धानको मूल्य निर्धारण

धनगढी — सरकारले यो वर्ष धानबाली भित्र्याउने समयमै खरिद मूल्य निर्धारण गरेको छ । तोकिएको मूल्यमा खरिद बिक्रीलाई कडाइका साथ कार्यान्वयन गराउन प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

सम्बन्धित जिल्लाका प्रशासन कार्यालयलाई खरिद बिक्रीको अनुगमनमा प्रभावकारी भूमिका निर्वाह गर्न भनेको छ । विगतमा धानको मूल्य निर्धारणमा ढिलाइ हुँदा कैलाली र कञ्चनपुरका किसान न्यून मूल्यमा धान बिक्री गर्न बाध्य थिए । यो वर्ष मोटो धानको मूल्य प्रति क्विन्टल २ हजार ३ सय निर्धारण गरिएको छ । गत वर्ष २ हजार २ सय थियो । मध्यम धानको मूल्य २ हजार ४ सय ६० रुपैयाँ प्रति क्विन्टल तोकिएको छ । गतवर्षभन्दा यो वर्षको मूल्यमा १२ पैसा मात्र वृद्धि गरिएको छ ।

खरिद मूल्य तोकिएपछि किसानहरूले निर्धारित मूल्यमै बिक्री गर्न पाउनेछन् । खाद्य संस्थान र बीउ बिजन कार्यालयले मात्रै सरकारले तोकेको मूल्यमा धान खरिद गर्छन् । उनीहरूले खरिद गर्ने परिमाण सीमित छ । कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले निर्धारित मूल्यमै खरिद बिक्रीलाई कडाइका साथ कार्यान्वयन गरिने बताए ।

खाद्य संस्थानको सेती अञ्चल कार्यालयले ७ हजार मेट्रिक टन मात्र खरिद गर्ने योजना बनाएको छ । बीउ बिजन कम्पनी लिमिटेडले ५ सय टन मात्रै खरिद गर्नेछ । व्यापारीहरूले २५ हजार क्विन्टल धान खरिद गर्ने सम्बन्धित व्यावसायिक संस्थाहरूले जनाएका छन् ।

सरकारी निकायले न्यून परिमाणमा धान खरिदको योजना बनाएकाले किसानहरू घुमिफिरी व्यापारीकै चाहनाअनुसारको मूल्यमा बिक्री गर्न बाध्य हुन सक्ने सम्भावना छ । खाद्य संस्थान र बीउ बिजन कम्पनीलाई खरिद कोटा बढाउन मन्त्रालयले आग्रह गरेको छ । ‘यी निकायले खरिद परिमाण वृद्धि नगरे किसानहरू फेरि सस्तोमै बिक्री गर्न बाध्य हुन सक्छन्,’ मन्त्रालयका निमित्त सचिव यज्ञराज जोशीले भने, ‘निजी क्षेत्रका व्यापारीहरूलाई तोकिएको मूल्यभन्दा कममा खरिद गर्न नदिन प्रशासनले अनुगमन गर्नुपर्छ ।’

खाद्य संस्थानका अञ्चल प्रमुख प्रेमनारायण भण्डारीले प्रदेश मन्त्रालयको आग्रहअनुसार खरिद कोटा वृद्धि गर्न माथिल्लो निकायमा पत्राचार गर्ने बताए । ‘बढीमा १० हजार मेट्रिक टनसम्म खरिद हुनसक्छ,’ उनले भने ।सीमापारि भारतमा भने सोही गुणस्तरको धानको मूल्य मोटोको २ हजार ८ सय प्रति क्विन्टल तोकिएको छ ।

मध्यमको मूल्य ३ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । यताबाट सस्तोमा खरिद गरेर उता लाने र पुन: महँगोमै चामल खरिद गर्नुपर्ने चक्र घुम्ने जोखिमसमेत रहेको निमित्त सचिव जोशीले बताए । कैलालीमा मात्रै करिब ३ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । कञ्चनपुरमा १ लाख ९० हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

प्रदेशअन्तर्गतका पहाडी जिल्लाबाट धान बिक्री वितरण हुँदैन । विगतमा समयमै धानको मूल्य निर्धारण नहुँदा किसान न्यून मूल्यमा व्यापारीलाई बिक्री गर्न बाध्य थिए । घोडाघोडी ६ का किसान प्रेम डगौरा मूल्य निर्धारण नहुँदा व्यापारीहरूलाई उनीहरूकै इच्छाअनुसारको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । ‘यसपालि अलि सजिलो होला,’ उनले भने ।

www.kantipurdaily.com

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments