खाद्य कम्पनीले किसानबाट पाँच हजार टन गहुँ खरिद गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पाँच हजार टन गहुँ खरिद गर्ने भएको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार कम्पनीले किसानबाट गहुँ खरिद गर्न लागेको हो ।

गहुँ खरिद गर्नको लागि कम्पनीले यो वर्ष १५ करोड ५८ लाख रुपैयाँ बिनियोजन गरेको छ । सरकारले चालु आर्थिक वर्षको लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १ सय ११ रुपैयाँ तोकेको छ । सोही मूल्य अनुसार कम्पनीले किसानबाट गहुँ खरिद गर्न लागेको हो । गत वर्ष प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ तोकेको थियो । गत वर्षको गहुँको समर्थन मूल्यको तुलनामा चालु आवको मूल्य ३.१८ प्रतिशतले बढेको छ ।

विभिन्न जिल्लामा समर्थन मूल्यअनुसार गहुँ खरिद गर्न लागेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले यो वर्ष किसानहरूबाट ५ हजार मेट्रिक टन गहुँ खरिद गर्ने लक्ष्य राखेकोमा पहिलो चरणमा कम्पनीले ३ हजार मेट्रिक टन ल्याउने भएको छ ।

बजारको माग र आवश्यकता अनुसार विस्तारै खरिद गरेर बिक्री गर्ने कम्पनीले जानकारी दिएको छ । पहिलो चरणमा ३ हजार मेट्रिक टन र त्यसपछि बजार माग र आवश्यकता अनुसार खरिद गदै जाने कम्पनीको योजना छ ।

गत वर्ष कम्पनीले ३ हजार १५ रुपैयाँ समर्थन मूल्यमा ५ सय ६० मेट्रिक टन मात्रै खरिद गरी बिक्री गरिएको थियो । गहुँ खरिदका लागि महेन्द्रनगर, धनगढी–टिकापुर, राजापुर, नेपालगञ्ज, भैरहवा, विराटनगर, लहान र वीरगञ्ज शाखामा निर्देशन दिइसकेको कम्पनीले जानकारी दिएको छ । गत वर्षदेखि गहुँमा न्यूनतम समर्थन मूल्य कार्यान्वयनमा आएको थियो ।

व्यवसायीले कम मूल्य दिएर किसान ठग्न सक्ने हुँदा किसानलाई राहत दिनका लागि समर्थन मूल्य निर्धारण गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषदले गहुँको समर्थन मूल्य निर्धारण गरेको थियो । यो वर्ष गहुँ थन्काउने बेला सुरु भइसकेको छ । मुलुकमा वार्षिक २० लाख टन गहुँ उत्पादन हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments