डोजरे विकासको असर: सुके कुवा, हराए झरना

गलेश्वर : टन्टलापुर घामको उखुम गर्मीमा झरना र कुवाको चिसो पानी पिउँदा बेग्लै आनन्द आउँथ्यो । आँतै हररर हुने गरेका ती दिनलाई सम्झँदै जेठो पुस्ता अहिलेको अवस्थाप्रति गुनासो गरिरहेको पाइन्छ ।

पहाडका कन्दराबाट रसाएर बग्ने पानीका झरना र कुवा अहिले सुक्दै गएपछि गर्मी सुरु हुने बित्तिकै खानेपानीको अभाव भएको छ । वनजङ्गल, डाँडाकाँडा जताततै जथाभावी डोजरले सडक खन्दा बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप त बढेका छन् नै गाउँ बस्तीमा खानेपानीको अभाव हुन थालेको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी चलेका डोजरले सडक निर्माण भएर यातायात त सुगम भएको छ तर पानीका मुहान सुकेपछि खानेपानी बोक्न स्थानीयवासीलाई सास्ती बढेको छ । डोजरले वनजङ्गल, डाँडाकाँडा भत्काउँदै सडक खन्न थालेपछि थुप्रिएको माटोले म्याग्दीका विभिन्न स्थानीय तहमा रहेका खानेपानीका मुहान, झरना र कुवा समेत नासिएका छन् ।

डोजरले जथाभावी सडक खन्दा पानीका प्राकृतिक मुहान सङ्कटमा परेको जरुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव ओमबहादुर थापाले बताउनुभयो ।

गाउँको सिरानमा रहेका पानीका मुहान सुकेपछि म्याग्दीका विभिन्न ठाउँका पुछारमा रहेका खोलाबाट लिफ्ट प्रविधिका खानेपानी योजना निर्माण गरिएका छन् । लिफ्ट प्रविधिबाट अहिले म्याग्दीका बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडामा १७ वटा लिफ्ट प्रविधिका खानेपानी योजना निर्माण भइरहेको खानेपानी तथा सररफाई डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।

डोजरकै कारणले मालिका गाउँपालिका–५ देवीस्थानमा खानेपानीका मुहान सुकेका छन् । माई थान मन्दिर नजिकै रहेका चार वटा धारा र कुवामा पानी नहुँदा अहिले गाउँले खोला र टाढा रहेका पानीका मुहानमा खानेपानी लिन जान बाध्य भएका स्थानीयवासी इन्द्रमति फगामीले बताउनुभयो ।

जथाभावी डोजर चलाएर सडक खन्दा जमिन हल्लिएको र सडकको माटोले खोला पुरिएको स्थानीयवासीको भनाइ छ । गाउँमा खानेपानीको हाहाकार भएपछि खोलाबाट लिफ्ट गरेर पानी तान्ने योजना निर्माण गर्नुपरेको मालिका गाउँपालिका–७ विमका बासिन्दाले बताएका छन् ।

डोजरे विकासका कारण बेनी नगरपालिकाका पुलाचौर, रत्नेचौर, ज्यामरुककोट, सिङ्गा, छाप, घतान, पात्ले खेत लगायतका गाउँमा पनि खानेपानीका मुहान सुकेका छन् । पछिल्लो समय मुहान सुकेपछि पानीको चर्को समस्या झेल्नुपरेको स्थानीयवासीको पीडा छ ।

पानीको हाहाकार भएपछि गाउँबाट निकै टाढाको खोलाबाट गाग्रीमा पानी बोकेर गुजारा चलाउनुपरेको वास्बोटकी यमुना आचार्यले बताउनुभयो । डोजरका कारण म्याग्दीका मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका हराभरा वन मासिन थालेपछि पानीका मुहान सङ्कटमा परेका स्थानीयवासीको भनाइ छ ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments