खसीबोकाको मूल्य बढ्यो : मुस्ताङमै प्रतिकिलो १००० बढी मूल्य,दसैंमा च्यांग्रा अभाव हुने

चाडपर्व नजिकिँदै गर्दा बजारमा खसीबोकाको मूल्य बढेको छ । बाढीपहिरोका कारण पर्याप्त खसीबोका ल्याउन नसकेको कारण देखाउँदै व्यवसायीले मूल्य बढाएका हुन् ।

यो वर्ष प्रतिकेजीमा ३० देखि ३५ रुपैयाँ मूल्य बढेको व्यवसायी दीपक थापाले जानकारी दिए । उनका अनुसार, स्वदेशी खसी प्रतिकेजी ६ सय ४० देखि ६ सय ५० रुपैयाँ र भारतीय खसी प्रतिकेजी ७ सय रुपैयाँ मूल्य रहेको छ । बजारमा कम भित्रिएकाले पनि मूल्य बढ्न गएको उनको भनाइ छ । दसैंलाई लक्षित गरेर सोह्र श्राद्धपछि उपत्यकामा खसीबोका भित्र्याइने उनले जानकारी दिए ।

दसैंको बेला बजारमा खसीबोकाको खपत धेरै हुने हुँदा व्यवसायीले गाउँ गाउँबाट खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्ने गरेका छन् । दसैंको बेला धेरैले मासु उपभोग गर्ने भएकाले पनि बजारमा अन्य समयको तुलनामा खसीबोकाको माग बढी हुने गरेको छ । दसैंको बेला उपत्यकामा ४० देखि ५० हजार संख्यामा खसीबोका खपत हुने व्यवसायीको अनुमान छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी मुलुक भारतबाट समेत खसीबोका आयात गर्ने गरिएको छ । पछिल्लो समय खसीबोकाको उत्पादन बढ्दै थालेपछि २० प्रतिशत मात्र आयात गर्नुपरेको व्यवसायीको भनाइ छ ।

यो वर्ष बजारमा च्यांग्राको भने अभाव हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसअघि एक हजार च्यांग्रा ल्याउने निर्णय गरे पनि खरिद गर्न नसक्दा यस्तो अवस्था आएको हो । कम्पनीले यो वर्ष २ हजार संख्यामा खसीबोका भने खरिद गर्ने भएको छ । च्यांग्रा महँगो भएकाले नल्याउने निर्णय गरेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले बताए । चिनियाँ च्यांग्रा नआएको र स्वदेशी महँगो भएको खरिद नगरिने उनको भनाइ छ ।

कोभिडका कारण गत वर्षदेखि तिब्बतबाट च्यांग्रा नेपाल आएको छैन । स्वदेशी उत्पादनले मात्र बजारको माग धान्ने अवस्था छैन । अहिले मनाङ र मुस्ताङमै उत्पादन कम छ । उत्पादन कम र माग धेरै हुँदा मूल्य बढेर खरिद गर्न नसकिने कम्पनीले जनाएको छ ।

मुस्ताङमै प्रतिकिलो एक हजारभन्दा बढी मूल्य रहेको च्यांग्रा यहाँ ल्याएर बिक्री गर्न नसकिने कम्पनीले जानकारी दिएको छ । हरेक वर्ष दसैंको लागि उपत्यकामा मात्र करिब १० हजार च्याङग्रा खरिद बिक्री हुँदै आएको थियो । स्वदेशीसँगै तिब्बतबाट पनि च्यांग्रा आउने भएकाले व्यापारीहरुले सहजै खरिद गरेर उपत्यका ल्याउने गरेका थिए ।

गत वर्ष च्यांग्राको मूल्य प्रतिकिलो ८ सय रुपैयाँ थियो । यो वर्ष तिब्बतबाट च्यांग्रा नआएकाले बजारमा अभाव भएको व्यवसायीको भनाइ छ । मुलुकमा उत्पादन कम भएकाले खरिद गर्न नपाएको व्यवसायीले बताएका छन् । च्यांग्रा हिमाली क्षेत्रमा पाल्ने गरिन्छ । कारोबार दैनिकमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments