रोपाइँ सुरु नहुँदै सरकारले पहिलो पटक धानको मूल्य तोक्यो
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि धानको समर्थन मूल्य तोकेको छ । पहिलो पटक रोपाइँ सक्नुअघि नै धानको समर्थन मूल्य तोकेको हो ।
हिजो बसेको मन्त्रिपरिषद बैठकले कृषि मन्त्रालयको संरक्षित कृषि, सुनिश्चित बचत नीतिअनुरुप वर्षे धानको समर्थन मूल्य तोकेको हो ।
मध्यम धानको समर्थन मूल्य प्रति क्वीन्टल २ हजार ८ सय ८५, मोटा धानको समर्थन मूल्य २ हजार ७ सय ३५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो ।
मुख्य बालीको समर्थन मूल्य तोक्ने कार्यक्रम विगतका वर्षहरुमा पनि जारी रहेपनि बाली लगाउनुपूर्व भने पहिलो पटक तोकिएको हो ।
तोकिएको समर्थ मूल्यभन्दा बढीमा किसानले बिक्री गर्न नसकेमा सरकारी स्वामित्वको खाध्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद गर्नेछ ।
चालू आर्थिक वर्षमा भने सरकारले ढिला गरी मोटा धानको मूल्य प्रति क्वीन्टल २ हजार ५३१ रुपैयाँ २२ पैसा र मध्यम धानको मूल्य प्रति क्वीन्टल २ हजार ६७३ रुपैयाँ १६ पैसा तोकेको थियो ।
रोप्नुअघि नै धानको मूल्य तोक्दा उत्साहित भएको किसानहरुले प्रतिक्रिया दिएका छन् ।