वन्यजन्तुको हैरानी : सयौँ रोपनी जमिनको मकै खेती सखाप ,काभ्रेलीको दीर्घकालीन समस्या

काभ्रेपलाञ्चोक : मण्डनदेउपुर नगरपालिका–१ नगरकोटस्थित हलेदेमा बँदेलले यो हप्ता सयौँ रोपनी जमिनको मकै खाँदै फाँडेर सखाप पारेको छ । बँदेलबाट अन्नबाली जोगाउन रातभरी आलोपालो कुरुवा बस्नुपरेको स्थानीयवासीले बताएका छन् । बँदेलको आतङ्कले गाउँलेसमेत डराउन थालेको स्थानीयवासी दीपक बस्ताकोटीले बताउनुभयो । “अन्नबाली मात्र होइन, मानिससमेत डराउनुपर्ने अवस्था सिर्जना भएको छ” उहाँले भन्नुभयो । विशेषगरी राति समूह समूहमा आएका बँदेलले हाल छिप्पिन थालेको मकैबाली सखाप पारेका छन् ।

स्थानीयवासीको निवेदनपछि वडाध्यक्ष लक्ष्मणप्रसाद बस्ताकोटीले नगरपालिकामा बँदेल नियन्त्रणबारे समाधान खोजिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरसँगै जिल्ला प्रशासन र वन कार्यालयमासमेत जानकारी गराएको छु ।” उहाँका अनुसार स्थानीयवासीलाई क्षतिपूर्ति दिनेबारे अनुसन्धान भइरहेको र वन्यजन्तु आतङ्कको समाधानबारे छलफल भइरहेको छ । नगर उपप्रमुख निर्मला शाहीले वन्यजन्तु आतङ्कको स्थायी समाधानको उपाय खोजिने बताउनुभयो ।

गत वर्षपनि मण्डनदेउपुरको १२ वडामध्ये ८ र ९ बाहेक सबैमा बाँदरले खेतबारीको बालीमा क्षति पु¥याएको थियो । पहिलो चरणमा १२ नं वडाका स्थानीयवासीलाई सामूहिक रुपमा प्रयोग गर्न बाँदर धपाउने १५ यन्त्र दिइएको शाहीले बताउनुभयो । उतिबेला साउन लाग्दै बाँदरको गोठालो नै बस्नुपर्ने बाध्यता आएपछि पुनः बँदेलले हैरानी दिँदै अन्नबालीको निकै घाटासमेत व्यहार्नुपरेको थियो । घटनाक्रम नियाल्दा जिल्लामा केही वर्षदेखि जङ्गली जनाबरको आतङ्क बढ्दै गएको देखिन्छ । फलस्वरुप जङ्गल नजिक बस्तीका किसानका बाली नष्ट भएका छन् भने यदाकदा, चितुवाजस्ता हिंस्रक जनावरको आक्रमणले जनधनको क्षति हुँदा मानिससमेत त्रसित अवस्थामा बस्नुपर्ने बाध्यता देखिन्छ ।

पाँचखाल नपा–१३ कोशीदेखाका बासिन्दाले तीन वर्षदेखि बँदेल र बाँदरले बालीमा पु¥याउँदै आएको क्षति सहदै आएका छन् । स्थानीयवासी यमलक्ष्मी थपलियाले भन्नुभयो, “बँदेल र बाँदरले कटहर र अदुवा बाहेक सबै खान्छन्, अझ केही बाली त, रोपेकै दिनदेखि उखेलिदिन्छन् ।” यहाँका बासिन्दा जङ्गली जनाबरबाट बाली जोगाउन स्थानीय जनप्रतिनिधिसँग आग्रह गर्दै आएका छन् । उनीहरु जङ्गली जनावरको आतङ्क नरोकिए विस्थापित हुनुपर्ने बाध्यता रहेको दुःखेसो पोख्छन् । “बँदेलको दुःख त छँदैछ, गाउँमा बाँदर पस्न थालेको पनि दुई वर्षभयो, हामीले नेतासँग हारगुहार माग्दै आएका छौँ” पाँचखालका एक स्थानीयवासीले भन्नुभयो, “नगरप्रमुखलाई पटकपटक भेट्दा आश्वासन मात्र पाइयो ।” नगरप्रमुख महेश खरेलले जङ्गली जनावरको आतङ्कलाई दीर्घकालीन समस्या समाधानको बाटो खोजिरहेको बताउनुभयो ।

बनेपा नगरपालिका–३ काँक्रेका किसान गोकुल बजगार्इंले वन जोगाउँदै जाँदा जङ्गली जनावर पनि बढ्दा मानिसका लागि चुनौती बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “वनमा बँदेलको सङ्ख्या बढ्दा आलुलगायतका खेतीबाली नष्ट हुँदै गइरहेका छन् ।” उहाँका अनुसार प्रत्येक वर्ष बँदेलले खेतबारीमा लगाएको आलु रोपेकै दिन हुडाले सखाप बनाइदिन्छन् । सोही गाउँका रामेश्वर बजगाईंको पीडा पनि उस्तै छ । उहाँले भन्नुभयो, “२२ रोपनीमा हिउँद र वर्षामा दुई सिजन आलु लगाउँछु, कहिले त आलु टिप्नै पाइन्न ।” स्थानीय शिक्षक तुलाप्रसाद दाहालसँग भने बँदेल भगाउन बारीमा रेडियो बजाएर राखेकोसमेत अनुभव छ ।

उता, धुलिखेल नपा–१ देवीटारकी किसान सरस्वती घोरासैनीलाई दुम्सीले हैरान पार्दै आएको वर्षै भइसक्यो । “दुम्सीले वर्षेनि बारीमा लगाएको काँक्रो र तरकारीका बोटनै सखापै पार्ने गर्छ, अहिले पनि अन्य बालीमा क्षति पु¥याउँछ कि भन्ने सम्भावित जोखिममै बसेका छौँ” उहाँले भन्नुभयो । उहाँका अनुसार दुम्सी ओढारमा लुक्ने र कोही नभएको बेला बारीमा आएर काँक्रो तथा अन्य बालीको उम्रिएका बोट उगेलेर फाल्ने गर्दछन् । उहाँले भन्नुभयो, “कहिलेकाँकी त आगो बालेर दुम्सी भगाउन ओढारमा धुवाँ पठाउने कार्य पनि गर्दै आएका छौँ ।” अघिल्लो साल जेठमा पनौती नगरको कुशादेवी क्षेत्रमा पनि बाँदर आएर स्थानीयवासीलाई धेरै दुःख दिएका थिए ।

काभ्रेपलाञ्चोकमा वन क्षेत्रमा जोडिएर रहेका बस्तीमा जङ्गली जनावरले बाली तथा घरपालुवा जनावरलाई समेत क्षति पु¥याएपछि त्यसको समाधानका लागि छलफल चलाउन थालिएको छ । जिल्लास्थित संवाद समूहले केही महिनाअघिसम्म विभिन्न स्थानीय तहमा मानव–वन्यजन्तुद्वन्द्व व्यवस्थापनबारे विभिन्न चरणमा सरोकारवालासँग संवाद गर्दा अधिकांश किसानले बँदेल र बाँदरको समस्या देखाउँदै आएका छन् । डिभिजन वन कार्यालय धुलिखेलका वनअधिकृत देवीचन्द्र पोखरेलले जिल्लाका अधिकांश वनभित्र आवश्यक सङख्या भन्दा बढी बँदेल भइसकेकाले किसानसँग द्वन्द्व बढ्ने खतरा बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “कति सङ्ख्यामा कलिङ गर्ने भनेर नीतिमै परिवर्तन नगरेसम्म जङ्गली जनावरको आतङ्क न्यूनीकरण गर्न सकिँदैन ।”

वन्यजन्तु न्यूनीकरणका लागि कार्यालयले कुनै योजना नबनाए पनि क्षतिपूर्ति दिने काम भइरहेको उहाँको भनाइ छ । “एक वन–एक घाँसे मैदान र एक पोखरी भन्ने सचेतना अभियानमा लगेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार प्राकृतिक रुपमा वनमै वन्यजन्तुको आहारको व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिन्छ । डिभिजन वन कार्यालयका अनुसार विगत १२ वर्षमा काभ्रेपलाञ्चोकमा जङ्गली जनावरको आक्रमणबाट १४ को मृत्यु र पाँच जना घाइते भएका छन् । सो अवधिमा कार्यालयले मानव मृत्यु तथा घाइते, अन्नबाली क्षति, करिब २५० घरपालुवा जनावर तथा पशुपक्षीको क्षतिपूर्ति दिइएको छ । गत वर्ष अन्नबाली र चौपायामा पुगेको क्षतिबापत १४१ जनालाई रु १३ लाख राहत दिएको प्रमुख पोखरेलले बताउनुभयो । मृतकका प्रतिपरिवारलाई १५ लाख तथा घाइतेको अवस्था हेरी उपचार खर्च दिइने गरिएको उहाँको भनाइ छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments