कृषि उपजले बजार नपाउँदा पहाडका किसानको अवस्था दयनीय बन्दै

फिदिम :
कृषिमा व्यावसायिक बन्न नसक्दा कृषकको जीवनस्तर नसुध्रिएको विज्ञहरूको ठहर छ। किसानले भोगिरहेको समस्या निदानको एक मात्र उपाय कृषिको व्यवसायीकरण नै हो भन्नेमा पनि विज्ञहरू एकमत छन्। सोहीअनुरूप व्यावसायिक खेतीका लागि राज्यले किसानलाई प्रोत्साहनसमेत गर्न थालेको छ। किसान पनि क्रमशः खेतीमा व्यावसायिक बन्दै छन्। कृषक व्यावसायिक बने पनि कृषि उपजलाई बजारीकरण गर्न नसक्दा समस्या झन् विकराल बन्दै छ। जसले गर्दा खेती प्रणालीमा परिवर्तन त हुँदै छ तर किसानले भोग्ने पीडाको पुरानो दृश्य झन् गाढा बन्दै छ।

व्यावसायिक रूपमा उत्पादन गरेको कृषि उपजले बजार नपाउँदा किसानको अवस्था झन् दयनीय बन्दै गएको हो। ‘व्यावसायिक रूपमा उत्पादन गरेको कृषि उपजले बजार नै पाउँदैन,’ नवमीडाँडाका किसान नारायण तिम्सिना भन्छन् ‘जे उत्पादन भइरहेको छ त्यसले मूल्य पाउँदैन जे छैन त्यसको माग बढी हुन्छ।’ राम्रो मूल्य पाइरहेको कृषि उपजले उत्पादन सुरु भएपछि बजार नपाउने स्थिति छ।’ व्यावसायिक रूपमा उत्पादन गरेको कृषि उपजले बजार नपाउँदा किसानको अनुहार झन् मलीन बनेको हो।

फाट्टफुट्ट उत्पादन गर्दा राम्रो मूल्य पाएको कृषि उपजले व्यावसायिक उत्पादन गर्न थालेपछि बजार नै नपाउने समस्या विकराल बन्दै गइरहेको छ। निर्वाहमुखी खेती छाडेर व्यावसायिक खेतीमा होमिएकी मन्दिरा लिम्बू खेतीमा व्यावसायिक बन्दा ठक्करै मात्र खाएको व्यथा सुनाउँछिन्। ‘खेतीमा व्यावसायिक बनेपछि त झन् छाक टार्नै समस्या हुने भो,’ उनले भनिन् ‘उत्पादित वस्तु बिक्री नभएपछि दैनिकी कसरी चलाउनु ? ’ मन्दिराले धान, मकै र कोदोको खेती गरिरहेका बेला अदुवाले मूल्य पाएको थियो। अदुवाको व्यावसायिक उत्पादनमा लागेपछि उत्पादित अदुवा बिक्री नै भएन। अदुवा नबिकेर निरास भएका बेला गोलभेंडाको मूल्य अकासिएको थियो। मन्दिरा र उनीजस्तै खेती गर्ने गाउँका अधिकांश किसान गोलभेंडा खेतीमा व्यावसायिक बने। केही वर्ष राम्रो मूल्य पाएको गोलभेंडाले यो साल बजार नै नपाएपछि करोडौं मूल्य बराबरको गोलभेंडा बारीमै कुहियो। गोलभेंडाको व्यावसायिक उत्पादनमा लागेका किसानलाई अहिले दैनिकी चलाउनमै हम्मे परेको छ।

‘किसानलाई चोटमाथि चोट थपिएको छ,’ अमरपुरका किसान मचिन्द्र रिजालले भने, ‘अदुवा उत्पादन गर्दा अदुवा बिकेन। गोलभेंडा उत्पादन गरौं बिक्दैन। व्यावसायिक रूपमा दूध उत्पादन गर्न थालेको दूध बिक्री नै हुन छाडेको छ। प्रतिमन एक लाखसम्म बिक्री हुने गरेको अलैँचीको मूल्य घटेर २० हजारमा आएको छ। उत्पादन गरेका बेला चिराइतो र कुचोले पनि मूल्य पाएन। अब किसान कसरी बाँच्नु ? ’

प्रतिमन २५ हजारमा कारोबार भएको चिराइतोको मूल्य घटेर अहिले ५ हजार मात्र भएको छ। प्रतिमन एक लाखसम्म मूल्य पाएको अलैंचीको मूल्य पाँच गुणा घटेको हो। विगत वर्षमा राम्रो मूल्य पाएको गोलभेंडाले बजार नै नपाएको हो। व्यावसायिक रूपमा दूध उत्पादन गर्न थालेपछि घ्यू र छुर्पीले पनि बजार पाउन छाडेको हो। उत्पादन गरेका बेला मूल्य घटेको कुचो र अदुवाको मूल्य केही सुधार भएको छ। तर, उत्पादन सुरु भएपछि फेरि मूल्य घट्ने किसान बताउँछन्।

बजार अध्ययन नगरी व्यावसायिक उत्पादनलाई मात्र ध्यान दिँदा उत्पादित वस्तुले मूल्य नपाउने गरेको हो। कृषिको व्यापारमा भारतको एकाधिकार भएकाले किसानले समस्या झेल्ने गरेको कृषक समूह महासंघका अध्यक्ष गणेश पोखरेलको भनाइ छ। ‘विद्यमान समस्याबाट मुक्ति पाउन स्वदेशी बजारको खोजी गर्नुपर्छ,’ उनी भन्छन्। कृषिप्रधान देशका किसान मारमा पर्दा पनि सरकार मौन बसेको किसानको आरोप छ। समस्या समाधानका लागि राज्यले ठोस कदम चाल्नुपर्ने उनीहरूको माग छ। ‘उत्पादित वस्तुको न्यूनतम समर्थन मूल्य सरकारले तोक्नुपर्छ,’ याङनामका किसान याम कुरुङबाङले भने, ‘न्यूनतम समर्थन मूल्य सरकारले तोक्ने हो भने मात्र किसानलाई थोरै राहत मिल्नेछ।’ समस्या समाधानका लागि स्पष्ट कृषि नीति बनाउनुपर्ने, भारतबाहेक अन्य देशमा पनि बजार खोजी गर्नुपर्ने, नेपालमै कृषिउपजको प्रशोधन केन्द्र खोल्न राज्यले लगानी गर्नुपर्नेलगायत किसानको माग छ।

अन्नपुर्णपोस्ट

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments