खोटाङमा पञ्चाननब्बे प्रतिशत रोपाइँ

खोटाङ: जिल्लामा १२ हजार ८९८ हेक्टर जमीनमा धानखेती गरिँदै आएकामा हालसम्म ९५ प्रतिशतभन्दा बढी भागमा रोपाइँ भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यसवर्ष समयमै पर्याप्त वर्षा भएका कारण साउन १५ अगावै रोपाइँ गर्न सहज भएको हो ।

चैते धान र मकै भित्र्याउन बाँकी भएकाले बेँसी क्षेत्रमा रोपाइँ हुन बाँकी रहेको जिल्ला कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले बताए। “चैते धान र मकै भित्र्याएपछि त्यहाँ पनि रोपाइँ हुनेछ” उनले भने,“जिल्लामा कूल १४ हजार १५९ हेक्टर खेतीयोग्य जमीन भए पनि १२ हजार ८९८ हेक्टर जमीनमा मात्र धान लगाउने गरिएको छ ।”

सिमसार भएका खेतमा जेठको अन्तिम सातादेखि रोपाइँ हुने तर सिञ्चित र असिञ्चित खेतमा वर्षा भएपछि मात्र रोपाइँ हुने गरेको छ । सिञ्चित खेतमा जुनसुकै समयमा रोपाइँ गर्न सकिए पनि आकाशे पानीको भरमा रोपाइँ हुने खेतमा वर्षा हुन थालेपछि किसान खेतमा पुग्ने गरेका छन् ।

जिल्लाको हौँचुर, खार्पा, दिक्तेल, नेर्पा, दोर्पाचिउरीडाँडा, मात्तिम, छोरम्बु, बतासे, सप्तेश्वरछिता पोखरी, सिम्पानी, ईन्द्रेणी पोखरी, लिच्कीराम्चे, बड्कादियाले, सावा कटहरे, खोटाङ बजारलगायत ठाउँमा बढी धानखेती हुन्छ । तीमध्ये सिञ्चित ११ हजार ४०० हेक्टर र तीन हजार ८०२ हेक्टर जमीन छ ।

दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा रावाबेँसी, केपिलासगढी, ऐँसेलुखर्क, साकेला, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा अहिले धमाधम रोपाइँ भइरहेको र रोपाइँको काम अन्तिम चरणमा पुगेको केन्द्रले जनाएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकामा भने रोपाइँ ढिलो शुरु भएको छ । उक्त दुई गाउँपालिका बेँसी क्षेत्रमा पर्ने भएकाले गत असार १५ देखि मात्रै रोपाइँ थालिएको हो । यसवर्ष समयमै पानी परेकाले शत–प्रतिशत रोपाइँ हुने भएको र उत्पादनसमेत बढ्ने अनुमान गरिएको केन्द्रका निमित्त प्रमुख राईले बताए । दश स्थानीय तह रहेको जिल्लामा उन्नत जातअन्तर्गत मकवानपुर– एक, खुमल प्रजाति, राधा तथा स्थानीय प्रजातिका बास्मती, चम्पासरी, पात्लेमार्सी, अटेमार्सीलगायत धानको बिउ रोपिएको छ ।

खेतीपातीबाहेक अन्य आम्दानीको अन्य स्रोत नहुने यस जिल्लामा गतवर्ष लामो समयसम्म खडेरी परेकाले ४० प्रतिशत खाद्यान्न उत्पादन घटेको केन्द्रको अनुमान छ । दैनिक छाक टार्न एक मात्र विकल्प रहेको खेतीपातीमा लामो समयको खडेरी र फौजी कीराको प्रकोपले सताएकाले हलेसी तुवाचुङ नगरपालिकाका बासिन्दा भोकमरीमा पारेका थिए । खाद्यान्न सङ्कट भएकाले नगरपालिकाले रु एक करोड ३० लाख बराबरको चामल खरीद गरेर त्यहाँ वितरण गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments