गाईभैँसीलाई २५०० का दरले पोषण भत्ता वितरण

पर्वत: जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकालाई पशुपालनको माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सञ्चालन गरेको ब्याएका गाईभैँसीलाई पोषण भत्ता दिने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कृत्रिम गर्भाधानबाट गाईभैँसीको नश्ल सुधार गरी उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको हो ।

गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख दीपक श्रेष्ठले कृत्रिम गर्भाधान सेवाप्रति आकर्षण बढाएर पाडापाडी र बाछाबाछी पाल्नेलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । “कृत्रिम गर्भाधान गराएका गाईँभैसीबाट जन्मिएका पाडापाडी र बाछाबाछी चार महिना पालेपछि मात्र अनुदान दिने गरिएको छ”, उनले भने, “यसले गर्दा कृषकले उन्नत जातका पाडापाडी र बाछाबाछी पाल्न थालेका छन् ।”

विशेषगरी जन्मिँदाबित्तिकै भैँसीका पाडापाडी नपाल्ने चलन हटाएर संरक्षण गर्न कार्यक्रम प्रभावकारी देखिएको पशु सेवा प्राविधिक श्रेष्ठले बताए । गत आर्थिक वर्ष २०७७/७८ मा ७२ कृषकलाई पाडापाडी र बाछाबाछी हुर्काएवापत पोषण भत्तास्वरुप दुई हजार ५०० का दरले कूल एक लाख ८० हजार वितरण गरेको शाखाले जनाएको छ ।

जनप्रतिनिधि र पशु सेवा प्राविधिकले बाछाबाछी र पाडापाडीको अनुगमन गरेर अनुदान उपलब्ध गराउने कार्यविधि छ । नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रमका अलावा उन्नत जातको राँगो, साँढे र बोकासमेत वितरण गरेको छ । आठ समूहलाई राँगो खरिद गर्न ३० हजारका दरले अनुदान दिएको छ । बीस जना कृषकले गोठ सुधार गर्न २५ हजारका दरले अनुदान पाएका छन् । दश कृषकलाई घाँस टुक्रा पार्ने च्यापकटर खरिद गर्न २० हजारका दरले अनुदान वितरण गरेको छ ।

पालिकालाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउन बाख्रा, गाईभैँसी र कुखुरापालनको पकेट क्षेत्र बनाएर कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । उत्पादन लागत घटाउन घाँसमा आधारित पशुपालनका लागि बहुवर्षे डाले र भुइँघाँसखेती विस्तारका लागि बीउ र बिरुवा वितरण गरेको छ ।

वार्षिक १९ लाख ५२ हजार ३ सय १४ लिटर दूध आवश्यक पर्ने जलजला गाउँपालिका दूधमा आत्मनिर्भर बनेर निकासी गर्ने अवस्थामा पुगेको छ । वार्षिक २७ लाख ६३ हजार १ सय ५० लिटर दूध उत्पादन हुने जलजलाबाट आठ लाख १० हजार ८ सय ३६ लिटर दूध निकासी हुन्छ । वार्षिक तीन लाख ३ सय ५६ किलोग्राम मासु आवश्यक पर्नेमा एक लाख ७१ हजार ५३ किलोग्राम र १० लाख २९ हजार ७ सय ९२ गोटा अण्डा आवश्यक पर्नेमा छ लाख ५७ हजार २ सय ८० उत्पादन हुने गरेको पशु सेवा शाखाले जनाएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments