फ्रेस हाउसको मासु किन्ने बढ्दै

बिर्तामोड। झापा बिर्तामोड नगरपालिका-१ स्थित हाम्रो फ्रेस हाउसमा अहिले मासु किन्ने ग्राहकको सङ्ख्या बढेको छ। केही समयअघिसम्म सडकपेटीमा मासु पसल सञ्चालन गर्दै आएकी इन्दिरा चम्लागाईंले व्यवस्थितरूपमा मासु पसल सञ्चालनमा ल्याएपछि उनको पसलमा ग्राहकको सङ्ख्या बढेको हो।

बिर्तामोड नगरपालिकाले मासु पसलको गुणस्तर सुधारका लागि अनुदान कार्यक्रम सञ्चालन गरेपछि चम्लागाईं अहिले सडकपेटीको मासु पसलबाट व्यवस्थित फ्रेस हाउसमा सरेकी हो। मासु पसलको गुणस्तर सुधारका लागि नगरपालिकाले एक लाख र सहारा नेपालले एक लाख अनुदान दिएको थियो।

अनुदान पाएपछि आफूले खोलेको पसलको रूप नै फेरिएको उनको भनाइ थियो। “केही समयअगाडिसम्म सडक किनारमा मासु काटेर व्यवसाय गर्दैै आएको थिएँ”, चम्लागाईंले भनिन्, “यो कार्यक्रम बरदान साबित भएको छ, पसल व्यवस्थित भएसँगै ग्राहक पनि बढेका छन्।”

इन्दिराजस्तै बिर्तामोड-१ स्थित पञ्चकन्या टोलमा सोल्टी फ्रेस हाउस खोल्नुभएकी सञ्जिता लावती पनि खुशी छिन्। उनको फ्रेस हाउस धेरै सफा र आकर्षक पनि छ। पसलका सबै सामग्री नयाँ र आधुनिक छन्।

पसलको गुणस्तर सुधार हुनुअघि र पछि धेरै फरक आएको उनको अनुभव छ। “म आफैँ पसल चलाउँछु”, सञ्जिताले भनिन्, “धेरै मिहिनेत पनि गर्न परेन, सजिलो भएको छ।”

नगरपालिकाले नगर हाताभित्र रहेका मासु पसललाई व्यवस्थित गर्न थालेको हो। नगरक्षेत्रमा स्वच्छ र स्वस्थ्य मासु बिक्री वितरण गर्ने वातावरण सिर्जना गर्न नगरपालिकाले मासु पसल सुधार कार्यक्रम सञ्चालन गरेको उपप्रमुख पवित्रा महताराले बताए।

नगरपालिकाले आफ्नो क्षेत्रका मासु पसलेहरूलाई सहयोग पुगोस् भनेर यो कार्यक्रम अगाडि ल्याएको उनको भनाइ थियो। “नगरपालिकाले यस कार्यक्रमलाई विशेष ध्यान दिएको छ”, उपप्रमुख महताराले भनिन्, “हामीले स्वच्छ तथा सफा मासु खानका लागि विशेष जोड दिएका छौँ।”

यस कार्यक्रममा मासु पसलेले फ्रिजमा राखेको मासुमात्र बिक्री गर्नुपर्ने, कुखुरा भुत्ल्याउन डिफ्रिजिङ मसिन प्रयोग गर्नुपर्ने, मासु काट्ने परम्परागत औजार र अचानोको पनि प्रयोग गर्न नहुने व्यवस्था छ। सहारा नेपालका पशु चिकित्सक कमलेश्वर भाटका अनुसार नगरपालिकासँगको साझेदारीमा यो अभियान चालाइएपछि फ्रेस हाउसको गुणस्तरमा धेरै सुधार आएको छ।

फ्रिजको मासु प्रयोग गर्ने संस्कार बढाउनका लागि यो अभियान शुरु गरिएको उक्त संस्थाका सञ्चालक सदस्य शङ्करप्रसाद रिजालले बताए।

“यो कार्यक्रमलाई निरन्तरता दिइएको छ”, उनले भने, “यस वर्ष पनि नगरक्षेत्रका अरू पसल छनोट गरिने र उनीहरूलाई पनि कार्यक्रममा आबद्ध गराइनेछ।” नगरपालिका र सहाराको संयुक्त साझेदारीमा थालिएको यो कार्यक्रमअन्तर्गत नगर क्षेत्रका २० वटा मासु पसललाई अनुदान दिइएको थियो। -रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

यो पढ्नुभयो त ?