निषेधाज्ञाले तरकारी खपत ५० प्रतिशत घट्यो

बजारमा हरियो तरकारीको खपत ५० प्रतिशतले घटेको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न निषेधाज्ञा गरेसँगै बजारमा हरियो तरकारीको खपत ५० प्रतिशतले गिरावट आएको हो ।

बजारमा तरकारीको माग नै कम भएकाले ५० प्रतिशतले कारोबार घटेको कालिमाटी फलफूल बजार विकास समितिले जानकारी दिएको छ । राती १ बजेदेखि बिहान ९ बजेसम्म मात्र कालिमाटी बजार खुल्ने गर्छ । सो अवधिमा तरकारी ल्याएर बिक्री गरिसक्नुपर्ने हुन्छ । सीमित समयभित्र किसानले तरकारी ल्याएर बिक्री गर्नुपर्ने भएकाले पनि कारोबार ह्वात्तै घटेको समितिले जानकारी दिएको छ ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठले कोभिडका कारणले बजारमा तरकारीको खपत र मूल्य घटेको जानकारी दिए । कालिमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशतले गिरावट आएको उनले बताए । उनका अनुसार सामान्य अवस्थामा ८ सयदेखि ९ सय टन तरकारी भित्रने गरेकोमा अहिले ४ देखि ५ सय टन भित्रिएको छ ।

सामान्य अवस्थामा २ देखि ३ करोडको आर्थिक कारोबार हुने बजारमा अहिले तरकारी खरिद बिक्रीको कारोबार हुने गरेकोमा ५० प्रतिशतले गिरावट आएको समितिले जानकारी दिएको छ । तरकारीको आयात कम भएसँगै मूल्य पनि घटेको छ । तरकारीको पसल बिहान ७ देखि ९ बजेसम्म मात्र खुला हुने गर्छ । सीमित सममा तरकारी बिक्री गर्नुपर्ने भएकाले बिग्रन सक्ने भन्दै व्यवसायीले सस्तो मूल्यमा भए पनि बिक्री गर्दै आएका छन् ।

सामान्यतया तरकारी कम आउने बित्तिकै बिक्री मूल्य बढ्ने भए पनि यसपटक भने तरकारी किन्ने उपभोक्तामा पनि कमी आएकाले मूल्यमा पनि गिरावट आएको हो । तरकारी बजारमा तरकारीका थोक क्रेताको साथै खुद्रा उपभोक्ताको पनि संख्यामा ५० प्रतिशतले कमी आएको छ । सर्वसाधारणलाई हिँडडुल गर्न सरकारले रोक लगाउनुका साथै तरकारी खरिद बिक्रीका लागि पनि निश्चित समय निर्धारण गरेपछि कारोबारमा कमी आएको समितिले जानकारी दिएको छ ।

शंखमुलका खुद्रा व्यापारी प्रकाश गिरिले निषेधाज्ञा जारी भएपछि तरकारी नै खपत कम भएको जानकारी दिए । एक साताको अवधिमा तरकारीको मूल्य पनि आधाले घट्न गएको उनको भनाइ छ ।

अहिले कालिमाटी तरकारी बजारमा ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत भारतीय उत्पादन आउने गरेको छ । बोडी, सिमी, घिरौँला, लौकालगायत सिजनका तरकारी स्वदेशी उत्पादनका छन् भने भारतबाट माछा, कागती, आलु र प्याज आउने गरेको छ ।
कालिमाटी बजारमा एक साताअघि प्रतिकेजी ४० देखि ५० रुपैयाँ रहेको गोलभेडा होलसेल मूल्य प्रतिकेजी १५ देखि २० रुपैयाँ रहेको छ । यस्तै यसअघि ७० देखि ८० रुपैयाँको चमसुरको साग प्रतिकेजी ४० देखि ५० रुपैयाँ रहेको छ । एक साताअघि ८० देखि १०० रुपैयाँ रहेको प्रतिकेजी तने बोडी अहिले घटेर ३० देखि ४० रुपैयाँमा झरेको छ । १ सय २० देखि एक सय २० रुपैयाँ रहेको ब्रोकाउली ७० देखि ८० रुपैयाँ झरेको छ । यस्तै प्रतिकेजी ६० देखि ७० रुपैयाँ रहेको भिन्डी २० देखि ३० रुपैयाँ झरेको छ । यस्तै प्रतिकेजी ४० देखि ५० रुपैयाँ रहेको भन्टा लाम्चो २० देखि ३० रुपैयाँमा झरेको छ ।

यस्तै प्रतिकेजी ८० देखि एक सय रुपैयाँ रहेको परवरको मूल्य घटेर ३० देखि ४० रुपैयाँमा झरेको छ । यस्तै ४० देखि ५० रुपैयाँ रहेको पाकेको फर्सी ३० देखि ३५ रुपैयाँमा झरेको छ । यस्तै हरियो फर्सी मूल्य घटेर २० देखि ३० रुपैयाँमा झरेको छ । बजारमा अधिकांश हरियो तरकरीको मूल्य घटेको छ । कालिमाटी होलसेल मूल्यमा आधाले घटे पनि खुद्रा पसलमा भने अझै मूल्य घट्न सकेको छैन । किसानले बजारमा तरकारी ल्याउन नसकेर विभिन्न जिल्लामा बारीमै फालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments