हिमपहिरामा पुरिएका छन्त्याल अझै फेला परेनन्

गलेश्वर: म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमपहिरामा पुरिएर बेपत्ता भएका रामबहादुर छन्त्याल अझै फेला परेका छैनन् । जिल्लाकै अति विकट मानिने गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण गत बिहीबार दिउँसो हिउँपहिरामा पुरिएका ५० वर्षीय रामबहादुर छन्त्यालको अवस्था अझैसम्म पनि थाहा हुन नसकेको हो । “खोजीकार्य जारी छ, हिउँ नपग्लिएकाले बेपत्ता भएको स्थानमा खोज्न समस्या भइरहेको छ”, गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले भन्नुभयो ।

उहाँका अनुसार एक्कासी भारी हिमपातपछि भेडीगोठमा जानेक्रममा छन्त्याल चिप्लिएर खोंचमा लडेपछि अन्य साथीहरूले उद्धारको प्रयास गरे पनि हिउँमा पुरिएकाले प्रयास सफल हुन सकेन । सोमबार बिहानदेखि ४० स्थानीयवासीले छन्त्याल बेपत्ता भएको स्थान आसपासका क्षेत्रमा खोजी गरेका थिए ।

दैनिक स्थानीयवासीले समूह बनाएर बेपत्ता छन्त्यालको खोजीमा जुटेका छन् । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसिरहेको अवस्थामा उनीहरूको उद्धार गरिएको वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । उनीहरू अहिले भेडीगोठमा नै रहेका छन् । भेडाको बथानसहित गोठमा रहेकाले अनुकूल मौसम भएपछि फर्किने गोठमा रहेका बुद्धि छन्त्यालको भनाइ उद्धृत गर्दै वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।

समुद्र सतहबाट तीन हजार २२० मिटर उचाइमा अवस्थित गुर्जा जोड्ने पदमार्गसमेत हिउँले छोपेको छ । हाल मोबाइल र इन्टरनेटसेवा सञ्चालन भएकाले स्थानीयवासीलाई सम्पर्कमा सहज भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताउनुभयो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments