सहरबाट गाउँ फर्केर व्यवसाय गर्दा मुला बेचेरै चार लाख आम्दानी

पाल्पा : शिक्षा, रोजगारी र अवसरको खोजीमा अधिकांशको सहरी क्षेत्रमा छिर्ने क्रम बढ्दो छ । पहाडी जिल्ला, पाल्पा, गुल्मी र अर्घाखाँचीबाट ग्रामीण क्षेत्र त्यागेर रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत सहरी क्षेत्रमा अधिकांशले अवसरको खोजीमा बसाइँसराइ गरिरहेका छन् ।

प्रशस्त अर्थोपार्जन गर्न सहर तथा विदेशै भौतारिन नपर्ने तर ग्रामीण क्षेत्रमै पनि मिहिनेत गरे के हुँदैन र भन्ने उदाहरण बनेका छन् । जिल्लाको रिब्दीकोट गाउँपालिका–२ लघुवाका सन्तोषराज नेपाल । गाउँमा फर्केर अहिले उनी रिसोर्ट, कृषि तथा पशुपालन व्यवसाय गरेर अरूलाई पनि रोजगारी दिन सक्षम भएका छन् ।
ग्रामीण बस्तीबाट अवसरको अभावमा सहरी क्षेत्रमा युवाहरुको आकर्षक बढेर गाउँका घरहरु रित्तो हुन पुगेको अवस्थामा पछिल्ला वर्षहरुमा प्रशस्त अर्थोपार्जनका सम्भावनाले ग्रामीण क्षेत्रमै फर्कनेहरू पनि बढ्न थालेका छन् ।

सोही स्थानका सन्तोषराज नेपाल चार वर्षअघि बाउबाजेको पुख्र्यौली गाउँ फर्किएका छन् । ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने नाराका साथ गाउँ फर्केर रिसोर्ट, कृषि तथा पशुपालन व्यवसयामा उनी अहिले व्यस्त हुन् । चालीस रोपनी जग्गामा कागती, लिची, मुला, साग खेती गरिएको छ ।

फेस्रभ्याली एग्रो फार्म प्रालिमा लिची र अर्को वर्षदेखि कागती उत्पादन हुँदैछ । मुलाबाट मात्र यस वर्ष चार लाख आम्दानी भएको उनले बताए ।

मिहिनेत गरे गाउँमा पनि प्रशस्त आम्दानी गर्ने वातावरण सहरमा भन्दा झनै फराकिलो छ । सहरी क्षेत्रमा पैसा कमाउन ठूलै प्रतिस्पर्धा गर्नुपर्ने र लगानी पनि बढी लगाउनुपर्ने बाध्यता रहेको नेपालको भनाइ थियो । ग्रामीण क्षेत्रमा कृषि, पशुपालन तथा होटल व्यवसायमा सानो लगानी र विना प्रतिस्पर्धामा काम गर्ने वातावरण रहेको उनले जानकारी दिए ।

नेपालको कृषि फार्म नजिकै रिसोर्ट र उन्नत जातको बाख्रा र स्थानीय जातका कुखुरापालन व्यवसाय छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिस अहिले पशुपालन व्यवसायबाट विस्थापित भए पनि नेपालले भने यसवर्ष स्थानीय जातका दुई सय कुखुराबाट दुई लाख र उन्नत जातका बाख्राबाट चार लाख आम्दानी भएको जानकारी दिए ।

स्याङ्जाका दीपक पाण्डेय कोरोना महामारीका बेला कृषि र पशुपालन व्यवसायतर्फ आकर्षित हुन् । तानसेन नगरपालिकाको कैलाशनगरबाट रिब्दीकोट गाउँपालिकाको देउरालीमा फर्किनुभएका उनले चारवटा भैँसी र दुईवटा गाईबाट दैनिक ४० लिटर दूध बिक्री गर्दै आएका छन् ।

पाण्डेयले गाई तथा भैँसीको दूध बिक्रीबाट वार्षिक रु दश लाख आम्दानी गर्दै आएका छन् । उनले व्यावसायिकरूपले गाईभैँसी र बाख्रासँगै तरकारी उत्पादन पनि गर्दै आएका छन् । ७५ लाख खर्चेर रिसोर्ट सञ्चालनका लागि संरचना निर्माण गरेका पाण्डेयले करिब दुई करोडको लगानीमा एक वर्षभित्र रिसोर्टको सबै काम पूरा गरी सञ्चालन गर्ने तयारीमा रहे पनि कोरोनाले गर्दा संरचना निर्माणमा समस्या भएको बताए ।

आर्थिक अवसरहरुको खोजीमा सहरमा प्रवेश गरी आम्दानी गर्ने मान्यता अहिले बिस्तरै हटदै गएको छ । कृषि तथा पशुपालनका क्षेत्रमा अधिकांश युवा विदेशबाट फर्केर स्वदेशमै आयआर्जनमा सक्रिय रहेका छन् ।

पछिल्ला वर्षहरुमा सहरमा बसोबास गर्नेहरुको पनि ग्रामीण क्षेत्रमै फर्केर कृषि तथा पशुपालन, रिसोर्ट सञ्चालन गर्ने क्रम बढ्न थालेकाले मिहिनेत गर्नसके ग्रामीण क्षेत्रमा पनि प्रशस्त आम्दानी गर्न सकिने अवसरको ढोका खुल्ला गरिदिएको छ ।

गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले ग्रामीण क्षेत्रका बासिन्दालाई रोजगार तथा स्वरोजगार बनाउन कृषि तथा पशुपालनका क्षेत्रमा अनुदानको व्यवस्था गरिएको बताए । उनले पहिलाको तुलनामा अहिले कृषि तथा पशुपालनका क्षेत्रमा रामै्र प्रगति भएको, तरकारी, मासु, दूधमा बिस्तारै गाउँपालिका आत्मनिर्भर बन्दै गएको जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments