नमूना कृषक :कृषि फार्म सञ्चालन गरेर मनग्य आम्दानी

पर्वत: पर्वतका दुई महिलाले गाउँमा नमूना कृषक बनेर उदाहरण प्रस्तुत गरेकी छिन् । जलजला गाउँपालिका– ९ बनौका यामकुमारी गर्बुजा र मनकुमारी पुर्जाले गाउँमै संयुक्त लगानी गरी एकीकृत फार्म सञ्चालनमा ल्याएकी छिन् । उनीहरुका श्रीमान् अहिले खाडी मुलुकमा छन् ।

उनीहरुले गत असोज महिनादेखि गाउँमै रहेको खाली जग्गामा ‘बनौँ कृषि तथा पशुपक्षी फार्म’ सञ्चालनमा ल्याएका थिए । अहिले फर्मबाट प्रशस्त आम्दानी समेत हुन थालेको जनाइएको छ ।

रु २५ लाखका लागतमा सञ्चालनमा ल्याइएको सो फर्ममा कुखुरा , बङ्गुरपालन फार्म र तरकारी खेती हुँदै आएको छ । फार्मको क्षमता बढाएर श्रीमान्लाई स्वदेश फर्काउने उनीहरुको योजना छ ।

अहिले फार्ममा एक हजार कुखुरा, झन्डै एक दर्जन बङ्गुर छन् भने तीन टनेलमा मौसमी तथा बेमौसमी तरकारी लगाइएको छ । बनौमा विशेषगरी बेमौसमी तरकारी उत्पादन हुने गर्दछ ।

टमाटर, काउली, बन्दा, खुर्सानी, काँक्रो, घिरौँला, लौकालगायतका तरकारी उत्पादन गरेर बिक्री गर्दै आएका छन् । मगर समुदायको बाहुल्यता रहेको सो गाउँमा यस्ता खालका अन्य फार्म छैनन् ।

एक मात्र फार्म भएकाले पनि यहाँ उत्पादन भएका अधिकांश उपज गाउँमै खपत हुने गरेको सञ्चालक यामकुमारीले जानकारी दिए । उनका अनुसार गत असोजदेखि शुरुआत गरिएको फार्मबाट अहिले आम्दानी हुन थालिसकेको छ ।

दैनिक २४ क्यारेट अण्डा उत्पादन हुन्छन् भने तरकारीबाटसमेत मासिकरुपमा सोचेअनुरुप आम्दानी हुने गरेको छ ।

श्रीमान् लामो समयदेखि कतारको चर्को घाममा पसिना बगाए पनि सोचेजस्तो आम्दानी हुन नसकेपछि आफूहरुले गाउँमै ऋणधन गरेर कृषि फार्म सञ्चालन गरेको अर्की सञ्चालिका मनकुमारीले बताइन् ।

उनीहरु दुवैजना फार्ममै बस्छन् । । बिहान सबेरै उठ्ने एक जनाले कुखुरालाई दाना दिने, अण्डा संगाल्ने, अर्कीले बङ्गुरलाई दानापानी र तरकारीबारीमा गएर गोडमेल गर्ने, उत्पादित तरकारी टिपेर बिक्री गर्ने दैनिकी बनेको छ । उनीहरुले फार्ममै कुटानीपिसानी मेशिनसमेत राखेका छन् । अन्नबाली कुटानीपिसानी गर्न आउनेले उत्पादित अण्डा र तरकारी किनेर लैजाने गरेको मनकुमारीले जानकारी दिइन् ।

“उत्पादन गर्नसक्यो भने बजारको समस्या छैन”, उनले भनिन् , “माग पु¥याउन धौधौ भएको छ ।” उनले यस वर्ष झण्डै रु पाँच लाख आम्दानी हुने अनुमान गरिएको बताइन् । ठूलो धनराशि लगानी गरेर फार्म शुरुआत गरे पनि अहिलेसम्म कतैबाट सहयोग नपाएको उनीहरुको गुनासो छ ।

दर्ता गरेर कानूनीरुपमा सञ्चालन गरिएको भए पनि गाउँपालिका, कृषि ज्ञान केन्द्र, प्रदेश कतैबाट पनि सहयोग नपाएको यामकुमारीले बताइन् ।

वडाध्यक्ष गौबहादुर पुर्जाले उनीहरुको कृषि फार्ममा अनुदानका लागि गाउँपालिकामा पहल भइरहेको जानकारी दिइन् । खोर निर्माण, प्लाष्टिक टनेल निर्माण र उत्पादनमा अनुदानका लागि पहल भइरहेको उनको भनाइ छ ।

सामान्य घरायसी काममा दिन बिताउँदै आएका उनीहरु फार्मबाट प्रशस्त आम्दानी हुन थालेपछि फुरुङ्ग बनेका छन् । गर्न सके जागिर खानु पर्दोरहेनछ, यसैबाट पनि प्रशस्त आम्दानी गर्न सकिँदो रहेछ भन्ने लागेको छ उनीहरुले भन्छन् ।

उनीहरुले श्रीमान्लाई गाउँ फर्किन आग्रह गरिसकेको बताएका छन् । श्रीमान् फर्केपछि व्यवसायको आकार बढाएर फ्रेस हाउससमेत सञ्चालन गर्ने योजना रहेको छ ।

उनीहरुले भने “स्वदेशमा नै केही गर्न सकिन्छ ।” फार्ममा गरेको लगानी उठेपछि भएको फाइदाले छोराछोरीलाई गुणस्तरीय विद्यालयमा पढाउने र रकम बचत गर्ने उनीहरुको योजना छ । फार्म जिल्लाकै नमूना रहेको वडाध्यक्ष पुर्जाले बताइन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments