‘‘बाख्रा पाल्छु राम्रै छ बजार दुईटा बोका बेच्यो कि तीस हजार चिन्ता छैन केही “बाख्रापालनले फेरिएको दैनिकी

‘‘बाख्रा पाल्छु राम्रै छ बजार
दुईटा बोका बेच्यो कि तीस हजार
चिन्ता छैन केही
मलाई कोरिया नि यहीँ, मलाई हङ्कङ पनि यहीँ, मलाई अष्ट्रेलिया नि यहीँ’’ ।

गायक पशुपति शर्माको यो गीतले भनेझैँ निस्दी गाउँपालिका वडा नं. ५ बहपुर बस्ने खुमीसरा रानाले एउटै खशी रु. ३७ हजारमा बिक्री गरे। आफूले पालेको खशी यतिधेरै मूल्यमा बिक्री गर्न पाउँदा उनी अहिले दङ्ग छन् ।

दुई चार पैसाका लागि सधैँ श्रीमान्को भरपर्न बाध्य राना अहिले आफैँले पालनपोषण गरेको एकै खशीबाट रु तीस हजार नगद हातपार्न पाएपछि उनका खुशीका आँशु झरेका छन् ।

उनको घरमा अहिले छ वटा माउसहित २१ वटा बाख्रा छन् । यसभन्दा अघिल्ला वर्षमा उनले बाख्रा बिक्रीबाटै रु दुई लाखभन्दा बढी आम्दानी गरेका हुन् । रानाले दुई वटा माउ बाख्राबाट व्यवसाय सुरु गरेका हुन् । अबका दिनमा बिगतको भन्दा दोब्बर बढी आम्दानी हुने उनी बताउछन् ।

“बाख्रा पाल्न थालेपछि हातमा पैसा छैन खाली, एउटै खशीलाई पर्छ रु. ३० हजार भन्दा बढी, यो व्यवसायबाट म र मेरो परिवार सन्तुष्ट छौँ, पाँच जनाको परिवारको लालनपालन राम्रोसँग चलेको छ” उनले भने । खोर व्यवस्थापन र घाँसपातको सुबिधा राम्रो भएपछि उहाँलाई व्यवसायमा थप उर्जा मिलेको छ ।

त्यस्तै सोही ठाउँकै उर्मिला सुनारीले गत साउनदेखि हालसम्ममा मात्रै १८ वटा खशी बाख्रा मात्रै बिक्री गरिसक्नुभएको छ । सो बिक्रीबाट करिब रु तीन लाख आम्दानी लिन पाउँदा उहाँलाई व्यवसायमा थप उत्साह मिलेको छ । सुनारीले घरमा पालेको खशी बढीमा ४५ किलोसम्म बिक्री गर्न सफल भएका हुन् । उहाँको घरमा हाल सातवटा माउ बाख्रासहित २५ वटा खरी जातका बाख्रा छन् ।

गत आर्थिक वर्षमा करीब रु. साढे दुई लाख बराबरको खशी बिक्री गरेको सुनारीले यसवर्ष गतवर्षको तुलनामा दोब्बर कमाई गर्ने लक्ष्यका साथ व्यवसायमा लागेका हुन् । सुन्तला खेतीमा संलग्न रहेको सुनारीको परिवार अहिले बाख्रापालनमा मात्रै आश्रित बनेको छ । उनी भन्छन्, “बाख्रामा खासै लगानी गरिएको छैन तर आम्दानी भने नसोँचेको भएको छ, पहिला खाली जग्गामा सुन्तला खेती गरेका थियौँ, त्यसबाट पनि आम्दानी राम्रै थियो तर सुन्तलाको तुलनामा बाख्राबाट अझ बढी आम्दानी हुन थालेपछि अहिले बाख्रापालनलाई मुख्य आयस्रोत बनाएर श्रीमान् श्रीमती नै यस व्यवसायमा आबद्ध छौँ” ।

विसं २०७१ मा हेफर इन्टरनेशनल नेपालले गाउँका महिलालाई बाख्रापालनमा लगानी गरिदिएपछि बाख्रापालनमा महिलाहरु लागेका हुन् । व्यवसायउन्मुख हुदै गरेका महिलाहरुलाई थप प्रोत्साहन गर्न विसं २०७३ मा गल्धा सामाजिक महिला सहकारी गठन भएपछि गाउँभरी नै बाख्रापालन गर्ने महिलाको लहर छायो ।

यस सहकारीले ग्रामीण भेगका महिलालाई समेट्दै २८ वटा उपसमूह बनाएर व्यवसायमा सहयोग गरिरहेको छ । संस्थाले वार्षिक रु. दुई करोड ५१ लाख बराबरको कारोबार गर्दै आइरहेको छ । बाख्रापालनमा महिलालाई उत्साहित बनाउँदै गाउँ गाउँमै पुगेर खशी बोका खरिद गरी बजार पठाउने गरेपछि उनीहरु बख्रापालनमा आकर्षित हुँदै गएका हुन् । सहकारीमा हाल पाँच सय १८ सेयर सदस्यमध्ये चार सय ६९ सदस्य बाख्रापालनमा आश्रित छन् ।

एकै व्यक्तिले २५ माउ बाख्रासम्म पाल्ने गरेको पाइएको छ । बाख्रापालनबाट एक सदस्यले कम्तिमा रु एक लाख देखि सात लाख सम्म वार्षिक कमाई गर्न सफल भएका छन् । सदस्यलाई मध्यनजर गर्दै गाउँबाटै सहकारीले एउटा निश्चित दरभाउ कायम गरी जिउँदो खशी बोका तौलेर रु दश सहकारीमा राखेर बजार पठाउने कार्यले बजारीकरणको समस्या झेल्नु परेको छैन । तौलको आधारमा मुल्य भने फरक फरक कायम गरिएको छ ।

बीस किलोसम्मको खशीलाई प्रतिकिलो रु. तीन सय ६० मा, २० किलो देखि ३० किलो सम्म रु चार सय २० मा, ३० देखि ३६ किलो सम्म रु. चार सय ५० मा बिक्री गर्ने गरिएको छ । त्यस्तै ३६ किलो देखि ४० किलोसम्म रु चार सय ८० मा, ४० किलो देखि ५० किलो सम्म रु. पाँच सय, ५० किलो देखि माथिको तौल भएका खशी बोकालाई रु. पाँच सय ४० प्रतिकिलो मूल्य कायम खरी खरिद गर्ने गरेको सहकारीका व्यवस्थापक दिलमाया राना बताउनुहुन्छ ।

त्यस्तै बीऊ पाठी प्रतिकिलो तीन सय ४०, ब्याडे बोका पाँच सयमा खरिद गर्ने गरिन्छ । सहकारीले खरिद गरेको सो मूल्यमा प्रतिकिलो केही रकम लिएर बजारमा बिक्री गर्ने गरेको व्यवस्थापक रानाले जानकारी दिए । उनका अनुसार सहकारीमा गत आर्थिक वर्षमा नौ सय ९८ वटा खसी बोका खरिद बिक्रिबाट रु दुई लाख ५८ हजार आम्दानी भएको छ । यस आर्थिक वर्षको चैत मसान्त सम्ममा एक हजार २१ वटा खशी बोका खरिद बिक्रीबाट रु दुई लाख भन्दा बढी आम्दानी भइसकेको छ ।

गतवर्ष एक हजार दुई सय बाख्रा खरिद बिक्री गर्ने लक्ष्य राखेको सहकारीले यस आर्थिक वर्षको असार मसान्त भित्रमा एक हजार चार सय खसी बोका खरिद बिक्री गर्ने योजना बनाएको छ । सहकारीले गाउँका पाँच स्थानमा खशी बोका खरिद बिक्री सङ्कलन केन्द्रमार्फत् नवलपुरको कावासोती, पोखरा, पाल्पाको रामपुर बजारमा खपत गर्दै आएको छ । निस्दी गाउँपालिकाको वडा नं ५ गल्धालाई मात्र कार्यक्षेत्र बनाएर काम गरिरहेको सहकारीले अब वडा नं ३ झिरुवास र वडा नं ६ अर्चलेसम्ममा क्षेत्र बिस्तार गर्ने योजना बनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments