्नुभएको हो ।

बेनी नगरपालिका १ रत्नेचौरको भुवानेमा श्रेष्ठले करिब दुई करोड रुपियाँ लगानी गरेर भैंसीपालन व्यवसाय गर्नुभएको छ । गोठमा मुर्राजातका १६ दुहुना भैंसी र जर्सी जातका सात गाई छन् । सुनिल बागलुङ बजारका स्थायी वासिन्दा हुनुहुन्छ । रोजगारीको शिलशिलामा दुईवर्ष जापानमा विताउनुभएका सुनिल भिसाको म्याद छदै स्वदेश फर्किनुभएको हो । विदेशमा गर्ने श्रम र दुःख स्वदेशमै गर्नसके राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखाउन सुनिल गाउँ फर्किनुभएको हो ।

कृषिमा राम्रो संभावना मैले जापान पुगेर देखेँ सुनिलले भन्नुभयो ‘गाई फार्ममा काम गरेर धेरै सीप र अनुभव सिकेर स्वदेश फर्किएको हुँ ।’ कृषिमा लगानी गर्न सकेमा राम्रो पैसा कमाउन सकिन्छ भन्ने सोचले पशुपालन सुरु गरेको उहाँले बताउनुभयो । जापानमा सीकेको सीप र प्रवधिलाई उपयोग गर्न व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो ।

जापानमा गाई फार्ममा काम गरेको अनुभव संङ्गाल्नुभएका सुनिलमा त्यहाँ सिकेको सीप र अनुभवलाई नेपालमै उपयोग गर्ने सोच पलायो र नेपाल फर्किनुभयो । नेपाल फर्किएपछि विभिन्न क्षेत्रमा पुगेर पशुपालन व्यवसायको अवलोकन र बजार अध्ययन गरेको सुनिलको भनाई छ ।वार्षिक तीन लाख रुपियाँ बुझाउने गरी १२ वर्षका लागि ३५ रोपनी जग्गा भाडामा लिएर फार्मको संरचना निर्माण गर्दै हुनुहुन्छ । गत पुसबाट फार्म सञ्चालनमा ल्याउनुभएको सुनिलले यहाँ चार करोड रुपियाँ सम्म लगानी गर्ने योजना बुन्नुभएको छ ।

४४ वर्षीय सुनिलको पुर्खेउली पेशा बजारमा व्यापार गर्ने हो । तर सुनिल कृषिमा नयाँ प्रयोग गर्ने सोचका साथ रत्नेचौरमा आउनुभएको छ । धौलागिरि पशु तथा कृषि फार्म दर्ता गरेर पशुपालन सुरु गर्नुभएको उहाँले अहिले एककरोड २५ लाख लगानी गरेर भौतिक पूर्वाधार निर्माण गर्नुभएको छ । आगमी दिनमा लगानी बढाएर चार करोड रुपियाँ सम्म पु¥याउने र धौलागिरिमै नमुना कृषि फार्म बनाएर देखाउने सुनिलमा रहर जागेको छ ।

भैंसी पालनका साथै बाख्रा,कुखुरा,बंगुर र रिसोर्ट बनाउने योजना सुनिलले सुनाउनुभयो । दुई सय वटा उन्नतजातका भैंसी पाल्ने र धौलागिरिका नीन जिल्लाका सदरमुकामसम्म दुध पु¥याउने उहाँको योजना छ । फार्ममा अहिले दैनिक एकसय पचास लिटर दुध उत्पादन हुन्छ । उत्पादित दुध बागलुङ बजारमा खपत हुनेगरेको उहाँले बताउनुभयो । कोरोना भाइरसको महामारीका कारण यतिखेर दुध विक्रीमा समस्या आएको उहाँको भनाई छ ।

भैंसी र गाईको हेरचाह र दानापानी खुवाउन तीनजना कामदार राख्नुभएको छ । दुई वर्ष जापानको गाई फार्ममा काम गर्दा धेरै दुःख पाइयो, परिश्रम पनि धेरै गर्नुपर्ने सुनिलले भन्नुभयो ‘यहाँ गर्ने दुःख र परिश्रम त नेपालमै गरे पैसा कमाउन सकिन्छ भन्ने आटेर फर्किएको हुँ ।’ मेरा लागि पेशा नौलो भए पनि साहसका साथ काम गरियो भने सफल भईन्छ भन्ने मलाई विश्वास छ उहाँले भन्नुभयो । ‘वृहतखालको कृषि फार्म सञ्चालन गर्ने र युवाहरुलाई कृषि पेशाप्रति आकर्षण बढाउने मेरो चाहना छ, उहाँले भन्नुभयो ।’

बजारका छरछिमेकीहरुले सुरु सुरुमा दुःख पाउँछस वावु, त्यस्तो पेशा नगर भन्थे सुनिलले भन्नुभयो ‘अहिले फार्म हेर्न आउँछन र बधाई दिएर फर्किन्छन् ।’
स्थानीयवासीहरुको पनि साथ र सहयोग मिलेकाले आफूलाई उत्साह मिलेको उहाँको भनाई छ । खाली रहेको जग्गालाई उपलब्ध गराउन वडा कार्यालय लगायत स्थानीयवासीको सहयोग मिलेको सुनिलले बताउनुभयो ।

बागलुङबजारमा व्यापार व्यवसाय गरेका एक युवा रत्नचौरमा आएर नुमना कृषि फार्म सञ्चालन गर्नु उदाहरणीय कार्य भएको वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । वडाकै सहजीकरणमा खाली रहेको जग्गालाई भाडामा उपलब्ध गराउने काम गरेको उहाँले बताउनुभयो । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर वडा कार्यालयले कार्यक्रम बनाएको उहाँको भनाई छ । रत्नेचौरमा कृषिको राम्रो संभावना रहेको उहाँले बताउनुभयो ।गोरखापत्र

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments