‘कर्णालीमा कृषि र वनलाई जोडेर प्राङ्गारिक उत्पादन गर्नुपर्छ’

कर्णाली:कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कृषि र वनलाई जोडेर प्राङ्गारिक उत्पादन बढाउन सकिने बताउनुभएको छ ।

कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज सुर्खेतमा आयोजित कर्णालीमा प्राङ्गारिक कृषि प्रवद्र्धनका लागि सरोकारवालाको क्षमता अभिवृद्धि परियोजना, त्यसको उपलब्धि एवं भावि कार्यदिशा विषयक गोष्ठीमा मन्त्री शर्माले एउटै नीति बनाएर जान नसक्नुले विकासमा बाधा आएको बताउनुभयो । कृषि तथा अन्य मन्त्रालयले निर्माण गर्ने काममा वनले रोक्ने नभई सबै एक नीतिमा रहेर काम गर्नुपर्ने कानुन आवश्यक हुनुपर्नेमा उहाँको जोड थियो ।

मन्त्री शर्माले भन्नुभयो, “विगतमा गरिबीको नाममा र प्राङ्गारिक प्रेदशमा नाममा गैरसरकारी सङ्घसंस्था परिचालन भएन, नेताले भाषण गर्ने, कर्मचारीले कागजात मिलाउने र गैससले सफ्टवेयरमा जोड दिने चलनको अन्त्य गरौँ । टेबल कार्य होइन, फिल्ड कार्य गर्नुपर्दछ । विज्ञसहित फिल्डमै पुगेर काम वातावरणमा जोड दिउँ ।” उहाँले मध्यपश्चिम विश्वविद्यालयले प्राङ्गारिक कृषिको पाठ्यक्रम तयार गर्नुपर्ने बताउनुभयो ।

संयुक्त राष्ट्र सङ्घ खाद्य तथा कृषि सङ्गठन (एफएओ)का राष्ट्रिय प्रतिनिधि केन शिमिजुले कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको प्राङ्गारिक प्रवद्र्धनका लागि सरोकारवालाको क्षमता अभिवृद्धि परियोजना धेरै ठूलो उपलब्धि भएको बताउनुभयो । “विश्वमा छ सय मिलियन मान्छे दूषित खाना खान्छन् र चार लाख मान्छेहरु त्यसैबाट मरिरहेका छन्”, उहाँले भन्नुभयो, “खाद्य तथा कृषि सङ्गठनले नेपालमा प्रोटिन, पोषण, राम्रो जीवन तथा वातावरणका क्षेत्रमा काम गर्दैछ ।”

उहाँले प्राङ्गारिक खेतीमा जोड दिएको कर्णालीलाई आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने जनाउनुभयो । कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव डा राजेन्द्रप्रसाद मिश्रले रु दुई अर्ब ५० करोडको परियोजनालाई अपनत्व लिएर कर्णाली सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कर्णालीमा बन्ने उद्योग पनि प्राङ्गारिकतामा आधारित हुनुपर्ने बताउनुभयो ।

कर्णाली सरकारले एक सय प्राङ्गारिक गाउँ बनाउने उद्देश्य राखेर परियोजना सञ्चालन गर्न सुझाउँदै सचिव मिश्रले प्रदेश सरकारलाई कृषि तथा पशुपक्षी मन्त्रालयले सशर्त लगानी गर्ने जनाउनुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशका सचिव आनन्द सारुले प्राङ्गारिक प्रदेश निर्माणका लागि प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाउनुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले कर्णालीमा प्राङ्गारिक मलको कारखाना आवश्यक रहेको जनाउनुभयो । कर्णाली अहिले पनि ३८ दशमलव ५७ प्रतिशत वन क्षेत्र रहेको उल्लेख गर्दै उहाँले पशुपालन खेतीमा जोड दिन आग्रह गर्नुभयो । भनाइ र गराइमा भिन्नता हुँदा अपेक्षाकृत विकास हुन नसकेको सचिव जोशीको भनाइ थियो ।

कृषि मन्त्रालयका प्रवक्ता एवं परियोजनाका सम्पर्क व्यक्ति धनबहादुर कठायत र तालिम विज्ञ मधुसुदन पौडेलले कर्णालीको जुम्ला, मुगु, दैलेख र सुर्खेतका १० प्राङ्गारिक कृषि पाठशालाको सञ्चालन प्रक्रिया, परम्परागत र जैविक कृषिबीचको तुलनात्मक काम, परियोजनाको उपलब्धि तथा सिकाइ र त्यसको भावि कार्यदिशासहितको कार्यपत्र प्रस्तुत गर्नुभयो ।

कृषि सचिव डा लेखराज दाहालले छ लाख जनसङ्ख्या भएको सिक्किममा १९ लाख पर्यटक भित्र्याउन सक्षम भए झैँ कर्णालीले पनि कृषि पर्यटनमा जोड दिनुपर्ने बताउनुभयो । उक्त गोष्ठीमा किसान, विकास साझेदार निकायका प्रतिनिधि, प्राङ्गारिक कृषि खेती सरोकारवाला तथा पत्रकार सञ्चारकर्मीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments