किसानको पिडा : बारीमा उत्पादित तरकारी खेर जाने भन्दै किसान चिन्तित

धनगढी: धनगढी उपमहानगरपालिका–२ को दीपटोल र कृष्णनगर नजिकै दुई स्थानमा गरी तीन बिघाभन्दा बढी जमीन लिज (भाडा)मा लिई व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका एक स्थानीयवासी कृषक खेतमा उत्पादन भएको तरकारी खेर जाने भन्दै चिन्तित भएका छन् ।

महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले तरकारी बजार पूर्णरूपमा ठप्प भएपछि बारीमा उत्पादन भएको टमाटर, भन्टा, लौका, फर्सीलगायतका बिक्री गर्न नपाएरै खेर जान्छ कि भन्दै चिन्तित भएको व्यवसायी कृषक मुमताज गुप्ताले बताए ।

“विशेषगरी बारीमा उत्पादन भएको तरकारी धनगढीको त्रिनगर कृषि उपज हाटबजार, रामजानकी सब्जीमन्डी र बजारका विभिन्न होटलमा बिक्री गर्ने गर्थेँ”, उनले भने, “निषेधाज्ञाले बजार पूर्णरूपमा ठप्प भएपछि तरकारी बिक्री गर्न एकदमै मुस्किल भएको छ ।”

फुटकर तरकारी लिने ग्राहक आउने गरेको भए पनि त्यो मात्राको बिक्रीले व्यवसायमा केही हलचल नहुने उनको भनाइ छ। “दिनमा आठ-दश किलो तरकारी बिक्री हुने गरेको भए पनि त्यो बिक्रीले आफनो लगानीसमेत उठ्दैन ।”

उनका अनुसार, निषेधाज्ञाअघि दिनमा पाँचदेखि आठ क्विन्टलसम्म तरकारी बजार जाने गर्दथ्यो। हिजोआज थोरै मात्राको बिक्रीले बारीमा ठूलो परिमाणमा उत्पादन भएको तरकारी बजारमा बिक्री गर्न सकिने अवस्था नभएको उनले गुनासो गरे “तरकारी बजार बिहान दुई-तीन घण्टा त खुल्छ तर उक्त समय आफूलाई अनुकूल भइरहेको छैन”, उनले भने ।

अहिले बारीमा करिब ३० क्विन्टल पाकेको टमाटर, १० क्विन्टल जति भण्टालगायतका तरकारी बिक्रीका लागि तयारी अवस्थामा छ तर कहाँ लगेर त्यो बिक्री गर्ने भन्ने उनलाई चिन्ता छ ।

“कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा वैशाख १६ गतेदेखि २२ गतेसम्मको जारी निषेधाज्ञा पुनः लम्बिएर वैशाख अन्तिमसम्म बढाइएपछि बन्दैबन्दले अब त जमीनवाला साहुलाई भाडा तिर्न सकिने अवस्था छैन”, उनले भने, “जमीनको भाडा कहाँबाट दिने र जहानपरिवार कसरी पाल्ने भनेर चिन्ता लागेर राति निद्रा लाग्नसमेत छोड्यो ।”

उनले भने, “बन्द खुलञ्जेलसम्म त बारीको तरकारी खेर गई कामै नलाग्ने भइसक्छ।” गत वर्ष पनि लामो समयसम्मको लकडाउनका कारण उत्पादित तरकारी बिक्री गर्न नपाएरै बारीमै कुहिएर लगानीसमेत उठ्न नसकेको उनले बताए ।

पाँच वर्षदेखि जमीन ठेक्कामा लिई व्यावसायिकरूपमा तरकारी खेती शुरु गरेका गुप्ताले वार्षिक रु आठदेखि १० लाख जति फाइदा हुने गरेको बताए। उनले भने, “अघिल्ला वर्षमा तरकारी व्यवसायबाट निकै आम्दानी हुने गर्दथ्यो तर कोरानाका कारण गत वर्ष र यस वर्ष गरिएको बन्दाबन्दीले व्यवसायमा निकै घाटा व्यहोर्नुपरेको छ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments