किसानहरूको मुखको गाँस प्राकृतिक विपद्ले नराम्ररी खोसियो

जुम्ला :गत वर्ष असोज ३० देखि कात्तिक १ गते तीन दिनसम्म परेको अविरल वर्षाले पु¥याएको क्षतिको घाउ नपुरिँदै तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँवासीलाई फेरि पनि यस वर्ष विपद्ले ठूलो चोट पु¥याएको छ । असोज १९ गते दसैँको टीकाको दिनदेखि २३ गतेसम्म परेको अविरल वर्षाले शुक्रबार साँपुल्ली गाउँले करोडौँको क्षति व्यहोर्नुपरेको छ ।

गत वर्ष भेरी खोलामा आएको भीषण बाढीले त्यस आसपासका सयौँ हेक्टर खेतहरू बगरमा परिणत ग¥यो । त्यो पीडा सकिन नपाउँदै यस वर्ष तिला पिल्ढुस्की, झुलाकोट र दप्क्या खोलाबाट आएको भीषण बाढीले खोला किनार तथा आसपासका खेतमा लगाएको धान, कोदो, मकै, सिमी, भट्टलगायत बाली पूर्णरुपमा नष्ट पारेको छ ।

दसैँ मनाएर बाली भित्र्याउने योजना बनाएका यहाँका किसानहरूको मुखको गाँस प्राकृतिक विपद्ले नराम्ररी खोसेको छ । असोज २१ गते आएको बाढीले तिला गाउँपालिका–४ साँपुल्ली गाउँस्थित शेरबहादुर शाही, राई बहादुर शाही, दत्त बहादुर शाही, लङ्कबहादुर शाही, मीमबहादुर शाही, रतनबहादुर शाही र लालबहादुर सुनारका घरमा क्षति पु¥याएको छ । बाढी आएको सूचना गाउँले दिएपछि उनीहरूले घरबाट भागेर ज्यान जोगाउन सफल भएका थिए ।

विस्थापित भएका उनीहरूले अहिले छिमेकमा साहारा लिनुपरेको छ । बाढीले विभिन्न परिवारका गरेर करिब एक दर्जनभन्दा बढी बाख्रा, कुखुरा र खरायो बगाएको पीडित दत्त बहादुर शाहीले बताउनुभयो । “पानी रोकिएको छैन । फेरि पनि बाढी आएर लैजाने हो कि भन्ने त्रास बढिरहेको छ । बाढीको मुखमा परेर होला, छोरी राति सुतेको अवस्थामा तर्सिने”, उहाँले भन्नुभयो ।

त्यस्तै, फुटाखोला, खानताडो, पानी प्याउन खोलामा आएको बाढीले दुनी, मेहलचुन, धिमधाराका खोला किनारका खेतमा लगाएको सिमी, मकै, कोदो, चिनो, कागुनो बाली नष्ट गरेको छ भने सोही बाढीले झारखेत, मुसिखेत, लिडाला, भूँडाधारा, खोलीखेत, थाम्खोला, मुँडेनी खोला, भूँर र कुनाखेतमा लगाएको सयौँ खेतको अन्नबाली पूर्णरुपले नष्ट गरेको स्थानीय पृथ्वीबहादुर शाहीले जानकारी दिनुभयो ।

“बाढीले घर भित्र्याउने बेलाको बाली नष्ट मात्र गरेन, यसले हाम्रो खेतबारी नै बगर बनाएको छ,” शाहीले भन्नुभयो, “गत वर्षको बाढीले रित्याएको हाम्रो घर यस पटक झनै ध्वस्त पारेको छ । मुखको गास खोस्ने गरी आएको विपत्तिले हाम्रो उठिबास भएको छ ।”

विपद्ले जुम्लाका सात गाउँपालिकामा बढी क्षति भएको जनाइएको छ । धनजनको क्षति कनकासुन्दरी, हिमा र तिला गाउँपालिकाले व्यहोर्नु परेको छ भने तातोपानी गाउँपालिकाको लाक्षु, राँका, बाइराँका ज्यूलो बाढीले ढाकेको छ । तिला गाउँपालिकाको घोडासिन बस्ती बढी जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments