लालबन्दीबाट एक महिनामा करिब रु १९ करोडको तरकारी निकासी

सर्लाही: सर्लाहीको लालबन्दीबाट मात्रै एक महिनामा करिब रु १९ करोडको तरकारी निकासी भएको छ। लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यावस्थापन समितिमार्फत सञ्चालित तरकारी बजारबाट एक महिनामा उक्त रकम बराबरको तरकारी निकासी भएको हो ।

वैशाख महिनामा मात्र रु १८ करोड ९९ लाख ४० हजार ६३० को तरकारी निकासी भएको समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए। उनका अनुसार वैशाखमा निकासी भएको तरकारीमध्ये सबैभन्दा धेरै गोलभेँडा निकासी भएको हो। समितिका अनुसार उक्त महिनामा गोलभँेडा मात्रै रु नौ करोड ४७ लाख ४३ हजारको निकासी भएको हो। त्यसपछि बोडी रु एक करोड ९४ लाख ७९ हजारको निकासी भएको छ ।

लालबन्दी, ईश्वरपुर, हरिवन नगरपालिकालगायत छिमेकी नगर र गाउँपालिकाबाट समितिद्वारा सञ्चालित तरकारी बजारमा तरकारी आउने गरेका छन्। गोलभेँडा, टमाटर, पर्वल, सिमी, भिण्डी, काउली, बन्दा, भान्टा, घिराँैला, झिम्नी, लौका, फर्सी, मुन्टा, करेला र मूलालगायत तरकारी लालबन्दीबाट देशका विभिन्न स्थानमा जाने गरेको समितिले जनाएको छ ।

जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन नगरलगायत छिमेकी नगरपालिका र गाउँपालिकाका स्थानीयवासीले करिब एक हजार बिघाभन्दा बढी क्षेत्रमा उत्पादन गरेको तरकारी लालबन्दी आउने गरेको र सोही तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको समितिका अध्यक्ष तोरणबहादुर मगरले बताए ।

जिल्लाका स्थानीय किसानले व्यावसायिकरुपमा उत्पादन गरेको तरकारी काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणघाट, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, रामेछाप, सिन्धुली, सुनसरी र विराटनगरका साथै छिमेकी देश भारतका विभिन्न स्थानमासमेत जाने गरेको अध्यक्ष मगरको भनाइ छ ।

तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसान व्यावसायिकरुपमा तरकारी खेतीप्रति आकर्षित हुँदै आइरहेका छन्। परम्परागत अन्नबाली छाडेर व्यावसायिक तरकारीखेती गर्दै आइरहेका जिल्लाका किसानले करिब एक हजार बिघाभन्दा बढी जमिनमा तरकारीखेती गर्ने गरेका कृषि ज्ञान केन्द्र सर्लाहीका कार्यालय प्रमुख कमलदेव प्रसाद कुशवाहले बताए ।

विगतमा घरपरिवार पाल्न भारतका विभिन्न ठाउँका साथै खाडी मुलुकमा मजदूरीका लागि जाने किसान अहिले तरकारीखेतीमा किसान रमाइरहेका छन् भने तरकारीखेतीले किसानको जीवनस्तरमा निकै परिवर्तन ल्याएको छ। जिल्लाका गाउँगाउँमा सडक विस्तार भएपछि व्यापारी तरकारी बारीमै पुगेर तरकारी खरिद गर्ने गरेका किसान रामपुकार महतोले बताए ।

तरकारी उत्पादनबाट गाउँमा बर्सेनि चार-पाँच करोड रुपैयाँ भित्रिने गरेको भए पनि भण्डारणको व्यवस्था नहुँदा समस्या भएको लालबन्दीका किसानको गुनासो छ। गाउँका सबैजसोले तरकारी उत्पादन गर्ने गरेका र यहाँ उत्पादन भएको तरकारी जैविक तरकारी भएकाले देशका ठूला सहरमा समेत जाने गरेको कृषि विज्ञको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments