अदुवाले मूल्य नपाएपछि सल्यानका किसान चिन्तित

सल्यान: सल्यानको प्रमुख नगदे बालीको रुपमा रहेको अदुवाले मूल्य नपाएपछि किसान चिन्तित बनेका छन् ।

वर्षेनी अदुवाको मूल्य ओरालो लागेपछि किसान झनै समस्यामा परेका छन् ।

गत वर्ष ५० रुपैयाँ किलोसम्म बिक्री गरेका किसानहरू यो वर्ष भने ३० रुपैयाँ किलो कारोबार भएपछि किसान थप मारमा परेका हुन ।

लगातार अदुवाको मूल्य घट्दै जाँदा व्यावसायिक अदुवा खेती गर्ने किसानहरूको सङ्ख्या घट्दै गएको शारदा नगरपालिका–७ रामेखोलाका किसान कृष्णा बुढाथोकीले बताउनुभयो ।

बजार मूल्य नै पाउन छाडेपछि विगतका वर्षहरूमा १० रोपनीसम्म अदुवा लगाउने गरेको भए पनि आजभोलि भने दुई रोपनीमा खुम्चिनु परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अदुवा खेती पनि के आशाले गर्नु बिउ, मल, ज्याला जोड्दा उल्टो घाटा हुन्छ । तीन हजार रुपैयाँ क्विन्टल बिक्री गरेर लगानी नै उठ्दैन ।”

बारीमा कुहिनुभन्दा उधारोमा नै भए पनि तीन हजार रुपैयाँ क्विन्टल बिक्री गरेको अर्का किसान कमल गिरीले बताउनुभयो ।

सात क्विन्टल अदुवा तीन हजार रुपैयाँ क्विन्टल बिक्री गर्नुपर्ने बाध्यता भएको उहाँको भनाई छ ।

अदुवाको बिक्रीमा व्यापक गिरावट आएपछि किसानको लगानी डुब्ने अवस्था सृजना भएको उहाँ बताउनुहुन्छ । अदुवालाई थोरै रोपेर धेरै फलाउन सकिने, कम मिहेनत पर्ने खाद्यान्न बालीभन्दा पर्याप्त आम्दानी गर्न सकिने उपजका रुपमा लिइन्छ तर निरन्तर अदुवाको बजारमा समस्या आउँदा समस्या भएको किसानहरू बत्ताउँछन् ।

अदुवाको मूल्य घटेपछि यस वर्ष लगानी नै गुम्ने खतरा भएको हरिमान पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “८ हजार रुपैयाँ क्विन्टल किनेर रोपेको मूल्य नै यो वर्ष नउठ्ने भयो ।

अदुवाको बजारीकरणको सुनिश्चितता नहुँदा किसान मारमा पर्दै आइरहेका छन् । अदुवा बिक्रीका लागि भारतीय बजारमा भर पर्नुपर्ने अवस्था रहेको छ ।

सल्यानमा १ हजार ७ सय २० हेक्टर क्षेत्रफलमा २५ हजार ९ सय ७२ मेट्रिक टन अदुवा उत्पादन हुँदै आइरहेको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments