ब्याजमा अनुदान : युवालाई गाउँमै बसेर कृषि उद्यम गर्न आकर्षित

पाल्पा : समसुदिन मियाँ रामपुरको बेझाड बजारका एक प्रतिष्ठित साउण्ड सिस्टम व्यवसायी हुन । यस व्यवसायमा लामो समयदेखि अनुभव लिएका मियाँको अहिलेको दिनचर्या भने हाँसपालनमा बितेको छ ।

रामपुर नगरपालिकाले कृषि उद्यम गर्न इच्छुक युवालाई ब्याज अनुदान उपलब्ध गराउन थालेपछि बैंकबाट रु १२ लाख ऋण झिकेर हाँसपालन सुरु गरेका हुन। “कोरोनाको असरले अहिले साउण्ड सिस्टमको व्यापार छैन, नगरपालिकाको सहयोगमा हाँसपालन सुरु गरेको छु”, उनले भने, “दुई वर्षसम्मको ब्याज पनि तिर्नु नपर्दो रहेछ, नगरपालिकाले युवा लक्षित ब्याज अनुदान कार्यक्रम ल्याएपछि हाँसपालन सुरु गरेको हुँ।”

उनको फार्ममा हाल माउ र चल्ला गरी करिब ५०० हाँस छन् । हाँससँगै उनले स्थानीय जातको ४०० कुखुरा पाल्ने तयारी गरेका छन्। उनले गत वर्ष ४५० हाँस बिक्री गरिसकेका छन । त्यस्तै विनोद श्रेष्ठले पनि गाईभैँसीपालनलाई विस्तार गरेका छन । नगरपालिकाको रु १० लाख बराबरको ब्याज अनुदानमा उनले गाईभैँसीपालनलाई विस्तार गरेका हुन । नगरपालिकाले ब्याज अनुदानमा रकम उपलब्ध गराउन थालेपछि कृषि तथा पशुपालन व्यवसायमा लाग्ने युवालाई प्रेरणा मिलेको उनको भनाइ छ ।

“दुई वर्षसम्म बैंकबाट झिकेको ऋणको ब्याज नगरपालिकाले बुझाइदिने भएपछि व्यवसाय गर्न धेरै राहत पुगेको छ”, उनले भने, “ब्याज बुझाउनु नपरेपछि ऋणको भार कृषकलाई कम परेको छ ।” उनको फार्ममा हाल आठ भैँसी र सात गाई छन् । यस कार्यक्रमले युवालाई गाउँमै बसेर कृषि उद्यम गर्न आकर्षित बनाएको श्रेष्ठको अनुभव छ ।

त्यस्तै स्थानीयवासी बलबहादुर घर्तीले पनि दुई वर्षसम्मको ब्याज नगरपालिकाले तिरिदिने भएपछि कृषि विकास बैंकबाट रु १० लाख कर्जा लिए । उनले सो रकम बङ्गुरपालनमा लगानी गरेका छन । दुई वर्षदेखि बङ्गुरपालन व्यवसाय गरेका उनको फार्ममा हाल १० माउ, ५५ बङ्गुरका पाठापाठी छन् । व्यवसायबाट गरेको आम्दानी बैंकबाट झिकेको ऋणको ब्याज बुझाउनुपर्दा कतिपयले आम्दानी नै लिन नसक्ने अवस्था पनि छ ।

महिनैपिच्छे बैंकमा ब्याज बुझाउने समस्याका कारण कृषकले लगानी र मेहेनतअनुसारको प्रतिफल लिन नसकिरहेको अवस्थामा यस कार्यक्रमले ब्याज बुझाउनुपर्ने झण्झट हटेको अगुवा कृषक कृष्णकुमार अर्यालले बताए । उनले भैँसीपालनका लागि नगरपालिबाट रु १० लाख ब्याज अनुदान कर्जा लिनुभएको छ । नगरपालिकाले सुरु गरेको ब्याज अनुदान कार्यक्रम नमूना रहेको उनको भनाइ छ । “बैंकबाट ऋण झिकेर व्यवसायमा लगानी गरियो, समयमा ब्याज बुझाउन नसक्दा कृषकलाई तनाव हुन्थ्यो, अब नगरपालिकाले दुई वर्षसम्मको ब्याज तिर्ने भएपछि ब्याज बुझाउन कता दाम खोज्ने भन्ने पिरलो हट्यो”, अर्यालले भने ।

रु १२ लाखसम्मको कर्जामा दुई वर्षसम्मको ब्याज पूर्ण अनुदान उपलब्ध गराउने युवा स्वरोजगार कार्यक्रम कार्यविधि तयार गरी आर्थिक वर्ष २०७५÷७६ देखि कार्यक्रम सञ्चालनमा ल्याइयो । रामपुरका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट युवाले कर्जा लिएर व्यवसाय चलाइरहेका छन् । आव २०७६÷७७ मा ३३ युवा उद्यमीले यस कार्यक्रमअन्र्तगत रु दुई करोड १८ लाख ५५ हजार कर्जा लिएका छन् । त्यस्तै आव २०७६÷७७ मा दोस्रो चरणमा ११ युवा उद्यमीले यस कार्यक्रमअन्तर्गत रु ८१ लाख ५० हजार कर्जा लिएका छन् । आव २०७७÷७८ मा २३ युवा उद्यमीले यस कार्यक्रमअन्तर्गत रु एक करोड ९२ लाख कर्जा लिएर व्यवसाय चलाएका छन् ।

लेखक

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments