नार्कलाई मानित विश्वविद्यालय बनाउने तयारी

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)लाई मानित विश्वविद्यालय (डिम्ड युनिभर्सिटी) बनाउने तयारीबारे अध्ययन गर्न तीन सदस्य अध्ययन समिति बनाएको छ ।

भारत सरकारको सहयोगमा स्थापना हुने उक्त विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि भारतले बुझाइसकेको छ तर नेपालको तर्फबाट त्यसको काम अगाडि नबढेको भन्दै त्यसका लागि नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ । सो समितिमा मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसी र योजना आयोगका सहसचिव वासुदेव शर्मा सदस्य रहनुभएको छ ।

नार्कका कार्यकारी निर्देशक एवं अध्ययन समितिका संयोजकसमेत रहनुभएका भण्डारीले मानित विश्वविद्यालय बनाउने तयारी भइरहेको तर नेपाल कृषि अनुसन्धान परिषद्को ऐन २०४८ संशोधन नभएका कारण काम रोकिएको बताउनुभयो । सो ऐन संशोधनमा सुझावका लागि मस्यौदा शिक्षा मन्त्रालय पठाइएको छ तर हालसम्म उताबाट सुझाव नआएका कारण काममा ढिलाइ भएको उहाँले बताउनुभयो ।
मन्त्रालयले गठन गरेको अध्ययन समितिले नै अब त्यसका बारेमा छानबिन गर्ने, विश्वविद्यालय बनाउने काम कहाँ पुग्यो, कति दिनमा सम्पन्न हुन्छलगायतका बारेमा विस्तृत अध्ययन गरेर कृषि मन्त्रालयलाई प्रतिवेदन बुझाउने उहाँले बताउनुभयो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को ऐन २०४८ मा अध्ययन अनुसन्धान मात्र उल्लेख छ । त्यसलाई संशोधन गरी अध्यापन पनि राख्नुपर्छ अनि मात्र कामलाई अगाडि बढाउने बाटो खुल्छ । यतिका लागि मात्र काम रोकेको छ । विश्वविद्यालय खुल्ने तर त्यसमा अध्यापन नै नहुने भएपछि त्यो खुल्नुको अर्थ के हुन्छ, त्यसैले पहिला ऐन संशोधन गर्ने अनि मात्र अरू काम अगाडि बढाउने कार्यकारी निर्देशक भण्डारीले बताउनुभयो ।

परिषद्को बैठकमा पनि ऐन संशोधनको कुरा उठेको र कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले पनि ऐन संशोधन गर्न निर्देशन दिनुभएको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय भारत भ्रमणमा जानुभएको बेला त्यहाँको सरकारसँग नार्कलाई मानित विश्वविद्यालय बनाउने सम्झौता भएको थियो । सम्झौता हुनेबित्तिकै भारतले आफ्नो काम सुरु गरेको थियो । त्यसका लागि नेपालका विभिन्न ठाउँमा जग्गा हेर्ने काम पनि भयो । त्यसको विस्तृत कार्ययोजना पनि तयार पारेर बुझाएको थियो ।

नार्कलाई मानित विश्वविद्यालय बनाउन धेरै पहिलादेखि प्रयास हुँदै आएको थियो । नार्कको तीन वर्षीय अन्तरिम योजना (२०६४–२०६७) मा पनि नार्कमा मानित विश्वविद्यालय स्थापना गर्ने कार्यक्रम उल्लेख छ । २०६८ सालमा भारतका इन्डियन काउन्सिल अफ रिसर्च सेन्टर (आईसीआरसी)का तीन जना वैज्ञानिक आएर यसको अध्ययन गरेका थिए ।

नार्कलाई भारतको आईसीआरसीको जस्तै मानित विश्वविद्यालय भारतको सहयोगमा बनाउने सुझाव दिँदै भारतीय दूतावासलाई प्रतिवेदन बुझाएर उहाँहरू फर्किनुभएको थियो । त्यसपछि त्यसको काम खासै अगाडि बढेको थिएन । २०७४ मा प्रधानमन्त्री ओली भारत भ्रमणमा जानुभएको बेला आईसीआरसीको पनि भ्रमण गर्नुभएको थियो । त्यही बेला नार्कलाई मानित विश्वविद्यालय बनाइदिने
सम्झौता भएको थियो ।

नार्कमा मानित विश्वविद्यालय स्थापना भएपछि त्यहाँ अनुसन्धानका साथै अध्यापनको काम पनि हुनेछ । मानित विश्वविद्यालयले नार्क तथा प्रसारका पूर्व तथा कार्यरत उच्च शिक्षा प्राप्त अनुभवी जनशक्तिलाई प्रयोग गर्दै कृषि क्षेत्रमा उच्चस्तरीय जनशक्ति उत्पादन गर्न स्नातकोत्तर तथा विद्यावारिधिको पढाइ सञ्चालन गर्ने कार्यकारी निर्देशक भण्डारीले बताउनुभयो । गोरखापत्रमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments