सचेत रहौ- अनलाइन मार्फत २८ लाख ठगी गर्ने उत्सव पक्राउ

१० जेठ, काठमाडौं ।  सामाजिक संजालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ कालधारा सोह्रखुट्टे बस्ने दोलखा शैलुङ गाउँपालिका-८ शैलुङगेश्वरी ठेगाना भएका ३५ वर्षीय उत्सव श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल वाट्सएप, ईमो, बोटिम, भाइबरको दुरुपयोग गरी पीडितहरुलाई आफू कम्बोडियास्थित क्यासिनोमा काम गर्ने व्यक्ति हो, अमेरिकाबाट संचालन भएको लटरी मार्फत ६ लाख २७ हजार ६ सय ११ युरो डलर परेको छ र उक्त रकम पाउनका लागि बिभिन्न भ्रमपूर्ण म्यासेज पठाई पीडितहरुलाई बिश्वासमा पारी नेपालमा रहेका विभिन्न ब्यक्तिहरुको बैंक खातामा रकम जम्मा गर्न लगाई नगद २८ लाख ७९ हजार रूपैयाँ रकम ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले लटरीको रकम आएपछि नेपालमा घर, गाडी खरिद गर्न सकिने र रकम पाउनको लागि प्रोसेसिङ गर्ने कम्पनीका वकिल कम्बोडियामा आई बसेको हुँदा वकिलको खाने, बस्ने, प्लेन टिकटको व्यवस्था तथा वकिललाई अग्रिम फि चाहिन्छ, निजको आवतजावत व्यवस्थापन गर्नको लागि १ हजार ५ सय युरो लाग्छ भन्ने जस्ता विभिन्न भ्रमपूर्ण म्यासेज पठाई पीडितहरुबाट उक्त रकम ठगी गरेको खुल्न आएको हो ।

उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments