“विदेशमा भोगेको दुःख सम्झेर यहाँ मेहनत गरेको छु, आफ्नै परिवारजस्तो लाग्छ भेडीगोठ”

बलेवा: तमानखोला गाउँपालिका–२ कटेरी गाउँका ढालेन्द्र छन्त्याल वर्षमा एक दुई पटकमात्रै घरमा पुग्छन् । उच्च पहाडका जङ्गलमा भेडाको बथानका पछि उनको बाँकी दैनिकी चलिरहेको छ ।

वर्षाको समयमा तमानखोलाका उच्च पहाडमा चर्ने उनका भेडा हिउँदमा हिउँ परेपछि गलकोट नगरपालिकाको उच्च पहाडमा पुग्छन् । तीनै भेडाको पछि लाग्ने ढालेन्द्र र उनका साथीको दैनिकी हिउँद र वर्षामा फरक–फरक ठाउँमा चल्ने गरेको छ । ढालेन्द्रका साना ठूला गरेर १०० भेडा छन् । अरु सातजना साथीका पनि सोही सङ्ख्यामा भेडा छन् । 

सबैका भेडा एकै ठाउँमा चराउँदा धमिरो लागेको काठजस्तै देखिन्छन् पहाड । भेडीगोठका गोठाला ढालेन्द्र पेशामा सन्तुष्ट छन् । साथीभाइ पालो गरेर घरपरिवारको रेखदेख गर्न पाइने, आफ्नै माटो, आफ्नै भाषा र आफ्नासँगै बसेर काम गर्दा हुने आम्दानीले उनलाई सन्तुष्ट बनाएको छ ।

लामो समय दुबई, कतार र साउदी अरबको तातो हावामा काम गर्नुभएका ढालेन्द्रले भेडा पाल्न थालेको पाँच वर्ष भयो । उनीजस्तै विदेशमा दुःख भोगेर देशको माटो सम्झेका साथीको सहकार्यमा भेडा पाल्न थालेका ढालेन्द्रले सुरुमा रु चार लाख लगानी गरेकाछन् ।

अहिले वर्षमा सबै खर्च कटाएर रु तीन लाख आम्दानी हुन्छ । “विदेशमा भोगेको दुःख सम्झेर यहाँ मेहनत गरेको छु, आफ्नै परिवारजस्तो लाग्छ भेडीगोठ”, उनले भने, “अब विदेश जान्न यतै रमाइलो छ ।” उनीहरुले एउटा वयस्क भेडालाई रु ३५ हजारसम्ममा बेच्छन् । साना पाठापाठीको पनि रु १० देखि १५ हजार पर्छ । “विदेश पुगेपछि गाउँमै केही गर्न सकिन्छ भन्ने बुझेँ”, उनले भने, “अहिले थालेको व्यवसायमा सन्तुष्ट छु ।” भेडापालनका लागि चरण क्षेत्र राम्रो भएकाले तमानखोला गाउँपालिका उपयुक्त क्षेत्र हो । अन्य उत्पादन कम हुने, जङ्गल र पाखा धेरै भएकाले यहाँका किसानले मासुजन्य उत्पादनमा ध्यान दिन्छन् । भेडाको उन र मासु दुवैबाट किसानले मुनाफा लिने गरेका छन् ।

कटेरी गाउँकै ओम पुनले आफ्नो जीवनको महत्वपूर्ण समय विदेशी माटोमा बिताए ।४८ वर्षीय ओम पुन बहराइन र साउदी अरबको तातो हावामा १२÷१२ वर्ष काम गरेर अहिले गाउँ फर्किएकाछन् । विदेशमा कमाएको पैसाले उनको पोखरामा घर छ । तर, ओमबहादुर भने तमानको हावापानी सम्झेर गाउँ फर्किएका हुन् । “पोखरा बस्नै मन लागेन, भाइ बसाइँ सरेर गयो, बाबाआमा एक्लै हुनुभयो, अनि म गाउँ फर्किएँ”, उनले भने, “यहाँ शिक्षा, स्वास्थ्य र पूर्वाधार नभएर सुविधा सम्पन्न ठाउँ खोज्ने हामी अब यहीँ ती सुविधा पु¥याउन लाग्नुपर्छ ।”


पुनले बहराइनमा रहँदा गाउँकै जनज्योति आधारभूत विद्यालयको सुविधा सम्पन्न भवन बनाउन जग्गाका लागि सहयोग अभियान चलाएका थिए । अभियानमा सङ्कलन भएको रु आठ लाखले जग्गा खरिद गरेर अहिले विद्यालयको पक्की भवन बनेको छ । पैतृक सम्पत्ति गाउँकै पाखोबारीमा खेतीपाती गरेर ओमबहादुरले घरखर्च चलाएकाछन् । जन्मे–हुर्केको ठाउँमा रमेर बाबाआमाको सेवामा खटेका ओमबहादुर विदेशबाट गाउँ फर्केर पाखो बारी कोतर्ने उदाहरण हुन् । कटेरिकै चुडामणि छन्त्याल पनि विदेशको कमाइले आर्जेको सम्पत्तिको सुख सयल छोडेर गाउँमा तरकारी फार्म चलाएर बसेकाछन् । 

बसाइँ सरेर जानेहरुले जग्गा नबेच्ने र बसाइँसराइको कागज नगर्ने भएकाले यहाँको वास्तविक तथ्याङ्क भने छैन् । तर गाउँमा सुविधा नभएको भनेर छोड्ने दिनानुदिन बढ्दै छन् । बसाइँ सर्ने रोगमा मलमपट्टी लगाउन गाउँ भित्रिएका ढालेन्द्र, ओमबहादुर र चुडामणिजस्ता युवा पनि छन् । विदेशबाट फर्केर गाउँमा उद्यम, व्यवसाय र खेतीपाती गर्नेलाई गाउँपालिकाले पनि प्रोत्साहनका कार्यक्रम ल्याएको छ । “गतवर्षमा ४० वटा भेडीगोठ सुधारका लागि अनुदान दिएका थियौं”, गाउँपालिका अध्यक्ष जोकलाल बुढाले भने, “ऋणमा सहुलियत, व्यवसायमा अनुदान र प्रविधि तथा तालिम निःशुल्क उपलव्ध गराउने कार्यक्रम हामीसँग छन् ।” गाउँ फर्केका युवाले गाउँमै भविष्य खोज्ने उनले बताए ।
 

तीनै तहका सरकारले साथ सहयोग गरे गाउँमा पनि नमूना काम गर्न सकिने उदाहरण उनीहरुले दिएको स्थानीयवासी बताउँछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments