बर्डफ्लु प्रभावित किसानलाई छिट्टै राहत दिइने

चितवन :बर्डफ्लु प्रभावित किसानलाई छिट्टै राहत दिइने भएको छ ।

बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका कुखुरा एवं अन्य बस्तुको राहत दिनेसम्बन्धी मापदण्ड, २०७९ ले गत वर्ष प्रभावित किसानले राहत नपाउने भएपछि यस पटक मन्त्रिपरिषद्मा निर्णय गरी राहत दिन लागिएको हो ।

मापदण्ड पारित भएपछि मात्र लागू हुने भएकाले यस अघिका प्रभावित किसानको तथ्याङ्क सङ्कलन गरी यस पटकका लागि मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको हो । पशुसेवा विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार देशभरका १६ जिल्लामा बर्डफ्लुको प्रभाव देखिएको छ ।

ती जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएको समितिले दररेट निर्धारण गर्ने छ । चार जिल्ला बाहेक अन्य जिल्लाबाट क्षतिको विवरण विभागमा पुगिसकेको ढकालले बताउनुभयो । बाँकी ती जिल्लामा छिटो गर्न ताकेता गरिएको छ । बाँकी जिल्लाबाट विवरण आएसँगै विभागले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय फाइल पठाउने छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले तयार गरेको ‘बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुको राहत दिनेसम्बन्धी मापदण्ड–०७९’ पारित भएसँगै किसानलाई क्षतिको ७५ प्रतिशत राहत रकम उपलब्ध गराउने बाटो खुलेको हो ।

बर्डफ्लु देखिएपछि नियन्त्रणका क्रममा पक्षी, पक्षीजन्य पदार्थ र पक्षी उत्पादन सामग्री नष्ट गर्ने गरिन्छ । बर्डफ्लु नियन्त्रण नियमावली २०७८ मा राहतसम्बन्धी व्यवस्था उल्लेख भए पनि मापदण्ड स्वीकृत नहुँदा कार्यान्वयन हुन ढिलाइ भएको थियो । क्षतिको रकम निर्धारण गरी त्यसको ७५ प्रतिशत रकम राहत उपलब्ध गराउने व्यवस्था मापदण्डमा गरिएको छ ।

मापदण्डमा दररेट निर्धारण समितिले प्रत्येक आर्थिक वर्षको साउनभित्र प्रचलित बजार मूल्यका आधारमा मूल्य निर्धारण गर्ने व्यवस्था उल्लेख छ । मापदण्ड बनेसँगै क्षतिपूर्ति निर्धारण गर्ने बाटो खुलेको हो । गत वर्षको माघ ११ गते मोरङको ग्रामथान गाउँपालिकामा पहिलो पटक बर्डफ्लु देखिएको थियो । ढकालका अनुसार चितवन र काठमाडौँ बर्डफ्लुबाट बढी प्रभावित छन् ।

बर्डफ्लुबाट रु ६५ करोड हाराहारीको क्षति भएको अनुमान गरिएको छ । सरकारले ७५ प्रतिशत क्षतिको रकम दिँदै गर्दा रु ५० करोड भन्दामाथि रकम आवश्यक पर्ने अनुमान रहेको छ । बाँकी चार जिल्लाको विवरण आएसँगै वास्तविक तथ्याङ्क आउने ढकालले बताउनुभयो ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments