धान खेती प्रविधि, समस्या र समाधानहरु

“विश्वमै प्रमुख रहेको खाद्यान्न बाली धान,
उत्पादन बढे देशमा रहन्छ हाम्रो सान।”

परिचय

धान नेपालको मात्र नभई विश्वको एक प्रमुख अन्नबाली हो। यसले विश्वको आधा भन्दा बढी जनसंख्याको दैनिक खानाको रूपमा स्थान ओगटेको छ। कुल खाद्यान्न उत्पादनको ९० प्रतिशत धान रहेको छ भने आधा भन्दा बढी धानको खपत एशियामै हुने गरेको छ। वनस्पति वैदिक साहित्य एवम् पुरातात्त्विक उत्खननमा धान सबैभन्दा पुरानो उत्पादित बालीमध्ये एक भएको प्रमाण पाईएको छ। धानका प्रमुख दुई वंशज मध्ये ओराइजा सेटिभा (Oryza sativa) जात को उत्पत्ति नेपाल, भारत, भुटान, फिलिपिन्स, लाओस चीनमा भएको पाइन्छ र ओराइजा ग्लाबरनिमा (Oryza glabernima) पश्चिम अफ्रिकामा भएको पाइन्छ। धानको खेती गर्न बढी श्रम र सिंचाइ लाग्ने हुनाले येसको खेती जनको पारिश्रमिक र पानी पर्ने देशमा गर्न उपयुक्त हुन्छ। धान विविध मौसममा पनि उत्पादन हुन्छ। यो मुख्य तह उच्च आग्रता र तापक्रम, दिगो प्रकाश र पानी भएको ठाउँमा राम्रो उब्जन्छ। पहाड र तराईमा यसको खेती बर्षायाम मा गरिन्छ। तल्लो पहाड तथा खोचको सिञ्चित क्षेत्रमा उन्नत प्रविधिबाट डेढदेखि दुई गुणा उत्पादन बढाउन सकिन्छ।

नेपालमा लगाइने मुख्य जातहरु

उच्च पहाडी क्षेत्रमा: माछापुच्छ्रे, छोमरुङ, जुम्ला मार्सी, पालुङ्ग

पहाडी क्षेत्रमा: खुमल-२,३,४,५,७,८,९,१० , कन्चन, हिमाली , चाइनान-२, घैया-१

तराई क्षेत्रमा: राधा–४, विन्देश्वरी, हर्दिनाथ–१, हिमाली , चाइनान-२, घैया, सावित्री, मकवानपुर-१,
सुख्खा धान-१,२,३, सावासब-१, लोकतन्त्र, मिथिला, राम, जानकी, दुर्गा, जया, चैते-२,४,६, घैया-२

बीउदर

उन्नत जातको बीउ प्रति रोपनी २.५ केजी, प्रति कठ्ठा १.७ केजी, वर्णशंकर जातको बीउ प्रति रोपनी ७५० ग्राम, प्रति कठ्ठा ५०० ग्राम मिलाएर छर्नु पर्दछ ।

बीउ उपचार

  • ब्याड बनाउनु अगाडि बीऊलाई २४ घण्टा पानीमा भिजाउने र ४८ घण्टा बोरामा राखी टुसाउन दिनु पर्छ ।
  • बीऊलाई धुलो वा हिले ब्याडमा छरी बेर्ना तयार गर्नु पर्छ ।
  • बेर्नाको उमेर २०–२५ दिन भइसके पछि सार्नको लागि उपयुक्त हुन्छ तर बेर्नामा ४ पात लागेको हुनुपर्छ ।
  • भण्डारण गरिएको बीउ मा बेभिस्टीन २ ग्राम प्रति केजी राख्न सकिन्छ।

जमिनको तयारी

रोपाईं गर्नुभन्दा १ हप्ता अगाडि कान्ला खुर्कने, आली लगाउने र मुसाका प्वाल टाल्नु पर्छ। गह्रामा पानी जमाएर झारपात कुहाइ, जमिनमा पानी लगाइ दुई पटक राम्रोसँग जोतेर हिल्याउदै र पाटा लगाइ सम्याउनु पर्दछ । तयारी जमिनमा चारदेखि पाँच सेमीसम्म पानी जमेको हुनुपर्छ।

नेपाली किसानहरूले सामान्य तय रोपाई गर्ने प्रविधि

  • पंक्तिको दूरी २० सेमी (एक वित्ता) र बोटको दूरी २० सेमी राख्ने।
  • वर्णशंकर जात ३० सेमी लाइन र २५ सेमी बोटको दूरीमा लगाउने।
  • उन्नत जातको लागि एक ठाउँमा दुईदेखि तीन बेर्ना रोप्ने।
  • वर्णशंकर जातको लागि एक ठाउँमा १ बेर्ना रोप्ने।
  • रोपाईं गर्दा ३ सेमी भन्दा गहिरो नरोप्ने।
  • गहिरो रोपेमा गाँज हाल्न ढिलो हुन्छ।
  • छरुवा विधिबाट समेत धान खेती गर्न सकिन्छ।
  • यस विधिमा वैशाख र जेठ महिनामा पाँच केजी प्रति रोपनी वा ३.३ केजी प्रति कठ्ठा बीऊ छर्नुपर्ने हुन्छ। यो विधिबाट खेती गर्दा झारपात नियन्त्रण गर्न अति आवश्यक हुन्छ।

    मलखाद

    रासायनिक मलको परिमाण माटोको उर्वराशक्ति, अघिल्लो बाली, कम्पोष्ट मलको परिमाण र धानको जातमा भर पर्दछ। वर्णशंकर जातको धान लगाउँदा उन्नत जातको भन्दा डेढ गुणा बढीको दरले मलखाद तथा रासायनिक मलको प्रयोग गर्नुपर्छ।

    मलखाद व्यवस्थापनः धानबालीमा मलको प्रयोग गर्दा स्थानीय स्रोतको परिचालनमा हरियो मल (सकेसम्म कोशेबाली), एजोला, गोठेमल, कम्पोष्ट मल, पिना, ब्लुग्रिन एल्गी आदि प्रयोगमा ल्याउन सक्दछौं। यी मलहरू प्रयोग गरेपछि पनि नपुग मात्रामा मात्र रासायनिक मल बालीलाई दिनु पर्दछ। धानबालीको लागि रासायनिक मलको सिफारिस मात्रा १००:३०:३० केजी नाइट्रोजन: फस्फोरस:पोटास प्रतिहेक्टर सिंचित क्षेत्रको लागि छ भने असिंचित क्षेत्रको लागि ६०:२०:२० केजी नाइट्रोजन:फस्फोरस:पोटास प्रतिहेक्टर छ।

    धानमा लाग्ने मुख्य रोगहरु र तीनका व्यवस्थापन

    1.बलास्ट(Rice Blast):

    जीवाणु: पाइरिकुलारिया ओराइजा (Pyricularia oryzae)

    यदि पातमा स-साना सेता टिका बीचमा भएका लम्चिलो खैरा थोप्ला तथा बालादेखि तलको डाठको वारिपारि खैरो रङ भएको दाग पनि देखिन्छ र थोप्ला जोडिदै जादा पूरै पात डढेको देखिन्छ भने वलाष्टको प्रकोप भएको बुझिनु पर्छ ।

    व्यवस्थापन:

    • रोगमुक्त बीउको प्रयोग गर्ने।
    • बेभिष्टिन नामक विषादीबाट २–३ ग्राम प्रति केजी बीउको दरले बीउ उपचार गर्ने।
    • नाइट्रोजनयुक्त मल जस्तै युरिया मात्र बढी प्रयोग नगरी फस्फोरस र पोटास पनि सिफारिस मात्रामा प्रयोग गर्ने।

    2.फेद कुहिने रोग(Foot rot):

    जीवाणुः फयुजारीयम मोनोलिफर्मी (Fusarium monoliforme)

    यदि बिरुवा अग्लो भई पहेलो हुन्छ र अन्तमा फेद कुहिएर बिरुवा मर्दछ तथा तल्लो अख्लाहरूबाट जरा निस्कन्छ भने फेद कुहिने रोग भन्ने बुझ्नुपर्छ।

    व्यवस्थापन:

    • यो रोग बीउबाट सर्ने भएकोले स्वास्थ्य बीउको प्रयोग गर्ने।
    • बेभिष्टीन वा डेरोसाल(carbendazim) ३ ग्राम प्रति किलोग्राम बीउका दरले उपचार गरि मात्र व्याड राख्ने।

    3.खैरो थोप्ले/ब्राउन लिफ स्पट(Brown leaf spot):

    जीवाणु: बाइपोलारिस ओराइजा (Bipolaris oryzae)

    यदि पात वा धानको गेडामा स-साना गोलाकार वा लामचिलो खैरो रङगका थोप्लाहरू देखिन्छ भने खैरो थोप्ले रोगले आक्रमण गरेको बुझिनु पर्छ।

    व्यवस्थापन:

    • यो रोग खासगरी मलजल नपुगेको अवस्थामा लाग्ने हुँदा उचित मात्रामा मलको प्रयोग गर्ने।
    • डाइथेन एम-४५ (Moncozeb) ३ ग्राम प्रति किलोग्राम बीउको दरले बीउ उपचार गरि व्याड राख्ने।

    4.पातेफेद डढुवा/सीथ ब्लाइट(Sheath Blight):

    जीवाणु: राइजोक्टोनीया सोलानी (Rhizoctonia solani)

    यदि पातको फेदमा अण्डाकार खैरा रंगका थोप्लाहरू आकारमा बृद्धि हुदै जान्छ र ढुसीको कालो गिर्खाहरू देखापर्दछ तथा बोटको माथिल्लो भागमा पनि पुग्छ र सुकेर डढेको जस्तो देखिन्छ भने पातको फेद डढुवा रोगले आक्रमण गरेको भन्ने बुझिन्छ।

    व्यवस्थापन:

    • नाइट्रोजन मल मात्र बढी प्रयोग नगरी फोस्फोरस र पोटास मल पनि प्रयोग गर्ने।
    • धान बाक्लो नरोप्ने।
    • रोगको प्रकोप बढेपछि हिनोसान १.५ मिलिमिटर पानी का दरमा छर्ने।

    5.कालो पोके रोग

    यो रोग लागेको धानको बालामा ढुसीको जिवाणुहरूको पोको बन्दछ । यो पोको बाहिरबाट हरियो र भित्र पहेंलो वा सुन्तला रंगको हुन्छ । पछि गएर यो पोको कालो रंगमा परिणत हुन्छ ।

    व्यवस्थापन:

    • रोगमुक्त बिउहरुको प्रयोग गर्ने।
    • धानको बालामा आक्रमण भएका कालो पोकाहरू पोलीथिन ब्यागमा जम्मा गरी जलाई दिने।
    • धानको बाला निस्कनु अघि ३ ग्राम बेभिस्टिन प्रति लीटर पानीको दरमा मिलाई स्प्रे गरी दिने।
    • अत्यधिक मात्रामा नाइट्रोजनयुक्त मल प्रयोग नगर्ने ।

    6.खैरा रोग(Khaira diseases):

    यो रोग जस्ता(zinc) तत्वको कमीले गर्दा देखिन्छ। धान रोपेको १२-१५ दिन पछि तल्लो पातको मिसना नशाबीच पहेंलोपन देखिन्छ।साथसाथै पातमा खैरो रंगका मसिना थोप्लाहरु आउँछन् जस्ले गर्दा विरुवाको वृद्धि कम बोट होचो हुने,गाँज कम लाग्नेर पुरै बोट मर्ने गर्छ।

    व्यवस्थापन:

    • नाइट्रोजन र फोस्फोरस मल सिफारिस मात्रा भन्दा बढी प्रयोग नगर्ने।
    • खेतमा निकासको राम्रो प्रवन्ध मिलाउने।
    • जस्ता कमि भएको जग्गमा १५-२० किलोग्राम जिङ्क सल्फेट प्रतिहेक्टर जग्गा का दरले प्रयोग गर्ने।

    सिँचाइ तथा निकास:

    बेर्ना रोपेको २०–३० दिन सम्म ४–५ सेमी पानी खेतमा रहनुपर्छ। निकास सुविधा भए १५ दिनको फरकमा ४–५ दिन पानी काटी जमिन सुख्खा राख्दा राम्रो हुन्छ।

    झारपात नियन्त्रण

    झारपात प्रकृति हेरी बेर्ना सारेको २५ देखि ३० दिनमा पहिलो र ४५ देखि ५५ दिनमा दोस्रो गोडमेल गर्ने, वा झारपात प्रकोप बढी हुने ठाउँमा बेर्ना सारेको ४ दिन भित्र ब्यूटाक्लोर दाना १ केजी २५० ग्राम प्रति रोपनी वा ८०० ग्राम प्रति कठ्ठाका दरले सबै ठाउँमा पर्ने गरी समान रूपले छर्ने।

    धानमा लाग्ने केही कीराहरु र ब्यबस्थापन

    • धानको पातमा बेरुवा कीराले ५ प्रतिशत बोटहरुमा नोक्सान पुर्याउना साथ मालाथायन २ मि.लि. वा साइपरमेथ्रीन (१० ई.सी.) ०.४ मि. लि. प्रति लिटर पानीमा मिसाइ छर्कने।
    • धानको फड्के कीरा नियन्त्रणका लागी रासायनिक विषादि ईमिडागोल्ड (ईमिडाक्लोप्रिड) ०.५ मि.लि. प्रति लि. पानीमा मिसाएर छर्ने ।
    • धानमा गवारो कीराका लागि रोगर वा ईमिडागोल्ड (ईमिडाक्लोप्रिड) २ ग्राम प्रति लिटर पानीमा मिसाइ प्रयोग गर्न सकिन्छ ।

    धान बाली काट्ने

    ८५˗९० प्रतिशत दाना पाकिसके पछि वाली काट्नुपर्छ। स्थानीय विधि वा थ्रेसर प्रयोग गरी चुट्ने र घाममा राम्ररी सुकाएर सफा गरी भित्र्याउने गरिन्छ।

    उत्पादन

    उत्पादन जात, मौसम तथा बाली व्यवस्थापनमा निर्भर गर्दछ। उन्नत जातको उत्पादन २०० केजी प्रति रोपनी रहेको छ।

    निष्कर्ष

    नेपालको कुल जनसंख्याको करिब दुई तिहाई अंश कृषि पेशामा आश्रित रहेको र कुल उत्पादनमा कृषि क्षेत्रको योगदान करिब एक तिहाई रहेको छ।कृषि क्षेत्रको उत्पादनमा योगदान पुर्‍याउने मुख्य खाद्यान्नबालीहरु मध्ये धान प्रमुख खाद्यान्न बालीमा पर्दछ भने खाद्य तथा पोषण सुरक्षाको दृष्टिले समेत नेपालमा धानबालीको महत्त्वपूर्ण योगदान रहि आएको छ।तथापि नेपालमा अन्नबाली खेतीको प्रचुर सम्भावना हुँदाहुँदै पनि विगत केही वर्षहरुमा चामलको आयत बढ्दो क्रममा रहेको छ र देशको जनसंख्यालाई आवश्यक पर्ने खाद्यान्नमा आत्मनिर्भर हुन सकेको छैन ।

    नेपालमा हाल पनि धेरै जसो ठाउँमा जमिनको तयारी बाहेक अन्य कृयाकलापमा मानवश्रम नै प्रयोग भैरहेको र परम्परागत तरिकाबाट नै धान खेती भैरहेको अवस्था छ।सिंचाइको सुनिश्चितता नहुनु, समयमा मलखाद उपलब्ध नहुनुका साथै उपयुक्त जात तथा प्रविधिहरुको प्रयोग यथोचित नहुनु जस्ता कारणले अपेक्षित उत्पादकत्व हासिल गर्न सकिएको छैन।विभिन्न अध्ययनले उन्नत प्रविधि र उन्नत बीउको प्रयोगबाट अन्नबालीको उत्पादन २५ प्रतिशतले बढाउन सकिने सन्दर्भमा कृषकले अपनाउदै आएका धान खेतीका परम्परागत तरिकाहरुमा पनि वैज्ञानिक सुधार ल्याउन सकिने देखिन्छ ।

    Writer: Srijana Adhikari (Student, Bsc. Ag IAAS Paklihawa Campus)

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Happy
    खुसी
    0 %
    Sad
    दुःख
    0 %
    Excited
    उत्साहीत
    0 %
    Sleepy
    निन्द्रा लाग्यो
    0 %
    Angry
    रिस उठ्यो
    0 %
    Surprise
    अचम्म
    0 %
    Subscribe
    Notify of
    guest
    0 Comments
    Inline Feedbacks
    View all comments