गलकोट चिसापानीमा व्यावसायिक ट्राउट माछापालन

बागलुङ: गलकोट नगरपालिका–३ चिसापानीमा रेम्बो ट्राउट माछाको व्यावसायिक पालन थालिएको छ ।

गलकोट–७ मल्मका युवा व्यवसायी हुम थापाले माछापालनमा लगानी गरेका हुन् । उनका अनुसार ११ वटा पोखरीमा ट्राउटपालन भइरहेको छ ।

“अहिले १६ हजार भुरा पोखरीमा छन्। एक क्विण्टलजति बेच्ने भइसके”, थापाले भने। गत वर्ष नै माछापालनसहित एग्रो रिसोर्ट सञ्चालनमा ल्याउने उनको तयारी थियो ।

कोरोनाका कारण उक्त योजना पछाडि धकेलिएको छ। रेष्टुराँ, पौडी पोखरीलगायतका संरचना भने बनिसकेका छन्। माछापालन व्यवसायसहित अन्य पूर्वाधारमा हालसम्म रु एक करोडभन्दा बढी खर्च भइसकेको थापाको भनाइ छ ।

‘दरमखोला रेम्बो ट्राउट एग्रो’ नामक दिएर उनले व्यवसाय थालेका हुन्। पछि एग्रो रिसार्टकै रूपमा विस्तार गर्ने र त्यसका लागि पूर्वाधार तयारीको काम भइरहेको थापाले बताएका हुन् ।

पछिल्लो समय ट्राउटपालन हेर्न, रेष्टुराँमा समय बिताउन र पौडीको आनन्द लिन मानिसहरू त्यहाँ जान थालेका थिए। गत नयाँ वर्षको आसपासमा त दैनिक सयौँको भीड नै लाग्थ्यो। गर्मीयाममा पौडीको आनन्द लिन आउनेको सङ्ख्या पनि उत्तिकै हुन्थ्यो। पौडीका लागि प्रतिव्यक्ति रु १०० र विद्यार्थीलाई रु ५० तोकिएको छ ।

कोरोनाको जोखिमले पुनः निषेधाज्ञा जारी गरिएपछि अहिले व्यवसाय बन्द छ। “रेष्टुराँ त खोल्ने कुरा भएन, आलो माछा किन्न आउनेलाई बेचिरहेका छौँ”, थापाले भने। ट्राउट माछाको मूल्य प्रतिकिलो रु. एक हजार ४०० छ ।

रेष्टुराँमा परिकार बनाएर खाँदा एक प्लेटको रु. ४०० पर्छ। थापाले ट्राउटसँगै स्थानीय दरमखोलाको असला माछा पनि पालेका छन्। एउटा पोखरीमा असलाका एक हजार ५०० भुरा छाडिएको छ ।

आफ्नै जग्गामा बाह्रैमास चल्ने पानीको मूल भएपछि थापाले ट्राउटपालनको सोच बनाएका थिए। पानी परीक्षणपछि प्राविधिकरूपमा उपयुक्त देखिएकाले ट्राउट माछा पाल्न शुरु गरेको उनले बताए ।

ट्राउट १२ देखि १८ डिग्रीको तापक्रममा पाल्न सकिन्छ। जापानी प्रजातिको ट्राउट माछा स्वाद र स्वास्थ्य दुवै हिसाबले उत्कृष्ट मानिन्छ। बजारमा पनि ट्राउटको माग बढी छ। मुख्यरूपमा माछापालन गर्ने र सोही ठाउँलाई एग्रो रिसोर्टका रूपमा विकास गर्ने लक्ष्यसहित लगानी गरेको थापाको भनाइ छ ।

रिसोर्ट परिसरमा वनभोजस्थल बनाउने, स्थानीय गुरुङ जातिको परिकार खुवाउने, कला, संस्कृति देखाउनेसम्मको योजना उसँग रहेको छ। सबै संरचना बनाउँदा झण्डै २७ रोपनी क्षेत्रफल ओगटिने देखिएको छ ।

एकैसाथ ३० हजार भुरा छाड्न मिल्ने गरी पोखरी निर्माण गरिएको छ। माछापालन र रेष्टुराँ व्यवसायमा अहिले सात जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। “पर्यटकीय हिसाबले पनि यो ठाउँ चिनिने र व्यवसाय पनि सफल हुने देखेर लगानी गरेको हुँ”, थापाले भने। धन कमाउन विदेश ताक्ने युवाहरूको लहरबीच गाउँमै उद्यमी बन्ने उनको सोच र लगनको धेरैले प्रशंसा गर्छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments