बाख्रापालन फस्टाएको गाउँ ,बाख्रा बेचेर वर्षमा एक करोड रुपैयाँभन्दा धेरै

चितवन — कोराक चितवनको पहाडी गाउँ हो । चेपाङ र तामाङ समुदायको बसोबास भएको यहाँ अन्य जातिको फाट्टफुट्ट बसोबास छन् । अन्न राम्रो नफल्ने, यातायात पनि नपुगेको यो ठाउँ केही वर्षअघिसम्म विकट गाउँका रूपमा परिचित थियो ।

अहिले पनि अवस्थामा ठूलै परिवर्तन भएको छैन । तर आर्जनमा भने अगाडि बढेको छ । यो ठाउँमा बाख्रापालन फस्टाएको छ । बाख्रा बेचेर वर्षमा एक करोड रुपैयाँभन्दा धेरै गाउँ भित्रिन्छ ।

कोराक खहरेको कमिन चुली महिला बचत तथा ऋण सहकारी संस्थाले बाख्रापालनका लागि आफ्ना सेयर सदस्यलाई उत्प्रेरित गर्दै आएको छ । बाख्रा खरिद गर्न ऋण दिने, नश्ल सुधारका कार्यक्रम ल्याउने र खसीबोकाको बजार खोज्ने कामसमेत सहकारीले गर्दै आएको अध्यक्ष अम्बिका लामाले बताइन् । ६ वर्षअघि खुलेको सहकारीमा ८ सय ८५ जना सेयर सदस्य छन् । प्रायःका घरमा बाख्रा देखिन थालेको छ ।

गत वर्ष सहकारीले ९ सय ४४ वटा खसी बिक्री गरेको सहकारीकी व्यवस्थापक शान्ति तामाङ थियो । जसबाट एक करोड तीन लाख नौ हजार ६ सय ३७ रुपैयाँ बराबर आम्दानी भयो । ‘यो भनेको सहकारीमार्फत जजसले खसीबोका बिक्री गर्नुभयो, उहाँहरूको विवरण राख्दा देखिएको हिसाब हो । किसानले सिधै खसीबोका बिक्री पनि गर्छन् । त्यसैले गाउँबाट योभन्दा धेरै खसी बिक्री भएका छन्,’ व्यवस्थापक तामाङले भनिन् ।

सहकारी ६ वर्षअघि खुले पनि बाख्रापालनका क्षेत्रमा लगानी र कार्यक्रम गर्न थालेको दुई वर्ष जति मात्रै भएको छ । गत वर्ष खसीबोका जोखेर बिक्री गर्ने नियम बन्यो । यसले गर्दा किसानले उचित मूल्य पाउन थालेको अध्यक्ष लामाले बताइन् । ‘गत वर्षकै कुरो हो, एक जना किसानले नौवटा खसी व्यापारीलाई दिन लाग्दा ९० हजार रुपैयाँ दिन्छु भनेछ । यहाँ जोखेर बेच्दा त्यसको मूल्य एक लाख १४ हजार पर्‍यो,’ लामाले भनिन् ।

सहकारीबाट सुविधा हुन थालेपछि किसान बिक्रीका लागि सहकारी नै आउने बढेको उनको भनाइ छ । ‘नभए घरघरबाटै बिक्री हुन्थ्यो । अझै पनि हुन्छ । वर्षमा एक डेढ लाखदेखि चार लाख रुपैयाँसम्म खसी बोका बेचेरै कमाउँछन्,’ उनले भनिन् ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको खुरखुरे वा वीरेन्द्रनगरबाट उत्तर ११ किलोमिटर हिँडेपछि कोराक टेकिन्छ । गाउँमा १० वर्षयता बाटोघाटो विस्तार भएपछि बल्ल चहलपहल बढेको उनले बताइन् । ‘नभए सुविधा केही थिएन । उब्जनी हुन्थेन । मान्छेहरू पढेलेखेका थिएनन् । दुःख गरेर गुजारा गर्दथे । जागिर खाउँला थिएन । उही ज्यालामजदुरी गरेर चामल किन्ने खाने । नसके गिट्ठा भ्याकुरले गुजारा चलाउने न हो,’ लामाले भनिन् । बाटो गयो, पिच भयो त्यसपछि गाउँलेले टनेलमा तरकारी खेती र बाख्रापालन सुरु गरेको उनले बताइन् ।

सुरुमा स्थानीय जातका ससाना बाख्रा थिए । घामपानी ओत्ने छाप्रो बनाएर बाख्रा बाँध्ने चलन थियो । ‘अहिले विकासे जातका बाख्रा अनि बोका गाउँमा छन्,’ लामाले भनिन् । गाउँ पस्ने गाडीले खसी र तरकारी बोक्न थालेका छन् । कोराक खहरेका दिलबहादुर चेपाङ घर बनाउने काम गर्न जिल्ला बाहिर जान्छन् । विदेश पनि गएर आए । श्रीमती मनमाया चेपाङले भने राम्रो खोर बनाएर बाख्रापालन गरेकी छन् । ‘अब विदेश गएर कमाएको जस्तो टन्न त के हुन्थ्यो र तर बाख्रा राम्रोसँग पाल्दा काम गर्न विदेश नै जाऊँ भन्ने हुँदो रहेनछ । आम्दानी चित्तबुझ्दो नै छ,’ दिलबहादुरले भने । खहरेकै युवराज मोक्तान पनि विदेशबाट फर्केर अहिले घरमै छन् ।

‘विदेशमा महिनाको ६० हजार कमाइ हुन्थ्यो । तर उमेर ढल्कँदै गयो । सधैं विदेश बस्न नसकिने । घर फर्केर दुई वर्षयता बाख्रा पाल्न थालेको छु,’ युवराजले भने । उनको खोरमा १४ वटा बाख्रा छ । गत वर्ष उनले सवा लाख रुपैयाँ जतिको खसीबोका बिक्री गरे । यो वर्ष पनि १० वटा खसी छन् । बाख्रा पालेसँगै तरकारी खेती र अन्य जंगलले घेरिएको ठाउँ भएको हुँदा चराउन र घाँस जुटाउन गाह्रो छैन । बाख्रा पाल्न थालेपछि महिलासँग पुरुष पनि मिलेर आम्दानीको काम गर्न थालेको सहकारी अध्यक्ष लामा बताउँछिन् । -कान्तिपुर

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments