कृषक कथा : कोरोना कहरसँगै विदेशबाट फर्केका पोखरेली युवा कृषिमा भविष्य खोज्दै

कोरोना कहरसँगै विदेशबाट फर्केका युवाले नगदेबालीमा भविष्य खोज्न थालेका छन् । बाँझिएको पुर्ख्यौली जग्गामा विभिन्न जातका फलफूलका बिरुवा रोप्दै उनीहरुले स्वदेशमै भविष्य खोज्न थालेका हुन्।

वैदेशिक रोजगारको सिलसिलामा १० वर्ष क्यानाडामा बिताएका पोखरा–१६ अर्मला टारीबिसौनाका शङ्कर गुरूङले यतिखेर निजी जग्गामा टिमुर, अलैँची, कफी, एभोकाडो र किवीलगायतका जडीबुटी एवं फलफूल रोप्न व्यस्त छन्।

दश वर्षे विदेशको बसाइले उनमा स्वदेशमा नै केही गर्नुपर्दछ भन्ने पाठ सिकायो नै, गरे के हुँदैन भन्ने सन्देश पनि दिन खोजेको छ। स्थानीय प्रजातिका कटुस, चिलाउने, उत्तिसलगायतका बोटसहित झाँडीरहेको सात रोपनी जग्गामा नगदे बालीका बिरूवा रोपेको उनको भनाइ छ।

उनका अनुसार एक दशकदेखि बाँझिएको जग्गामा टिमुरका १५०, अलैँचीलगायत कफी, किवी, एभोकाडो, अम्बा, कागतीलगायत विभिन्न जातका एक हजारभन्दा बढी बिरूवा रोपेको बताए। परीक्षणका रूपमा लगाइएको बिरूवाले दिने उत्पादनका आधारमा बाँकी जग्गामा पनि अन्य आयआर्जन गर्न सकिने नवीनतम प्रजातिका फलफूलका बिरुवा लगाउने सोचमा रहेको उनले बताए।

क्यानाडाबाट स्वदेश फर्केपछि पर्यटकीयस्थल पोखराको लेकसाइडमा होटल व्यवसाय सञ्चालन गर्दै आएका उनले भने, ‘कोभिडको कारण पर्यटन व्यवसायसमेत ठप्प भएपछि गाउँ फर्केर कृषि कर्ममा लाग्न मन जागेको हो।’

वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्ष कतारमा बिताएर स्वदेश फर्किएका अर्मलाकै अर्का युवा किरण गुरुङले आफ्नो लगभग सात रोपनी जग्गामा विभिन्न फलफूलका बिरुवा रोपेका छन्। विदेशबाट फर्केसँगै पोखराको पर्यटकीयस्थल चमेरे गुफामा कोल्डस्टोर्स पसल सञ्चालन गरेका उनले तीन हजार ५०० अलैँची, १५० कफी, ६० टिमुर, २० एभोकाडो र १५ वटा कागतीका बिरुवा रोपेका छन्। हुर्केका बिभिन्न प्रजातिका रुखमा औषधीय गुण भएको मरिचका बिरुवा लगाउने तयारी गरेको उनको भनाइ छ।

उनीहरू त प्रतिनिधि पात्र हुन्, उहाँहरूजस्ता यस क्षेत्रका धेरै विदेशबाट फर्केका युवालगायत स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ ४० घरपरिवारले ५०० रोपनी जग्गामा कृषि वनको अवधारणा अपनाएका छन्। डिभिजन वन कार्यालयद्वारा राष्ट्रिय वृक्षारोपण दशक अभियानअन्तर्गत निःशुल्करूपमा आवश्यक बिरुवा र खाल्टा खन्नका लागि समेत रकम उपलब्ध गराएपछि बाँझिएको जग्गाको उपयोग गर्दै आयआर्जनका लागि विभिन्न जातका बिरुवा रोप्ने प्रेरणा उनीहरूमा जागेको हो ।

अर्मला क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्यका साथ शुरु गरिएको अभियानअन्तर्गत हालसम्म ३५ हजार अलैँची, १२ हजार टिमुर, १० हजार कफी, दुई हजार ५०० एभोकाडो, १०० किवी, दुई हजार अम्बा, एक हजार आँप, ५०० लप्सी, २०० कुरिलो र ठूलो परिणाममा राइखनियो, इपिलइपिल, पाउलोनियालगायतका डालेघाँंसका बिरुवा उपलब्ध गराइएको डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालले जानकारी दिए।

कुरबाट डिही, लप्सीबोट (रघु) हुँदै पात्लेसम्म ३२ घरपरिवारको ५०० रोपनी निजी जग्गामा प्रत्येक वर्ष टिमुरसहित विभिन्न प्रजातिका बिरुवा क्रमिक रोप्दै आएको बताउँदै उनले साविकको अर्मलाको पूरै क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्य रहेको कृषि वन समूहका सचिव जीतबहादुर बस्नेतले जानकारी दिए।0

कृषि वन प्रवद्र्धनमा युवा वर्गले देखाएको उत्साहलाई जीवित राख्न आवश्यक तालिम तथा बजारीकरणमा सम्बन्धित निकायको ध्यान जानुपर्नेमा उनको जोड छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments