कृषि पूर्वाधार संरक्षण र उपयोगविहीन

म्याग्दी : कृषिउपजलाई बजारीकरण, प्रशोधन र भण्डारणका लागि म्याग्दीमा निर्माण भएका पूर्वाधार संरक्षण र उपयोगविहीन बनेका छन् ।

ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेका तरकारी, फलफूल र खाद्यान्न बालीलाई बजारीकरणमा सघाउने उद्देश्यले निर्माण भएका कृषिउपज, बीउ सङ्कलन केन्द्र र हाटबजारका पूर्वाधार बेवारिसे बनेका हुन् । कृषक सङ्गठित हुन नसक्नु, पर्याप्त मात्रामा कृषिउपज उत्पादन नहुनु, बजार र मूल्यको सुनिश्चित हुन नसक्नु तथा सरोकारवालाको बेवास्ताका कारण प्रयोगमा आउन सकेका छैनन् ।

तत्कालीन कृषि विकास कार्यालय र लद्यु उद्यम विकास कार्यालयले बनाएका आठ वटा कृषिउपज सङ्कलन, बीउ प्रशोधन र भण्डारण केन्द्र र एक वटा हाटबजारको भवन उपयोगविहीन बनेका हुन् ।

तीन पूर्वाधार निर्माणमा तत्कालीन अवस्थामा रु दुई करोडभन्दा बढी लगानी भएको थियो । निर्माणलगत्तै केही समय प्रयोग भएका कृषि पूर्वाधारको सञ्चालनका र संरक्षणमा सरोकारवालाको ध्यान पुगेको छैन् ।

केही ठाउँमा स्थानीय तहले ब्यापारीलाई भाडामा लगाएका छन । केही भवनमा सहकारीको कार्यालय सञ्चालन भएको छ । झाडीले घेरिएका अधिकांश भवन निर्माण सामग्री, घाँस राख्ने, छाडा गाईबस्तुको गोठमा परिणत भएका छन् । खबराका कृषक सोवित शर्माले पर्याप्त उत्पादन र कृषक सङ्गठित नहुँदा कृषिउपजको बजारीकरणका लागि निर्माण भएको पूर्वाधार सदुपयोग हुन नसकेको बताउनुभयो ।

“कृषकले उत्पादन गरेको उपज घरायसी उपभोगमै सीमित भएको अवस्थामा हाटबजार लगाउनु, कृषिउपज सङ्कलन केन्द्र र चिस्यानगृह सञ्चालन गर्नु टाढाको विषय भयो”, उहाँले भन्नुभयो, “उत्पादन विनाका संरचना र पूर्वाधारको प्रयोगमा आउन नसकेका हुन् ।” बेनीको दरवाङ बसपार्क सञ्चालन भएको बहुउद्देश्यीय मैदानमा विभिन्न चरणमा रु ३८ लाख २६ हजार खर्चेर हाटबजार सञ्चालनका लागि बनाइएको टहरामा पछिल्लो डेढ वर्षयता नगरपालिकाले रेष्टुराँ, किराना व्यापारीलाई भाडामा लगाएको छ ।

तत्कालीन लद्युउद्यम विकास कार्यक्रमको सहयोगमा अन्नपूर्ण गाउँपालिकाको खिवाङमा बनाएको कृषिउपज सङ्कलन केन्द्रको भवनमा निर्माण सामग्री भण्डारण गरिएको छ । कृषि विकास कार्यालयले अन्नपूर्णको विरौटा र महभिरमा बनाएको भवन प्रयोगविहीन छ ।

भुरुङ तातोपानीको कृषिउपज बजार सङ्कलन केन्द्रको भवनमा रेष्टुराँ सञ्चालन भएको छ भने ठूलोबगरको खसीबोका सङ्कलन केन्द्र पनि प्रयोग भएको छैन् । मङ्गला गाउँपालिकाको माटेबगरमा हाटबजारका दुई वटा टहरा र कृषिउपज सङ्कलन केन्द्रको दुई वटा भवन छन् । हाटबजारको भवनमा निर्माण सामग्री थुपारिएको छ । कृषिउपज सङ्कलन केन्द्रको एक वटा भवनलाई गाउँपालिकाले भण्डारणमा प्रयोग गरेको छ । अर्को प्रयोग भएको छैन ।

बेनी र बाबियाचौरमा केही समय हाटबजार सञ्चालन भएपनि त्यहाँ कृषकले ल्याएको तरकारी, फलफूल र पशुपन्छी बिक्री नहुँदा त्यसको जिम्मा कसले लिने भन्नेमा समस्या भएपछि निरन्तरता पाएन् । बीउ प्रशोधन र भण्डारणका लागि धौलागिरि गाउँपालिकाको ताकममा अन्नपूर्ण कृषि सहकारीले बनाएको भवनमा कार्यालय सञ्चालन भएको छ ।

बीउ प्रशोधन गर्ने उपकरणसमेत भएका ताकम र मङ्गला गाउँपालिकाको रणवाङको भवन आंशिकरुपमा प्रयोगमा छन् । बीउ प्रशोधन तथा भण्डारण गर्न बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको भवनमा निर्माण भएदेखिनै ताला लागेको छ ।

सहकारी सञ्चालक समितिले भवन निर्माण गर्दा मजदुरको ज्याला र निर्माण सामग्रीको भुक्तानी नदिएकाले विवादका कारण ताला लगाएको भवन निर्माणको जिम्मेवारी लिएका पुनम पुनले बताउनुभयो । बेनी नगरपालिका–४ तातोपानीको कृषिउपज सङ्कलन केन्द्रको भवनमा हाल योग अभ्यास सञ्चालन हुने गरेको छ ।

करोडाँै लगानीमा बनेका पूर्वाधार बेवारिसे बने पनि कृषकले भने उत्पादितउपजको उचित मूल्य पाउन नसकेको र बजारीकरणका लागि व्यापारीकै भर पर्नुपरेको बताएका छन् । बेनी नगरपालिका–१ लामगराका कृषक महेन्द्र बोगटीले कृषक सङ्गठित नभएको र अस्वस्थ प्रतिस्पर्धा हुँदा त्यसको फाइदा व्यापारिलाई पुगेको बताउनुभयो ।

“उत्पादन गरेको तरकारीलाई व्यापारीले भनेको मूल्यमा सस्तोमा बेच्नुपरेको छ”, उहाँले भन्नुभयो, “उत्पादन, मूल्य र बजारको तालमेल नहुँदा सस्तोमा आयात हुने तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा कृषक मर्कामा परेका छन् ।” म्याग्दीबाट निकासी हुने सुन्तला बगैँचा र आलु गाउँबाट गाडी, ट्याक्टरमार्फत सिधै बजारमा पुग्ने गरेको छ । कृषकले थोरै परिणाममा उत्पादन गर्ने तरकारी डोकामा बोकेर बजारमा पु¥याउने गर्छन् ।

कृषक सङ्गठित र जागरुक नहुँदा कृषिउपज बजारीकरणका लागि निर्माण भएका पूर्वाधार उपयोगमा आउन नसकेको जनप्रतिनिधिले बताएका छन् । मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले कृषक सङ्गठित भएर आएमा कृषि पूर्वाधार प्रयोगमा ल्याउन गाउँपालिकाले सघाउने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments