सिंघाराखेतीबाट किसान सन्तुष्ट

जलेश्वर : वर्षाले दुई पटकको धानबाली र एक पटकको रहरखेती खाइदिएपछि निरास र असहाय बनेका जलेश्वर नगरपालिका– ६ का श्रीचन मुखियाको अनुहारमा सिंघारा (फल) खेतीले खुशियाली ल्याएको छ ।

वर्षा र बाढीका कारण खेतबारी डुुब्दा आर्थिकरुपमा कमजोर भइसकेका श्रीचन आफ्नो एक बिगाहाभन्दा बढी खेतमा लगाएको सिंघाराखेतीले राम्रो उब्जनी दिएपछि अहिले भने खुशी छन्। उनले आफूले गुमाएको सबै क्षति अहिले सिंघारा बेचेर प्राप्त भइरहेको बताउँछन् ।

मनसुन आउनुभन्दा पहिलेदेखि नै जिल्लामा परेको पानीले यसपाली राम्रो धानबाली हुने आशाले जलेश्वर नपा– ८ का अरुण पाण्डेले पनि डेढ बिगाहा बढी जग्गामा धानखेती गरेका थिए । धानबाली राम्रो सप्रेको पनि थियो । तर लगातारको वर्षाले उनको पनि खेती डुबानमा पार्यो, हजारौँको क्षति भयो ।

डुबानमा परेको खेतमा अरुले सिंघारा लगाएको देखेर आफूले पनि सिंघारा रोपे । अहिले यो खेतीले राम्रो उब्जनी दिएपछि उनी पनि दङ्ग परेका छन् । प्रत्येक दुई/तीन दिनमा पाँचदेखि सात हजारको सिंघारा बेच्ने गरेको उनी बताउँछन् ।

जलेश्वर नपा–२ बस्ने शङ्कर कापरले हजारौँ खर्चेर लगाएको धानबाली बाढीले नष्ट गरिदियो । त्यसपछि सिंघारा खेतीतर्फ लगेका उनी पनि राम्रो आम्दानी गर्न सफल भएको बताउँछन् । यी तीन जना किसानबाहेक पनि अहिले जलेश्वर नगरपालिका र वरपरको पानी जमेको खेत र खाल्डाखुल्डीमा सिंघाराखेती गरेर राम्रो आम्दानी गर्न दर्जनौँ किसान सफल भएका छन् । प्रायः प्रत्येक वर्ष डुबानको जोखिममा रहेको जलेश्वर क्षेत्रका किसानको थोरै लगानी र कम मेहनतमा मनग्य आम्दानी हुने भएकोले पछिल्लो केही वर्षदेखि सिंघारा खेतीतर्फ आकर्षण बढेको छ ।

धानखेती र अन्य बालीभन्दा यसमै मनग्य आम्दानी हुने देखेपछि अहिले महोत्तरीको सदरमुकाम जलेश्वर र वरिपरिका सयौँ बिगाहा पानी जमेको जग्गामा सिंघाराखेती गरिएको छ । जमेको पानीमा लहरामा फल्ने सिंघारा एक प्रकारको गुलियो र स्वस्थ फल हो । काँडेदार र गुलाफी रंगको सुन्दर देखिने यो फल मीठो र पौष्टिक पनि हुन्छ । त्यसैले पछिल्लो समय निकै लोकप्रिय रहेको छ ।

यस वर्ष जिल्लामा पटकपटक भएको भारी वर्षाका कारण जताततै पानी जमेको हुनाले जलेश्वर नगरपालिका र वरिपरिका गहिरो खेत, तलाउ र पोखरीमा ठूलोमात्रामा सिंघाराखेती गरिएको छ । कम मेहनत र थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने भएकाले जलेश्वर र वरिपरिका धेरै किसान यसपाली सिंघाराखेतीतर्फ आकर्षित भएको जलेश्वर १२ का किसान रामजी रायले बताए ।

वर्षौंदेखि बाढी र वर्षाको पानीका कारण वर्षभरि नै जलाशय बनिरहने स्थानमा यस वर्ष एक सय बढी किसान परिवारले सिंघाराखेती गरेको जलेश्वर नपा– ३ का किसान सिरिया बिनले बताए ।

मीठो र लोकप्रिय सिंघारा प्रत्येक वर्ष असोज महिनादेखि नै तयार हुन्छ भने स्थानीय बजारमा प्रतिकिलो फलको आकार हेरी कम्तीमा रु ४० देखि बढीमा रु १०० सम्ममा बिक्री हुने गरेको र यसबाट आफूहरुले प्रत्येक वर्ष लाखौँ आम्दानी गर्ने गरेको जलेश्वर ५ का किसान बुधवा केवटले बताए।

मिथिलाञ्चलभरि पूजाआजामा प्रसादका रुपमा समेत प्रयोग हुने सिंघारा बालबालिका, बुढापाका र पेटका रोगीहरुले बढी मन पराउने गर्दछन् । सिंघारा खेतीमा लागेको किसान स्थानीय बजारदेखि सीमापारीका भारतीय बजारमा लगेर पनि बेचेर प्रतिकिसान रु दुईदेखि तीन लाखसम्म आम्दानी गर्ने गरेको जलेश्वर नपा– २ का किसान भरत चौधरी बताए।

जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृपाशंकर साहले सिंघारा खेतीलाई प्रवद्र्धन गर्नुपर्ने र मौसमी उद्योगकैरुपमा विकास गर्नुपर्ने बताउँछन् । जलेश्वर नपा क्षेत्रको सयौँ बिगाहा जलाशयमा गरिएको सिंघारा खेतीबाट राम्रो आम्दानी हुने गरेको देखेर अहिले जिल्लाको अन्य नगरपालिका र गाउँपालिकामा पनि सिंघारा खेती गर्ने किसान बढ्दै गएका छन् ।

बाढी र वर्षाको प्रत्यक्ष मारमा पर्ने जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित मटिहानी नगरपालिका, पिपरा गाउँपालिका, एकडारा गाउँपाकिला र मनरा नगरपालिका क्षेत्रमा पनि सिंघारा खेती हुन थालेको बुझिएको छ । शुरुमा प्राविधिक ज्ञान नभएर कसरी लगाउने, कति लगाउने र कहाँ लगाउने भन्नेबारेमा थाहा नभएको एकडारा गाउँपालिकाका किसानले राम्रोसँग खेती नभएको र आम्दानी पनि खासै नभएको गुनासो गरे पनि अहिले विस्तारै सिंघारा खेती गर्ने किसान बढ्दै गएको स्थानीय पत्रकार गोपाल झाले बताए।

त्यस्तै प्राविधक ज्ञानकै अभावमा एक÷दुई वर्ष राम्रो उब्जनी गर्न असफल रहेका मनरासिस्वा नगरपालिका–१० का किसान पनि अहिले जलेश्वर र वरपरका किसानले सिंघाराखेती गर्ने गरेका तरिका सिकेर राम्रो उब्जनी र आम्दानी गर्न सफल भएको स्थानीय राजनीतिकर्मी चन्दन दुबेले बताए ।

मटिहानी नगरपालिकाका किसान ज्ञानसीप नभएका कारण सिंघाराखेती गर्न आनाकानी गरिरहेका बेला बाढीले धानबाली नष्ट बनाइदिएपछि बाध्य भएर यसपालि गरेको सिंघारा खेती निकै सप्रिएर राम्रो फल दिएको र बिक्री हुन थालेपछि हर्षित भएको अर्का किसान शङ्कर मण्डलले बताए।

बढी आम्दानी गर्ने किसानले व्यावसायिकरुपमै खेत तथा जलाशयमा गरेको सिंघारा खेतीले राम्रो आम्दानी दिएपछि अहिले महोत्तरीस्थित नेपाल भारत सीमा र सडकका पेटीमा रहेका ससाना खाल्डाखुल्डीमा समेत यसको खेती थालेका छन् ।

सिंघारा खेतीले दिएको आम्दानीबाट अन्य आवश्यक अन्नबाली किन्न सहज भएको र आर्थिकरुपमा पनि सबल हुँदै गएको निष्कर्ष निकाल्दै यस क्षेत्रका सिंघारा खेतीमा लागेका किसानले सरकारले प्राविधिक सहयोग, आर्थिक अनुदान र अन्य सुविधा दिनुपर्ने माग गरेका छन् । रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments