रैथाने बालीको संरक्षण गर्नअर्गानिक मिनी मार्केट सञ्चालन

खलङ्गा : जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाले अर्ग्यानिक मिनी मार्केट सञ्चालनमा ल्याएको छ । अति लोकप्रिय बचत तथा ऋण लगानीको क्षेत्रमा काम गर्दै आएको चन्दननाथ सहकारीले जुम्ला सदरमुकाम खलङ्गा बजारमा सो मिनी मार्केट सञ्चालनमा ल्याएको सहकारीका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “रैथाने बालीको उत्पादनलाई बढवा दिनका लागि सहकारीले अर्ग्यानिक मिनी मार्केट सञ्चालनमा ल्याएको छ ।” जुम्लामा उत्पादन हुने अर्ग्यानिक अन्नबाली स्याउ, सिमी, आलु, मकै, कोदो, फापर, मार्सी धान, ओखर, टिमुर चिनो, कागुनो, स्याउ, घ्यू, महलगायतका रैथाने वस्तुको उत्पादन बढाउने उद्देश्यले अर्ग्यानिक मिनी मार्केट पसल खोलेको सहकारीका कार्यकारी व्यवस्थापक पाण्डेले बताउनुभयो ।

सहकारीले रु ५० लाख बराबरको मार्सीधान र सिमी खरिद गर्ने भएको छ । रु ३० हजारको ओखर खरिद गरेको छ । अर्ग्यानिक मिनी मार्केटबाट दैनिक रु एक लाख बराबरको अर्ग्यानिक वस्तु बिक्री हुने गरेको सहकारीले जनाएको छ । जिल्लामा उत्पादन हुने रैथाने वस्तु गाउँ गाउँमा रहेका आफ्ना सदस्यबाट सङ्कलन गर्ने गरिएको व्यवस्थापक पाण्डेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बचत उठाउँदा नगद मात्रै लिने गरेको छैन, सदस्यको सहजताका लागि सिमी, चामल, फापरजस्ता अर्ग्यानिक वस्तु पनि लिने गरेका छौँ । सिमी चामलसँग पनि बचत साट्ने गरिएको छ । जुम्लामै उत्पादन भएको रैथाने बालीलाई प्राथमिकता दिएका छौँ ।” अर्ग्यानिक उत्पादन गर्ने किसानलाई सहकारीले रु २० हजार बराबार अनुदान दिने गरेको छ ।

जुम्लामा मात्रै १८ हजार सहकारीका सदस्य रहेका छन् । तीमध्ये १२ हजार गाउँमा छन् । गाउँमा भएका १२ हजार सदस्यको उत्पादन सहकारीले आफैँ लिने गरेको सहकारीका व्यवस्थापक पाण्डेले बताउनुभयो । जुम्लामा उत्पादित रैथाने बाली मात्रै नभई राडीपाखी, लिउ, उनीबाट बनाइएका स्वीटर, कोटको कपडा, खराएका टोपीलगायत सम्पूर्ण सामग्री मिनी मार्केटबाट बिक्री हुने गरेको पनि सहकारीले जनाएको छ । पछिल्लो समयमा चन्दननाथ सहकारी वित्तीय कारोबारमा कर्णालीकै अब्बल बन्दै गएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments